मकवानपुर । हेटौँडामा भन्सार छली गरी ल्याइएको आशंकामा पाँच थान आईफोनसहित एक युवक पक्राउ परेका छन्। मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका– १५ स्थित रातोमाटे चेकपोइन्टमा सवारीसाधन जाँच गर्ने क्रममा बिलबिजक नभएका आईफोनसहित युवकलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१, पर्साका २७ वर्षीय बिक्की कुमार साह रहेका छन्। प्रहरीले बुधबार प्रहरी चौकी रातोमाटेबाट वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको सुमो जाँच गर्ने क्रममा साहको साथबाट पाँच थान आईफोन–१३ फेला पारेको हो।
बरामद मोबाइलका सम्बन्धमा आवश्यक बिलबिजक तथा वैध आयातसम्बन्धी कागजात नभेटिएपछि प्रहरीले ती मोबाइल नियन्त्रणमा लिएको जनाएको छ। साह सुमोका चालक हुन्।
बरामद पाँचवटै आईफोनसहित साहलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।