‘नागरिक पेन्सन योजना’को एक्सक्लुसिभ बैंकिङ पार्टनरमा एनआइसी एसिया

आइतबार, ११ असोज, २०७७
डिजिटल संस्करण

नागरिकलाई बचत गर्न प्रोत्साहित गर्ने तथा सक्रिय जीवनकालमा जम्मा गरेको रकमबाट बचतकर्ताको जीवनयापनलाई सहजीकरण गर्ने उद्देश्यले नागरिक लगानी कोषको ‘नागरिक पेन्सन योजना’मा एनआइसी एसिया बैंक एक्सक्लुसिभ बैंकिङ पार्टनर नियुक्त भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने तथा कोषका कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरेका थिए । 

सम्पूर्ण नेपालीलाई सहज पेन्सन योजनाको आवश्यकताको पहिचान र महसुस गर्दै नागरिक लगानी कोषले ‘नागरिक पेन्सन योजना’ ल्याएको छ । योजनाअन्तर्गत आय–आर्जन गर्ने, प्रचलित कानुनबमोजिम स्थापना भएका संघ–संस्था एवं प्रतिष्ठानमा कार्यरत श्रमिक–कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरू सहभागी हुन सक्ने जनाइएको छ ।

‘जवानीमा कमाऔँ, जमाऔँ र बुढेसकालमा रमाऔँ’ भन्ने नाराका साथ ल्याइएको योजनामा न्यूनतम मासिक ५ सय रुपैयाँदेखि अधिकतम आम्दानीको क्षमताअनुसार १० ले भाग जाने संख्यामा मासिक किस्ता रकम जम्मा गर्न सक्ने जनाइएको छ ।

योजनामा सहभागी हुनेले एनआइसी एसिया बैंकमा रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ । बैंकले देशभरमा ३ सय २६ शाखा, १ सय ३ एक्सटेन्सन काउन्टर एवं ६४ शाखारहित बैंकिङमार्फत योजनामा सहभागी हुन सकिने जनाइएको छ । 

सुझावित समाचार