खोलाले बगाउँदा मकवानपुरमा एक दम्पतीको मृत्यु भएको छ ।
आइतबार मकवानपुरगढी गाउँपालिकास्थित सामरी खोलाले बगाउँदा ज्ञानबहादुर परियार र उनकी पत्नी तुलसाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बिहान १० बजे मकवानपुरगढी गाउँपालिका– ३ नम्बर वडा कार्यालयतर्फ जान सामरी खोला तर्ने क्रममा ६ नम्बर वडानिवासी परियारदम्पतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले बताए ।
परियारदम्पतीलाई खोलाले बगाएर करिब ६० मिटर तल पुऱ्याएको रानाले जानकारी दिए ।
खोलाले बगाएर दुई दिनको अन्तरालमा मकवानपुरमा पाँचजनाले ज्यान गुमाएका छन् ।
शनिबार पनि हेटौँडा उपमहानगरपालिका, कैलाश र भीमफेदी गाउँपालिकाको खोलाले बगाउँदा तीनजनाको मृत्यु भएको थियो ।