सीमान्तकृतलाई वस्तुकरण गर्न सके त्यो चर्तिकला भरमग्दुर बिकिहाल्छ, मुलुक र सत्ताले पनि गर्ने भनेकै सीमान्तकृतको ‘डि–ह्युमनाइजेसन’ नै हो
टर्किस फिल्मनिर्देशक नुरी बिग्ले सिलोनको एउटा सिनेमा छ, ‘उज्जाक’ । उज्जाकको अर्थ हुन्छ– दूरी । यसका दुईमध्ये एक प्रमुख पात्र हो, महमुत, पेसाले फोटोग्राफर, उमेर अधबैँसे । ऊ फोटोग्राफी मरिसक्यो भन्छ, तर पनि जीविकाका लागि विज्ञापन सामग्रीको फोटो खिच्नु उसको बाध्यता हो । ऊ कलाको पारखीजस्तो देखिन्छ, एन्द्रेइ तार्कोभ्स्कीको सिनेमाको फ्यान हुन्छ । तर, उसको एउटा लत छ, अश्लील चलचित्र हेर्ने । गाउँबाट उसको भाइ पर्ने आफन्त जागिरको खोजीमा केही दिन ऊसँगै बस्न आइपुग्छ । जब उसको आफन्त कोठामा छिर्छ, महमुत तार्कोभ्स्कीको सिनेमा लगाउँछ । नबुझेर दिक्क मानेर जब आफन्त अर्को कोठामा फर्कन्छ, ऊ फेरि अश्लील चलचित्रकै सिडी हेर्न थाल्छ ।
प्रश्न उठ्छ, तार्कोभ्स्कीका सिनेमाको पारखी महमुत किन पोर्नमा अभ्यस्त भइरहेको छ ? महमुत एउटा विरोधाभाषपूर्ण जीवन बाँचिरहेको छ । फोटोग्राफीको उसको कला–चेतना र उसले अपनाइरहनुपरेको सस्तो बजारु कामबीच ठूलो खाडल छ । दूरदराजको गाउँमा उसकी आमा छिन्, वेलावेलामा फोन गरिरहन्छिन् । उसकी पूर्वप्रेमिका नयाँ श्रीमान्सँग क्यानडा जान ठिक्क परेकी छन्, यद्यपि तिनीसँगको भावनात्मक सम्बन्ध अझै सकिएको छैन । जीवनको यो मोडमा आइपुग्दा महमुत निस्सार एक्लो छ, निराश छ । ऊसँग कुनै जोस–जाँगर छैन, भावी सपना र उद्देश्य पनि छैन । ऊसँग सोच्ने विषय केही छैन, मन लगाएर गर्ने कुनै काम छैन । यस्तो निरस जीवनमा मानिस गम्भीर कलामा छिर्न सक्दैन र मन बहकाउन पनि अल्झने भनेकै पोर्न र फार्सजस्ता कलाका एकदमै तुच्छ र सस्ता अभिव्यक्तिमा हो, चाहे त्यो अमुक व्यक्ति तार्कोभ्स्की, मिकलान्जेलो अथवा मोजार्ट र विथोवनकै फ्यान किन नहोस् । महमुत ठ्याक्कै यही मनोदशाबाट गुज्रेको छ र पोर्नका डिभिडीसँग आफ्नो जीवन साटिरहेको छ ।
दुई वर्षअघि पोर्न साइटहरू बन्द गर्दा भान परेको थियो, ‘खर्पन’ कविले हाँकेको यो सत्तासँग विशिष्ट काव्य÷कला चेतना अर्थात् सौन्दर्य चेत वा ‘एस्थेटिक सेन्स/जजमेन्ट’ छ । र, यसले मनोरञ्जनका सस्ता स्वरूपहरूलाई नकार्नेछ । यहाँ साहित्य, चित्रकला, सिनेमा, नाट्य तथा संगीतलगायतका कलाका सम्पूूर्ण विधाको भव्य पुनर्जागरण हुनेछ । समग्र नेपाली कला र कलाचेत नयाँ उचाइमा पुग्नेछ । नभन्दै नेपाली कला र सत्ता तथा समाजको कला चेतना अकल्पनीय स्तरमा पुगिसकेको छ । र, प्रधानमन्त्री स्वयंका उपचार शड्ढयाबाट निस्केका काव्यिक रचना तथा भर्खरै निस्किएको संघीय संसद्को लोगो यसका दृष्टान्त हुन् । र, यी दुवैको काव्यिक स्तर र शिल्पको बारेमा कुनै समीक्षा वा समालोचनाको खाँचो पर्दैन, बस एक झल्को हेरे पुग्छ । ‘मानिसका इच्छा, आकांक्षा र भावनाहरू नै दुःखका प्रमुख जड हुन्, कलाको अनुभूतिबाट नै मानिसले केही क्षणलाई यसबाट छुटकारा पाउँछ,’ दार्शनिक अर्थर सोफेनहावरले भनेका छन् । यद्यपि, कलाका स्वरूप, एस्थेटिक भ्यालु, सौन्दर्य र त्यसको चेत तथा अनुभूतिका लागि जर्मन दार्शनिक इम्यानुअल कान्टको अवधारणा नै सबैभन्दा बढी लोकप्रिय छ । उनले कलाको स्तरलाई तीन भागमा बाँडेका छन्– ‘राम्रो (गुड), सुन्दर (ब्युटी) र अद्भूत (सब्लाइम) ।
ठूलो विडम्बना ! हामी इतिहासको यो कालखण्डमा आइपुगेका छौँ, जहाँ आमनागरिकको काल्पनिकी र आलोचनात्मक चेतको हत्या गर्दागर्दै राज्यसत्ता खुद आफैँले पनि काल्पनिकी, आलोचनात्मक चेत र न्यूनतम कला–चेतना गुमाइसकेको छ ।
कान्टले एस्थेटिक मापन या अनुभूतिका लागि सुन्दर र अद्भूतलाई मात्र छानेका छन्, जुन नितान्त व्यक्तिको वैयक्तिक अनुभूतिमा भर पर्छ । यिनको स्तर उपभोगिताको गुणमा आधारित हुँदैन । त्यसैले त यो ‘सुन्दर’ या ‘अद्भूत’को अनुभूति पनि कहिल्यै विशुद्ध वा पूर्ण भने हुँदैन । सुन्दरता अनुभूति गरिने कुरा हो, तर यो अनुभूति सर्वसम्मत हुनैपर्ने सर्त भने कान्टले तेस्र्याएका छन् । अर्थात्, यदि कसैले सुन्दरताको अनुभूति गर्दैगर्दा अरूले पनि त्यस वस्तु या कलामा ठ्याक्कै त्यस्तै अनुभूति गर्छन् भने मात्र यो सर्वव्यापी रूपमा सुन्दर या अद्भूत कहलिन्छ । तर, सर्वव्यापी सुन्दरताको मान्यताका लागि ‘जजमेन्ट अफ टेस्ट’ अर्थात् अनुभूतिको परख पनि त्यही स्तरको विशिष्ट श्रेणीको हुनुपर्छ । ‘जजमेन्ट अफ टेस्ट’विना ‘जजमेन्ट अफ ब्युटी’ असम्भव छ । ‘जजमेन्ट अफ टेस्ट’का लागि व्यक्तिमा काल्पनिकी र समुचित सुझबुझ हुनु अत्यावश्यक छ । कान्टको यो ‘काल्पनिकी र ज्ञानको स्वस्फूर्त प्रयोगलाई विज्ञ मेलिसा जिनकिनले ‘सचेतनको उच्चतम स्वरूप’को रूपमा अर्थ्याकी छन् ।
त्यसो भए हाम्रो कला के कस्तो छ तथा राज्य, समाज र आमनागरिकको कलालाई आत्मसात् गर्ने कला–चेतना र परख (जजमेन्ट) कस्तो छ त ? मुलुकको कलाको संरक्षण र उत्थान गर्ने प्रमुख संस्था वा केन्द्र भनेकै प्रज्ञा प्रतिष्ठान हो । त्यहाँ वर्षभरि कलासम्बन्धी के–कस्ता गतिविधि गरिन्छन्, त्यति चासो र प्रचार–प्रसार भएको पाइँदैन । तर, निःसन्देह प्रतिष्ठानलगायत सभागृह तथा अन्य स्थानमा वर्षभरि वेलाबखत भइरहने हास्यरसप्रधान मानिने र कमेडी भनिने प्रहसनहरूले भने वर्षैभरि ढोल पिटिरहन्छन् । यस अर्थमा पनि यस्ता ‘सो’हरूलाई वर्तमान नेपालको कलाको मानक स्वरूप वा मेरुदण्ड मान्न सकिन्छ । स्टेज मात्र होइन, रेडियो र टेलिभिजनदेखि युट्युबसम्म प्रदर्शनको यही स्वरूपको जगजगी छ । एकपटक स्टेजमा प्रर्दशन गरिएका यी प्रहसन युट्युब र अन्य सामाजिक सञ्जालमार्फत करोडौँको जमातमा पुगिहाल्छन् । यसको रसास्वादन गर्नेको कुनै कमी छैन । यस्ता चर्तिकलाको परख लिन न त काल्पनिकीको खाँचो पर्छ, न त ज्ञान र सुझबुझको ।
यस्तो चर्तिकला प्रदर्शनका लागि त्यस्तो विशिष्ट सोच–समझ पनि चाहिँदैन । बस्, चलनचल्तीका दुई क्षमतामध्ये एक भए पुगिहाल्यो । पहिलो क्षमता हो, प्यारोडी या नक्कल गर्न सक्नु । यो मुलुकमा नेता आफैँ कुनै जोकरभन्दा केही कुरामा कम छैनन् । कथंकदाचित कुनै अमुक व्यक्तिले ती नेताको बोली, हाउभाउ र रहनसहनको नक्कल गर्न सके उसको प्रदर्शन चलिहाल्छ, रातारात हिट भइहाल्छ । हेर्ने अमुक दर्शकलाई त्योभन्दा अन्य स्वरूपका कला पनि हुन्छन् भन्ने ज्ञान पनि हुँदैन । सिंगो मुलुकवासीले त्यही रमिता हेर्छन्, रमाउँछन्, सामाजिक सञ्जालमा सेयर गर्छन् । प्यारोडीकै भरमा प्रस्तोताले टन्नै कुम्ल्याउँछ, सेलेब्रिटी बन्छ र आमनागरिकको मनमा भगवान्भन्दा पनि माथि विराजमान हुन्छ । फेरि यस्ता चर्तिकला विशुद्ध प्यारोडीमा पर्छन्, क्यारिकेचरमा पर्दैनन् । क्यारिकेचरमा त चरित्र पनि आउनुपर्छ, तर यहाँ मात्र बोली, लवज र हाउभाउ आउँछ । प्रस्तोताभन्दा बढी ‘मेकअपम्यान’ हावी हुन्छ ।
यो चर्तिकला एउटा सानो कमेडी सोमा मात्र सीमित हुँदैन, तुरुन्तै राष्ट्रिय महोत्सवमा बदलिन्छ । यस प्रदर्शनको दर्शकदीर्घाको अघिल्लो पंक्तिमा स्वयं प्रधानमन्त्री, भूतपूर्व प्रधानमन्त्री तथा विशिष्ट राजनीतिज्ञहरू झुम्मिन्छन् र विनासंकोच यो विद्रुप प्रहसनको सस्तो कमेडीमा आफ्नै प्यारोडी–प्रहसन बडो परख लिएर आस्वाद गर्छन्– खासमा ती सत्तामा विराजमान विसंगत पात्रहरू नै अनभिज्ञ छन् कि यो ‘प्यारोडी’ अर्थात् कथित क्यारिकेचरभन्दा भिन्न स्वरूपका अरू कलाका विशिष्ट विधाहरू पनि छन् ।
उपत्यकाको विशिष्ट संस्कृति र परम्परा गाईजात्राको पहिचानको समेत कत्लेआम गर्दै हाम्रो राज्यसत्ताले यसलाई पनि ‘थर्ड क्लास’ प्रहसनको राष्ट्रिय महोत्सवका रूपमा रूपान्तरण गरेको छ । यसको नाममा हुने विद्रुप बजारु ‘सो’हरूमा दर्शकको सहभागिता अत्यधिक हुने गर्छ– मिडिया कभरेज र व्यापार पनि यसकै हुन्छ । यस्ता प्रहसन झन्डै महिनौँ चल्छन् । सत्ताले एकेडेमी र सभागृहका हल मात्र उपलब्ध गराउन्न, प्रधानमन्त्रीसम्मको सहभागितामा यसलाई भव्यसँग मनाउँछ–मानौँ यो ग्रिसेली सभ्यताको अंगुर पाक्ने सिजन हो । र, त्यहाँ भव्य नाट्य महोत्सव भइरहेको छ, अनि सोफोक्लिज र युरिपाइडसहरू कालजयी वियोगान्त नाटक लिएर प्रदर्शनमा उत्रिएका छन् ।
त्यसो त कुनै चिरपरिचित व्यक्तिको नक्कल गर्न नसके पनि यस्ता प्रहसन चलाउन अर्को क्षमता भए पनि काफी हुन्छ । र त्यो हो, सीमान्तकृत वर्ग, समुदाय, सम्प्रदाय र लिंगका अल्पसंख्यकलाई जति सकिन्छ त्यति अमानवीकरण (डि–ह्युमनाइजेन) गर्नु र मूलधारका खस–आर्यनलाई प्रचुर मनोरञ्जन दिनु । यो वर्गका चटकेहरू औँलामा गन्न नसकिने गरी छन् । यसका लागि पनि कुनै खास विशिष्ट शैली र या क्षमता चाहिँदैन । बस्, एउटा टाउकोमा गाम्चा गुथेर अनुहारमा कालो पोत्दै अलिक फरक शैलीमा तराईवासीको नक्कल गरी बोले वा बीच–बीचमा ‘ट’ घुसाएर नेवारजस्तो बने, अथवा त्यसैगरी तामाङ, मगर, शेर्पा, लिम्बू वा जुम्ली जे बनेर भए पनि निश्चित समुदायलाई र तिनको संस्कार–संकृतिलाई वस्तुकरण गर्दै प्रस्तुत मात्र गरिदिए, त्यो चटके रातारात हिट भइहाल्छ र कलाकार कहलिन्छ ।
यस्ता बजारीकरणको विषयका लागि अल्पसंख्यक समुदायसम्म पनि पुगिरहनु पर्दैन, समाजमा रहेका लैंगिक अल्पसंख्यक, दिनहीन, शारीरिक र मानसिक रूपले फरक क्षमता हुने जोसुकैलाई ‘डि–ह्युमनाइज’ गर्दै चिडियाखानामा जनावर राखेजस्तो स्टेज वा टेलिभिजन पर्दामा ल्याएर पोखिदिए त्यो कलाको उस्ताद बनिहाल्छ । त्यसभन्दा विशिष्ट कला यो मुलुक र समाजमा अर्को हुनै सक्दैन । यसका लागि कलाको कुनै अध्ययन आवश्यक छैन, सीप र कौशल पनि चाहिन्न, बुद्धिहीन र बज्रस्वाँठ भए पनि केही फरक पर्दैन । बस्, नक्कल सिक्दै सीमान्तकृतलाई जनवारीकरण र वस्तुकरण गर्न सके त्यो चर्तिकला स्टेज, टेलिभिजन र युट्युबमा भरमग्दुर बिकिहाल्छ, मुलुक र समाजले पनि खोजेजस्तो मानक कलाकार पाइहाल्छ । किनकि, मुलुक र सत्ताले पनि गर्दै आएको र गर्ने भनेकै सीमान्तकृतको ‘डि–ह्युमनाइजेसन’ नै हो ।
यो ‘डि–ह्युमनाइजेसन’को चर्तिकलाले प्रत्यक्ष–परोक्ष आदिवासी र अल्पसंख्यकको जाग्दै गरेको पहिचान र स्वाभिमानको विषयलाई दमन गर्ने राज्यको नीतिलाई खुलेआम मलजल गरिरहेको छ । बाहुन र नेवारको एउटा कमेडियन जोडी छ, जो मुलुकको प्रबुद्ध कलाकार वर्गमा दरिन्छ । यता, सत्ता खोकनामा डोजर चलाइरहेको छ, प्रदेश नामकरणमा सिंगो नेवाः सभ्यताको हुर्मत काढिरहेको छ । उता, बाहुन–नेवा कमेडियन जोडी नश्लीय भूमिका साटासाट गर्दै प्रहसनमा उत्रन्छन् र भन्छन्– मिलेर बस्नुपर्छ । मिलेर बस्नु भनेको दमन सहेर बस्नु होइन भन्ने सन्देश त तिनले दिनै हुँदैन ।
हुन त यस्ता चर्तिकला कलाको कुनै विधाअन्तर्गत पर्दैनन् । कुनै मानसिक विचलन आएको व्यक्तिले कपडा फुकालेर नांगै कुदेमा त्यहाँ पनि हेर्नेको घुइँचो लाग्छ । ठूलो रमिता बन्छ । पहिल्यैदेखि यस्तो हुँदोरहेछ, फुकोले भनेका छन्, ‘पागलपन मध्ययुगमा हेर्नका लागि एउटा ठूलो रमिता थियो ।’ तर, यो रमितालाई कलाको संज्ञा दिन भने सकिँदैन । नेपालका तमाम कथित हास्यव्यंग्यहरू यस्तै विशृंखलित रमिता मात्र हुन्, जसलाई कुनै पनि दृष्टिकोणबाट कला मान्न सकिँदैन । तर, विडम्बना ! हाम्रो राज्यसत्ता, हाम्रो समाज र हामीमा योभन्दा बाहेक कलाका अन्य स्वरूप हुन्छन् भन्ने चेतना नै छैन । यही एक मात्र वर्तमान नेपाली कला र कला–चेतनाको मानकको रूपमा स्थापित भएको छ । कलाका स्वरूपहरू बदलिरहन्छन् । आधुनिक युगमा किन वियोगान्तहरू लेखिएनन् भन्नेमा नित्सेले घतलाग्दो तर्क दिएका छन्– ग्रिसेलीहरू बुद्धि र विवेकको देवतालाई जत्तिकै स्थान नशा र उल्लासको देवतालाई पनि दिने गर्थे । नशाको सुरमा कुनै नायकले गल्ती गथ्र्यो र विवेक फर्किएपछि उसलाई ठूलो पश्चाताप बोध हुन्थ्यो, आत्मपीडा हुन्थ्यो र वियोगान्त जन्मन्थ्यो । आधुनिक युगमा नशा र उल्लासलाई बेवास्ता गरियो र वियोगान्त जन्मन सकेनन् । वियोगान्तको सट्टामा फार्स, कमेडी, कमेडी अफ म्यानरजस्ता नाट्यका कैयौँ स्वरूप निस्किए ।
नेपालमा चाहिँ कसरी प्यारोडी वा मिमिक्री र डि–ह्युमनाइजेसनको चर्तिकला फैलियो भनेर बुझ्न त्यति कठिन छैन । इतिहासदेखि आजसम्म यहाँको राज्यसत्ता आमनागरिकको सबैखाले चेतनाको हत्या गर्न उद्वेलित हुँदै आएको छ । चेतनामाथि नै निर्मम प्रहार भइसकेपछि आमनागरिकमा काल्पनिकी र समालोचनात्मक चेत हुन सक्दैन र तिनले कलाको सौन्दर्य मापन र परख गर्न वा एस्थेटिक जजमेन्ट दिन सक्दैनन् । त्यसैले नै कलाको स्थान चर्तिकलाले लिन्छ, कलाकारको स्थान कुनै चटकेले लिन्छ र रमिता पस्कन्छ । आमनागरिकको काल्पनिकी र समालोचनात्मक चेतको हत्या नै यो विद्रुप चर्तिकलाको उदयको एउटा कारण हो । तर, अर्को ठूलो विडम्बना, हामी इतिहासको यो कालखण्डमा आइपुगेका छौँ, जहाँ आमनागरिकको काल्पनिकी र आलोचनात्मक चेतको हत्या गर्दागर्दै राज्यसत्ता खुद आफैँले पनि काल्पनिकी, आलोचनात्मक चेत र न्यूनतम कला–चेतना गुमाइसकेको छ । त्यसैले त वेलग्रेडको पात्र महमुत पोर्नका डिभिडीमा झुम्मिएजस्तो हाम्रा सत्ताधारीहरू ‘प्यारोडी’ र ‘डि–ह्युमनाइजेसन’मा आधारित तुच्छ कमेडी सोमा निर्लज्ज बन्दै उपस्थिति जनाउँछन् र ‘भव्य–एस्थेटिक’ अनुभूति परख गर्छन् ।
चाहे भारत, अमेरिका, ब्राजिल र नेपाल नै किन नहोस्, राजनीतिक पद्धतिको स्थान विसंगत पात्रले ओगटिरहेका छन् । यसका पछाडि काल्पनिकी र सुझबुझविनाको आमनागरिकको, राज्यसत्ताको र समाजको मृत कला–सौन्दर्य चेतनाको पनि त्यत्तिकै ठूलो हात छ ।
किनकि, यिनमा पनि कुनै जोस–जाँगर, भावी कार्ययोजना, सपना र उद्देश्य केही पनि छैन । काल्पनिकी र आलोचनात्मक चेत पनि छैन । के सही÷के गलत, के गर्नुपर्छ÷के पर्दैन तथा के बोल्न हुने÷के नहुने भन्ने छुट्याउने न्यूनतम सुझबुझ पनि छैन । त्यसैले नै उनीहरू कला, शिल्प, विचार र अभिव्यक्तिको हिसाबले नग्न चर्तिकलामा सजिलै भुल्न सक्छन् । तिनीहरू शास्त्रीय राग सुन्न किरातेश्वर जाँदैनन्, पलेँटीको फत्तेमानको एकल साँझमा पुग्दैनन्, शशि शाह कुन ‘चरी’को नाम हो, तिनलाई थाहा छैन । हो, आज आएर दर्शक, प्रस्तोता र प्रस्तुतिको मात्र होइन, हाम्रो सत्ताको समेत कला–चेतना उस्तै बनिसकेको छ । प्रधानमन्त्रीको उपचार कक्षबाट बाहिरिएका दुई–तीन थान कविता र संघीय संसद्को लोगो यसका पछिल्ला उदाहरण हुन् । मानौँ, कुनै मानसिक रूपमा विचलित कपडा फुकालेर सहरमा निस्केको छ– धेरैका लागि त यो कलाको प्रस्फूटन लाग्ला, केहीका लागि रमिता बन्ला, तर थोरै सुझबुझ हुने न यसमा रमाउन सक्छन्, न त रमिता मान्न सक्छन् । यो देख्दा तिनलाई टीठ लाग्छ, आफू बाँचेको समयप्रति, सत्ता र समाजको कला–चेतनाप्रति ।
हो, कलाको सौन्दर्यशास्त्र र चेतना सधैँ एकनासको रहिरहँदैन । एस्थेटिक सौन्दर्यशास्त्रीले कलालाई कला र शिल्पीभित्रै सीमित राखेर हेर्छन् । नवइतिहासवादीले त्यसभित्र समाज र इतिहासको सम्बन्ध र प्रभाव हेर्छन् । मार्क्सवादी सौन्दर्यशास्त्रीले पुँजीपति र श्रमजीवीबीचको सम्बन्ध खोज्छन् । हिजोसम्म अमेरिकी सहरको चोकमा विराजमान दास–व्यापारीका सालिक कला सौन्दर्यका प्रतीक थिए । तर, आज ब्ल्याक लाइभ्स म्याटरर्सले ती सालिकले विभेद र उत्पीडनको कालो छाया अझै पनि समाज र मुलुकमा मडारिरहेको तितो सत्य जगजाहेर पारिदियो । हेर्दाहेर्दै तिनै सालिक कुरूप बने र बीच सडमै ढल्न पुगे । कला–चेतना राज्य, समाज र नागरिकको चिन्तनसँग पनि त्यत्तिकै जोडिएको हुन्छ । जब कला–चेतना शून्य हुन्छ, त्यसको परिणाम हरक्षेत्रमा देखिन्छ । सत्ता र समाजका सिमेन्ट र रड थुपारेर हरेक टोल–टोलमा ठूलो घण्टा, त्रिशूल, डमरु, शिवलिंग, गाई र राम मन्दिर निर्माण गर्ने ‘स्किम’हरू, भालेश्वर र ठिंगेश्वरजस्ता महादेवका नयाँ स्वरूपको आविष्कार तथा डाँडा–डाँडामा चौतारा मासेर बनाइने अर्थहीन भ्युटावरहरू, सबै–सबै सत्ता र समाजको स्खलित भइसकेको कला–सौन्दर्य चेतनाका परिणाम हुन् ।
मूलधारइतरका संस्कृति र समुदायको ‘डि–ह्युमनाइज’ गर्ने ‘कला’ र हाम्रो विसंगत राज्यसत्ता तथा समाजबीचको सम्बन्ध पनि सपाट र सोझो छ । यही चर्तिकलाको आडमा वर्तमान सत्ता बनेको छ, टिकेको छ र त्यहीअनुरूप आफ्नो चरित्र निर्माण गरेको छ । मैथिली भाषालाई तोडमोड गर्दै मिथिलावासीको नै बजारीकरण गर्दै विशुद्ध गैरमधेसीलाई रेडियोमार्फत मनोरञ्जन प्रदान गर्दै एउटा चटके जोडी यो मुलुकमा ठूलो कलाकारको रूपमा स्थापित हुन्छ । मुलुकमा टेलिभिजन संस्कृति हावी हुँदा त्यहाँसमेत तिनले सस्तो चटक पस्कन्छन् । तिनले एउटा मुखाले, छुद्र र ओठे जवाफ फर्काउने बालक कार्यक्रमको मुख्य आकर्षण बनाउँछन् । त्यसताका अधिकांश बालबालिका त्यही टेलिचलचित्रका बालकको लवजमा रुखो र छुच्चो बोल्थे, निचोरिएको ओठे जवाफ फर्काउँथे । त्यो पुस्ता अहिले हुर्किसकेको छ र सम्भवतः हुन सक्छ, तिनकै मतले तिनीजस्तै ओठे जवाफ दिने छुद्र, विचारशून्य र गैरजिम्मेवार सरकार प्रमुख चुन्न महत्वपूर्ण भूमिका खेलेको हुनुपर्छ । सम्भवतः ‘जोकरतन्त्र’को उदयमा कलाको नाममा देखाइने चर्तिकलाको पनि उत्तिकै ठूलो हात छ ।
कला–चेतना तथा सौन्दर्यशास्त्रको सोझो सम्बन्ध राज्यसत्ता र त्यहाँका नागरिकसँग हुन्छ । यो ठ्याक्कै फुकोको शक्ति, सत्य र डिस्कोर्सको त्रिकोणात्मक सम्बन्धजस्तो पनि छ । डिस्कोर्सद्वारा सत्य स्थापित गरिन्छ, स्थापित सत्यले सत्तालाई बल पुर्याउँछ । फेरि त्यही शक्ति (सत्ता)ले आफूअनुकूलका डिस्कोर्सहरू सिर्जन्छ । ठ्याक्कै अहिले हाम्रोमा सत्ताको कला–चेतनाअनुरूप/अनुकूल ‘कला’ र कलाकारहरू निस्किरहेका छन् । यिनको सस्तो चर्तिकलाले आमदर्शक/श्रोताको आलोचनात्मक चेत, काल्पनिकी र सुझबुझलाई ध्वस्त पारिरहेको छ । काल्पनिकी र सुझबुझविना कला तथा सुन्दरताको सर्वस्वीकार्य मापन मात्र असम्भव हुँदैन, सही राजनीतिक निर्यण गर्न र सही नेतृत्व चुन्न पनि सकिँदैन । कान्टको सर्वस्वीकार्य कलाको सौन्दर्य मापनमा अहिले पक्कै केही समस्या आएको छ । बहुसंख्यकले स्विकारिसकेपछि त्यसलाई नकार्ने कि सकार्ने ? बहुसंख्यककै ‘एस्थेटिक’ परखका कारण अहिले जसरी कलाको ठाउँ चर्तिकलाले लिइरहेको छ, त्यसरी नै चाहे भारत, अमेरिका, ब्राजिल र नेपाल नै किन नहोस्, राजनीतिक पद्धतिको स्थान विसंगत पात्रले ओगटिरहेका छन् । यसको पछाडि काल्पनिकी र सुझबुझविनाको आमनागरिकको, राज्यसत्ताको र समाजको मृत कला–सौन्दर्य चेतनाको पनि त्यत्तिकै ठूलो हात छ ।