- हाइब्रिड धानको मूल्य प्रतिक्विन्टल तीन हजार रहेकोमा कालानमक धान आठ–दश हजार रुपैयाँमा बिक्री
बाँके- अन्य धानको तुलनामा स्वादिलो र महँगो मूल्यमा बिक्री हुने भएपछि बाँकेका किसान कालानमक धान खेतीतर्फ आकर्षित भएका छन् । तीन वर्षदेखि कालानमक धानखेती गर्दै आएका जानकी गाउँपालिका– ५, गुर्वागाउँका रमेशकुमार बर्माले हरेक वर्ष धानखेतीको क्षेत्रफल बढाउँदै लगेका छन् । ‘पहिलो वर्ष परीक्षणका लागि सात कट्ठामा खेती गरेँ । राम्रो फलेपछि ४० कट्ठा पुर्याएँ । यो वर्ष ६० कट्ठामा कालानमक धानखेती गरेको छु,’ उनले भने ।
बजारमा हाइब्रिड धानको तुलनामा कालानमक करिब तीन सय प्रतिशत बढी मूल्यमा बिक्री हुने उनको भनाइ छ । ‘हाइब्रिड धान तीन हजार रुपैयाँ क्विन्टल बिक्री हुन्छ, तर कालानमक धान प्रतिक्विन्टल आठ–दश हजार रुपैयाँमा बिक्री हुन्छ,’ बर्माले भने, ‘थोरै फले पनि मोल राम्रो पाइने भएकाले दोब्बरभन्दा बढी फाइदा हुन्छ ।’
हाइब्रिडको तुलनामा यो धान थोरै फल्ने गरेको उनले बताए । मसिनो धानका रूपमा रहेको यो धान थोरै फले पनि बिक्री गर्दा हाइब्रिडभन्दा दोब्बर फाइदा हुने उनको भनाइ छ । ‘हाइब्रिड धान एक कट्ठामा दुई क्विन्टल फल्छ । कालानमक धान साढे एक क्विन्टल मात्र फल्छ, तर अरू धानभन्दा दोब्बर मूल्यमा बिक्री हुन्छ,’ उनले भने, थोरै फले पनि धेरै फाइदा हुने भएकाले यो धानको क्षेत्र बढाउँदै लगेको छु ।’
अन्य धानको तुलनामा यसलाई बढी पानी चाहिने उनले बताए । ‘पाक्न पनि ढिलो पाक्छ र अरू धानको भन्दा पानी धेरै चाहिन्छ । पानी जम्ने ठाउँमा यो धान लगाउँदा उपयुक्त हुन्छ,’ उनले भने । नेपालगन्ज उपमहानगरपालिका– ९, समावेशी टोलका कुलाराम चौधरीले पनि कालानमक धानखेती गरेका छन् । उनले पहिलो वर्ष यो धान रोपेका हुन् । अरू धानजस्तै राम्रो फलेको उनले बताए । ‘परीक्षणका लागि यो वर्ष कालानमक धान रोपेको छु । फल हेर्दा राम्रो देखिएको छ । राम्रो उत्पादन भए अर्को वर्ष क्षेत्रफल बढाउँछु,’ उनले भने ।
जानकी गाउँपालिका– ३, इन्द्रपुरका रामनरेश यादवले पनि कालानमक धान रोपेका छन् । धान पाक्न अझै एक महिना लाग्ने उनले बताए । ‘कालानमक धान अन्य हाइब्रिड धानभन्दा ढिलो पाक्छ । यो धान पाक्न कम्तीमा पाँच महिना लाग्छ,’ उनले भने । आफूले खानका लागि किसानले कालानमक धान रोप्न थालेका छन् । नेपालगन्ज उपमहानगरपालिका– २०, राँझाका दिनेश कुर्मीले पनि यस वर्ष कालानमक धानखेती गरेका छन् । उनले १० कट्ठामा कालानमक धानखेती गरेको बताए । ‘आफूले खानका लागि भनेर रोपेको छु । धेरै फल्यो भने मात्र बिक्री गर्छु,’ उनले भने ।
कालानमक धान सजिलै बिक्री हुने गरेको रमेशले बताए । उनले यस वर्ष ७० क्विन्टल फल्ने अनुमान लगाए । ‘अरू धान बिक्री गर्न समस्या हुन्छ, तर यो धान किन्न महाजनहरू घरमै आउँछन्,’ उनले भने, ‘एक त मोल राम्रो पाइन्छ, अर्कोतर्फ घरबाट बिक्री हुन्छ । महाजनसँग हातपाउ जोड्नुपर्दैन ।’ अर्को वर्ष यसलाई अझ विस्तार गर्ने योजना रहेको उनले सुनाए । ‘फाइदाको हिसाबले राम्रो लाग्यो । अर्को वर्ष थप जमिनमा धान लगाउँछु,’ उनले भने ।