काठमाडाैं- नेपाल धितोपत्र बोर्डले तोकेको मापदण्ड पूरा गर्ने सूचीकृत धितोपत्र, ब्रोकर र लगानीकर्ताले मात्रै अन्तरदिवसीय (इन्ट्रा–डे) सेयर कारोबार गर्न पाउने प्रस्ताव गरेको छ । नेपाल धितोपत्र बोर्डले ‘अन्तरदिवसीय धितोपत्र कारोबारसम्बन्धी नियमावली, २०८३’ को प्रारम्भिक मस्यौदा सार्वजनिक गर्दै सूचीकृत कम्पनी, ब्रोकर र लगानीकर्ताका लागि फरक–फरक मापदण्ड तोकेको हो । उक्त मापदण्ड पूरा गर्ने सूचीकृत कम्पनीको सेयर, ब्रोकर र लगानीकर्ता इन्ट्रा–डे कारोबारमा आबद्ध हुन पाउनेछन् ।
नेपालको दोस्रो बजारको मूल प्रणाली अझै पनि पराम्परागत अर्थात् डेलिभरीमा आधारित नै छ । एकै दिनमा सेयर किनेर बिक्री वा बिक्री गरेको सेयर खरिद गर्न सकिँदैन । यस्तो अवस्थामा अब नेपाली सेयर बजारमा इन्ट्रा–डे सेयर कारोबार प्रणाली लागू गर्न लागिएको हो । अर्थात्, एकै दिनमा सेयर किनेर बिक्री गर्न सकिने र बिक्री गरेर खरिद पनि सोही दिन गर्न सकिने सुविधा ल्याउने तयारीमा बोर्ड छ । त्यसका लागि बोर्डले गत असोजमा यसको अवधारणापत्रसमेत ल्याएको थियो । अहिले यसका लागि नियमावली ल्याउन लागिएको हो । यसले इन्ट्रा–डे कारोबारको नियामकीय आधार तय हुनेछ ।
बोर्ड पहिलो चरणमा ‘पहिले खरिद गरेपछि बिक्री गर्ने’ मोडेलमा ‘इन्ट्रा–डे’ कारोबार खुलाउने तयारी गरेको छ । नियमावली लागू भएपछि यो सुरु हुनेछ । इन्ट्रा–डे कारोबार सञ्चालनका लागि स्टक एक्सचेन्ज र धितोपत्र दलाल व्यवसायीले बोर्डबाट स्वीकृति लिनुपर्ने व्यवस्था पनि गरिएको छ । इन्ट्रा–डे कारोबारका लागि विद्युतीय प्रणाली व्यवस्थापन गर्नुपर्नेछ ।
मापदण्ड पुग्ने कम्पनी मात्रै योग्य
बोर्डले तोकेको मापदण्ड पूरा गरेका सूचीकृत धितोपत्र मात्र अन्तरदिवसीय कारोबारका लागि योग्य मस्यौदामा उल्लेख छ । धितोपत्रको तरलता, दैनिक कारोबार परिमाण, कारोबार योग्य (फ्री फ्लोट) सेयरको संख्या, मूल्य अस्थिरता, बजार पुँजीकरण, संस्थागत सुशासन र सूचीकृत संगठित संस्थाको वित्तीय अवस्थाको आधारमा कारोबार गर्न योग्य धितोपत्र तोकिनेछ ।
मापदण्डअनुसार सेयर बजारमा सूचीकृत सबै कम्पनी इन्ट्रा–डे कारोबारका लागि योग्य नहुन पनि सक्नेछन् । मस्यौदाअनुसार बोर्डले नै इन्ट्रा–डे कारोबार गर्न योग्य धितोपत्र अर्थात् सूचीकृत कम्पनीको सूची सार्वजनिक गर्नेछ, जुन समय–समयमा अद्यावधिक तथा थपघट हुन सक्ने मस्यौदामा उल्लेख छ ।
ब्रोकरलाई पनि यस्तो मापदण्ड
बोर्डले ब्रोकरका लागि पनि मापदण्ड तोकेको छ । मस्यौदाअनुसार न्यूनतम २० करोड रुपैयाँ चुक्ता पुँजी भएको हुनुपर्नेछ । अहिले ब्रोकरका लागि न्यूनतम चुक्ता पुँजीको सीमा पनि २० करोड नै छ । यद्यपि, योबाहेक अन्य मापदण्ड पनि पूरा गर्नुपर्ने बताइएको छ । मस्यौदाअनुसार इन्ट्रा–डे कारोबार गर्ने ब्रोकको नेटवर्थ चुक्ता पुँजीभन्दा धेरै हुनुपर्नेछ ।
यसैगरी, जोखिम व्यवस्थापन प्रणाली सञ्चालनमा रहेको, आदेश व्यवस्था प्रणाली तथा कारोबार प्रणाली एकीकृत भएको, दक्ष जोखिम व्यवस्थापन अधिकारी नियुक्त गरेको, आन्तरिक नियन्त्रण तथा अनुपालन प्रणाली लागू गरेको र व्यवसाय निरन्तरता योजना तथा विपत् पुनर्स्थापना योजना भएको हुनुपर्नेछ । योबाहेक आवश्यकताअनुसार बोर्डले अन्य सर्त पनि तोक्न सक्नेछ ।
यस्तै, बोर्डले धितोपत्र व्यवसायीको सञ्चालन क्षमता, वित्तीय अवस्था वा अनुपालन स्थितिका आधारमा अन्तरदिवसीय कारोबारको स्वीकृति निलम्बन, सीमित वा रद्द गर्न सक्ने प्रस्ताव गरेको छ ।
बजार अनुगमनको जिम्मा नेप्सेलाई, निरीक्षण बोर्डबाटै
इन्ट्रा–डे कारोबारको अनुगमन गर्ने जिम्मा भने धितोपत्र बजार अर्थात् नेपाल स्टक एक्सचेन्जले गर्नुपर्ने प्रस्ताव गरिएको छ । असामान्य मूल्य परिवर्तन, असामान्य कारोबार परिमाण, बजार दुरुपयोगका गतिविधि, बोर्डको तोकेको अन्य गतिविधिको अनुगमन धितोपत्र बजारले नै गर्नुपर्नेछ । कुनै शंकास्पद कारोबार देखिएमा तत्काल बोर्डलाई जानकारी गराउनुपर्ने बोर्डको भनाइ छ ।
यद्यपि, निरीक्षणको काम भने बोर्डबाटै हुनेछ । ‘बोर्डले यस नियमावलीको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न धितोपत्र बजार, धितोपत्र व्यवसायी, केन्द्रीय निक्षेप तथा फर्स्योटसम्बन्धी संस्था वा अन्य सम्बन्धित निकायको नियमित वा विशेष निरीक्षण गर्न सक्नेछ,’ मस्यौदामा भनिएको छ, ‘निरीक्षण गर्ने क्रममा बोर्डबाट माग भएका सूचना, कागजात तथा विवरण दिनु सम्बन्धित संस्था वा व्यक्तिको कर्तव्य हुनेछ ।’
निरीक्षणका क्रममा बोर्डले आवश्यक निर्देशन दिन सक्ने मस्यौदामा भनिएको छ । ‘बोर्डले धितोपत्र व्यवसायीको निरीक्षण, अनुगमन वा विशेष परीक्षण गर्न सक्नेछ,’ मस्यौदामा भनिएको छ, ‘निरीक्षणका क्रममा बोर्डले आवश्यक निर्देशन जारी गर्न सक्नेछ र धितोपत्र व्यवसायीले त्यस्तो निर्देशनको पालना गर्नुपर्नेछ ।’
लगानीकर्तालाई पनि मापदण्ड
बोर्डले इन्ट्रा–डे कारोबार गर्न लगानीकर्ताका लागि पनि मापदण्ड निर्धारण गरेको छ । ब्रोकरले ग्राहकको पहिचान, वित्तीय क्षमता, जोखिम बहन क्षमता तथा उपयुक्तता मूल्यांकन गरी लगानीकर्तालाई यसको अनुमति दिन सक्नेछ । लगानीकर्ताले ग्राहक परिचय विवरण, अन्तरदिवसीय कारोबारमा निहित जोखिम बुझेको घोषणापत्र, अन्तरदिवसीय कारोबारको सम्झौता र मार्जिनसम्बन्धी सहमतिको कागजात ब्रोकरमा बुझाउनुपर्नेछ । मस्यौदाअनुसार इन्ट्रा–डे कारोबार गर्ने लगानीकर्ताले तोकिएको मार्जिन कायम राख्नुपर्नेछ । कति मार्जिन राख्नुपर्ने भनेर सीमा भने निर्धारण गरिएको छैन । ‘अन्तरदिवसीय धितोपत्र कारोबार गर्ने प्रत्येक ग्राहकले तोकिएबमोजिमको आवश्यक मार्जिन कायम राखुपर्नेछ,’ नियमावलीको मस्यौदामा भनिएको छ, ‘धितोपत्र व्यवसायीले पर्याप्त मार्जिन प्राप्त नगरी अन्तरदिवसीय कारोबार सञ्चालन गर्न पाउनेछैन । मार्जिनको प्रकार, दर, गणना विधि, स्वीकार्य धितो सुरक्षण तथा अन्य सम्बन्धित व्यवस्था तोकिएबमोजिम हुनेछ ।’
मस्यौदामा मार्जिनको पुनर्मूल्यांकन गर्न सकिने प्रस्ताव पनि गरिएको छ । ‘धितोपत्र व्यवसायीले ग्राहकको मार्जिनको पर्याप्तता वास्तविक समयमा वा बोर्डले तोकेको अवधिमा पुनर्मूल्यांकन गर्नुपर्नेछ,’ मस्यौदामा भनिएको छ, ‘बजार मूल्य, खुला अवस्था, जोखिमस्तर वा अन्य कारणबाट आवश्यक मार्जिन परिवर्तन भएमा धितोपत्र व्यवसायीले तत्काल आवश्यक समायोजन गर्नुपर्नेछ ।’ यस्तै, इन्ट्रा–डे कारोबारका लागि सीमा पनि निर्धारण गर्नुपर्ने बताइएको छ । ‘प्रत्येक ग्राहक, धितोपत्र व्यवसायी, धितोपत्र तथा सम्पूर्ण बजारका लागि अधिकतम कारोबार सीमा निर्धारण गर्न सकिनेछ,’ मस्यौदामा भनिएको छ ।
ग्राहकको वित्तीय क्षमता, मार्जिनको पर्याप्तता, धितोपत्रको तरलता, बजार जोखिम, धितोपत्र सूचीकृत संख्याको प्रतिशतलगायतका आधारमा अधिकतम कारोबारको सीमा पनि तोक्नुपर्ने मस्यौदामा उल्लेख छ । योअनुसार फरक–फरक लगानीकर्तालाई अधिकतम कारोबारको सीमा पनि फरक–फरक हुने देखिन्छ ।