पारिश्रमिक उपलब्ध गराएर मात्र सम्पत्ति लिलाम गर्न मजदुरहरूको माग

सोमबार, १२ असोज, २०७७
डिजिटल संस्करण

बैंकले सम्पत्ति लिलाम गर्ने घोषणा गरेपछि अन्नपूर्ण सोप एन्ड केमिकल इन्डिष्टजका मजदुरले आफूहरूको बक्यौता पारिश्रमिक उपलब्ध गराइदिन सरकारसँग माग गरेका छन् । 

सुनसरी–मोरङ औद्याेगिक करिडोरअन्तर्गतको दुहबी नगरपालिका– ३ मा हाल बन्द रहेको अन्नपूर्ण सोपका एक सय २० जना मजदुरले आफूहरूको बक्यौता पारिश्रमिक दिलाएर मात्र उद्योगको चलअचल सम्पत्ति लिलाम गर्न माग गरेका हुन् ।  

नेपाल कारखाना श्रमिक संघ अन्नपूर्ण सोप इकाइ समितिले मजदुर कर्मचारीहरूको बक्यौता पारिश्रमिक उपलब्ध गराएर मात्र कम्पनीको अचलसम्पत्ति लिलाम गर्न सरकारसँग आग्रह गरेको हो । 

कम्पनी टाट पल्टिएर बन्द अवस्थामा रहेको र दिनुपर्ने पारिश्रमिक रकम दिन सक्ने अवस्था नभएको लिलाम हुन लागेको अचल सम्पत्तिमा मजदुरहरूको पनि हक दाबी हुने कारखाना श्रमिक संघका सुनसरी अध्यक्ष गुलाबन्द खाँले बताए । 

मजदुरको बक्यौता पारिश्रमिक नदिईकन सम्पत्ति लिलाम गरेमा मजदुरमाथि ठूलो अन्याय हुने उनले बताए । मजदुरले ०६१ सालदेखि पारिश्रमिक र सञ्चय कोषको रकम नपाएको बताएका छन् । 

मंगलुराम अग्रवाल नामको व्यापारिक घरानाले सञ्चालन गरेको अन्नपूर्ण सोप वित्तीय कुशासनले गर्दा ०६१ देखि बन्द भएको थियो । 

बैंक ठगी  गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योगका सञ्चालकहरू सुबोध, सुरेश, दामोदर र नारायण अग्रवाललाई पक्राउ गरेर तीन वर्ष हिरासतमा राखेको थियो । 

केही समयअघि मात्र वाणिज्य बैंकले ऋण भुक्तानी नगरेको भन्दै अन्नपूर्ण सोप सञ्चालन गर्ने मंगलुराम अग्रवाल ग्रुपको सबै चलअचल सम्पत्ति लिलामी गर्ने घोषणा गरेको थियो ।

सुझावित समाचार