नेप्सेको प्रणालीमा बल्झिरह्यो समस्या नयाँ विशेषता थेग्न नसकेको आशंका

सोमबार, २९ भदौ, २०७७
डिजिटल संस्करण

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबार सुरु भएको आधा घन्टा नबित्दै प्रणालीमा समस्या आएपछि दुई घन्टा कारोबार स्थगित भएको छ । यही कारण आइतबार साबिक समयभन्दा ढिलोसम्म बजार खोलियो । 

बिहीबारसमेत यस्तै समस्या आएको थियो । ब्रोकरहरूमार्फत ग्राहकले आदेश दिन सक्ने कारोबार व्यवस्थापन प्रणालीमा समस्या आउँदा कारोबार सम्पन्न हुन नसक्ने, केहीले आफूसँग भएको भन्दा बढी सेयर बिक्री आदेश दिन सकिने समस्या देखिँदै आएको छ । नेप्सेले समस्याको वास्तविक कारण अझै पत्ता लगाउन सकेको छैन । 

‘हामीले प्रविधिविज्ञ नै बोलाएर छलफल गर्दै थियौँ, आइतबार त्यही समयमा फेरि पनि समस्या देखियो,’ नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले भने, ‘अहिले यही प्रणालीमा डिम्याट इन्टिग्रेसन प्रणालीबाटै भुक्तानी गर्न सकिने र ग्राहक पहिचान राख्ने अतिरिक्त कामहरू गरिएकाले पनि भार बढेको हो कि भन्ने अनुमान छ ।’ 

सोमबारसम्ममा वास्तविक कारण पत्ता लाग्ने साउदको दाबी छ । कतिपय लगानीकर्ताले भने सामाजिक सञ्जालमा केही दिन कारोबार स्थगित गरेरै भए पनि समस्या समाधान गर्नु सही हुने विचार राखेका छन् । नेप्सेले कारोबारमा केही समय समस्या आउने गरे पनि लगानीकर्ताले पूरा समय कारोबार गर्न सक्ने व्यवस्था मिलाएको उल्लेख गरेको छ । 

 ३ अर्ब ३७ करोडको कारोबार, लघुवित्तमा खेल सुरु 
बजारमा प्रणालीगत समस्या देखिए पनि सेयर बजारमा लगानी भने बढेको छ । आइतबार एकै दिन ३ अर्ब ३७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । 
प्रणालीको समस्या तत्काललाई समाधान भएर बजार खुलेलगत्तै घटेको बजार कारोबार अन्तिम समयसम्ममा बाउन्स ब्याक गर्न सफल भएको छ । गत बिहीबारको अन्तिम बिन्दुभन्दा दुई अंकसम्म ओर्लिएको बजार करिब साढे १६ अंकले बढेको छ । लघुवित्तमा भने प्रिमियम रकम जम्मा गर्ने र बोनसको आसमा सेयर बढाउने खेल सुरु भइसकेको छ । 

हालै मर्जर भएको उन्नति लघुवित्तको १ बराबर सहकार्यको शून्य दशमलव ७५ हुने गरी मर्जर भएकाले शून्य दशमलव २५ बराबरको रकम (१ करोड १३ लाख रुपैयाँ) वितरणका लागि कम्पनीलाई उपलब्ध छ । 

त्यस्तै, आइतबार वमी माइक्रो फाइनान्स र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था मर्जरमा जान लागेकाले कारोबार रोक्का गरिएको छ । वमीले सेयर बजारमा सूचीकृत भए पनि ग्रामीण स्वयंसेवकले हालसम्म सर्वसाधारणलाई सेयर जारी गरेको छैन ।

यही कारण मर्जरपछि बन्ने कम्पनीलाई थप नयाँ सेयर (एफपिओ) जारी गर्न बाटो खुला हुनेछ । यसले प्रिमियम रकम बोनस बाँड्न कम्पनीलाई समस्या हुनेछैन । त्यस्तै, ग्रामीण स्वयंसेवकको स्वाप रेसियो १ भन्दा कम भएमा समेत प्रिमियम रकमका रूपमा थप रकम उपलब्ध हुनेछ । लघुवित्त कम्पनीहरूको पछिल्लो समय यिनै कारणले मूल्यमा उच्च वृद्धि भइरहेको छ । 

आइतबार भने कारोबारमा आएकामध्ये ३ समूहको परिसूचक मात्र घटेको छ । व्यापारमूलक, वित्त र सामूहिक लगानी कोषको समूहगत परिसूचक घटेको हो । यस दिन १ सय ९१ कम्पनीको ७२ लाख कित्ता सेयर किनबेच भएको छ । बजारमा भइरहेको वृद्धिसँगै १ वर्षमा लगानीकर्ताको सम्पत्तिमा ४ खर्बले वृद्धि भएर २० खर्ब ४३ अर्ब भएको छ ।   

त्यस्तै, सनराइज फस्र्ट म्युचुअल फन्डले ७ प्रतिशतका दरले नगद लाभांश दिन लागेको नेप्सेलाई जानकारी गराएको छ । समस्यामुक्त घोषणा भएको नारायणी डेभलपमेन्ट बैंकले १६ असोजमा १८औँ वार्षिक साधारणसभा गर्न लागेको छ । बैंकले १ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्तावसमेत सभामा लैजाँदै छ । 

See More On

सुझावित समाचार