मर्जरबाट ग्यास उद्योगको संख्या घटाउँदै आयल निगम

मंगलबार, १७ कार्तिक, २०८३
प्रिन्ट संस्करण
  • एउटै समूहसँग १० वटासम्म रहेका उद्योगलाई गाभेर एउटै बनाएमा हाल सञ्चालनमा आएका ५८ उद्योगको संख्या ३५ मा सीमित हुने, उपभोक्तालाई ग्यास सटही गर्न सहज हुने 

एउटै व्यक्ति वा व्यावसायिक समूहको स्वामित्वमा रहेका एकभन्दा बढी ब्रान्डका ग्यास सिलिन्डरलाई गाभेर एउटै बनाउन आयल निगमले कदम चालेको छ । धेरै ब्रान्ड हुँदा उपभोक्तालाई ग्यास सटही गर्न कठिन भएको भन्दै निगमले ग्यास उद्योग मर्ज गर्न उद्योगीलाई १२ कार्तिकमा पत्राचार गरेको हो ।

निगमले लाइसेन्स जारी गरेको ५८ ग्यास उद्योगले फरक–फरक ब्रान्डमा ग्यास सिलिन्डर बजारीकरण गरिरहेका छन् । आपूर्ति असहज भएका वेला धेरै ब्रान्डका सिलिन्डर हुँदा झन् बढी समस्या हुन थालेपछि उद्योग मन्त्री दीपककुमार साहको पहलमा एउटै व्यावसायिक समूहको स्वामित्वमा रहेका ग्यास उद्योगलाई मर्ज गराउन थालिएको हो ।

निगमको एलपिजी विभाग प्रमुखसमेत रहेका निर्देशक विनीतमणि उपाध्यायले ग्यास उद्योगको संख्या घटाउन उपभोक्ताले लामो समयदेखि दिइरहेको सुझावलाई कार्यान्वयन गर्न लागिएको बताए । आयल निगमको चालू आव ०८३/८४ को नीति कार्यक्रममा पनि एउटै समूहसँग भएका फरक ब्रान्डका सिलिन्डरलाई मर्ज गराउने विषय समेटिएको छ ।

‘एलपी ग्यास बिक्री–वितरणलाई सहज बनाउन तथा उपभोक्ताहित प्रवर्द्धन गर्न विभिन्न नाम र ब्रान्डमा रहेका एलपी ग्यास उद्योगलाई एकआपसमा गाभ्ने नीतिलाई निरन्तरता दिने विषय नीति कार्यक्रममै छ,’ उनले भने, ‘अर्कातिर, ग्यास उद्योगको संख्या धेरै भए भनेर लामो समयदेखि बढिरहेको गुनासोलाई पनि सम्बोधन गनुपर्ने अवस्था छ ।’

उपाध्यायका अनुसार उद्योगीलाई मर्जरसम्बन्धी कार्ययोजनासमेत पेस गर्न निर्देशन दिइएको छ । जबर्जस्ती नभई उद्योगीको अनुकूल हुने गरी मर्जर प्रक्रिया अघि बढाउन खोजिएको निगमको भनाइ छ । ग्यास उद्योगको मर्ज भएर थोरै ब्रान्ड मात्रै बजारमा आए सटही गर्न धेरै सजिलो हुने उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बताए । ‘अहिले एउटा ब्रान्डले अर्को ब्रान्डको सिलिन्डर नसाटेर उपभोक्तालाई दुःख दिने गरेका छन् । त्यसैले, बजारमा थोरै उद्योगको मात्रै उपस्थित हुने गरी मर्जर प्रक्रिया अघि बढाउने धेरै उपभोक्तालाई पनि धेरै सजिलो हुन्छ,’ तिमिल्सिनाले भने, ‘तर, मर्ज गरेपछि उद्योगको सिलिन्डरको सुरक्षा, धरौटी फिर्ता, जोखिम वहनलगायत विषयमा पनि पहिले नै स्पष्ट हुनुपर्छ ।’ उनले बजारमा पुगेका सिलिन्डरको सम्पूर्ण जवाफदेहिता सम्बन्धित उद्योगकै हुनुपर्ने मापदण्ड बनाएर मात्रै मर्जर प्रक्रिया अघि बढाउन सुझाव दिएका छन् ।

एउटै समूहसँग १० वटासम्म उद्योग
आयल निगमको तथ्यांकअनुसार एउटै व्यावसायिक समूहले १० वटासम्म उद्योग चलाएका छन् । उद्योगीले प्रत्येक उद्योगका लागि फरक ब्रान्डका सिलिन्डर प्रचलनमा ल्याएका छन् । सबैभन्दा पुरानो ‘नेपाल ग्यास समूह’को स्वामित्वमा अहिले १० वटा उद्योग रहेको ग्यास उद्योग संघको तथ्यांक छ । यो समूहले काठमाडौंको बालाजुमा उद्योग राखेर ‘नेपाल’ ब्रान्डका सिलिन्डर बिक्री गर्दै आएको छ । त्यस्तै, सोही समूहले चितवनको उद्योगबाट ‘नेपाल नारायणी’, धनुषामा रहेको उद्योगबाट ‘नेपाल गण्डकी’ र कर्णाली प्रदेशका लागि ‘नेपाल कर्णाली’ ब्रान्डको सिलिन्डरमा बिक्री गर्दै आएको छ । यो समूहको स्वामित्वमा एचपी, त्रिवेणी, राजधानी, आरती, गीता र गृहलक्ष्मी ब्रान्डमा ग्यास सिलिन्डर पनि छन् ।

त्यस्तै, एसजी ग्रुपमातहत पूर्वदेखि पश्चिमसम्म सातवटा ग्यास उद्योग छन् । यो समूहसँग एभरेस्ट, सुगम, कामख्या, प्रिमा, सहारा, त्रिशूल र साइपाल ग्यास उद्योग छन् । त्यस्तै, कोशी समूहले कोशी, श्रीराम, जानकी र नोबेल गरी चार ब्रान्डका सिलिन्डर बजार पठाइरहेको छ ।

उद्योगी सुरेन्द्र पौडेलले श्री, बाबा र लुम्बिनी ब्रान्डमा ग्यास बिक्री गरिरहेका छन् । औद्योगिक घराना त्रिवेणी समूहले पनि सिद्धार्थ र गौरीशंकर दुई ब्रान्डका ग्यास बिक्री गर्दै आएको छ । सावरमल अग्रवालले सगर र चण्डेश्वरी तथा राजेन्द्र डल्लाकोटीले साइबाबा र श्रीकृष्ण ग्यासलाई अलग–अलग ब्रान्डमा बजारीकरण गरिरहेका छन् । 

यी सात समूहसँग मात्रै ३० ब्रान्डका ग्यास उद्योग छन् । एक समूहबराबर एउटा ब्रान्डको ग्यास कायम गर्ने हो भने हाल कायम उद्योगको संख्या ५८ बाट घटेर ३५ मा आइपुग्छ ।

रातो र निलो सिलिन्डर तत्कालै ल्याउने, एउटै ब्रान्ड बनाउन असहमत
तत्काल रातो र निलो रङको ग्यास सिलिन्डर प्रचलनमा ल्याउन उद्योगी एकमत भएका छन् । सोमबार दिउँसो ग्यास उद्योग संघले डाकेको राष्ट्रिय भेलाले घरायसी र व्यावसायिक प्रयोजनको सिलिन्डर छुट्याउन विगतमा अभ्यास भएको रातो र निलो रङको सिलिन्डर प्रचलनमा ल्याउने निष्कर्ष निकालेको हो ।

संघ अध्यक्ष दिवान चन्दले कुल खपतको आठदेखि १२ प्रतिशतसम्म व्यावसायिक क्षेत्र (होटेल, रेस्टुरेन्ट, उद्योग, खाजाघरलगायत)मा ग्यास खपत भइरहेको अनौपचारिक तथ्यांक संकलन भएको जानकारी दिए । ‘आयल निगमले त ३० प्रतिशतसम्म व्यावसायिक क्षेत्रमा ग्यास खपत भइरहेको दाबी गरेको छ,’ उनले भने, ‘तर, हाम्रो व्यावहारिक अध्ययनले बढीमा १२ प्रतिशत मात्रै ग्यास व्यवसायी क्षेत्रमा पुगेको देखिन्छ ।’ त्यसैले १२ प्रतिशत सिलिन्डर निलो बनाएर बजार पठाउन तयार छौँ ।’

अहिले १४.२ किलो तौलको मात्र सिलिन्डर प्रयोगमा रहेकोमा अन्य फरक तौलका सिलिन्डर प्रचलनमा ल्याउनसमेत उद्योगी तयार भएका छन् । अध्यक्ष चन्दले १४.२ किलो, १९ किलो, ५० किलो र ४५० किलो तौलको सिलिन्डर प्रचलनमा ल्याउन समूहिक निर्णय भएको जानकारी दिए । तत्काल देशभर एउटै ब्रान्डको सिलिन्डर लागू गर्ने आयल निगमको प्रस्तावमा भने उद्योगीले असहमति जनाएका छन् । ‘अहिले नै एउटै ब्रान्डमा देशभर ग्यास प्रचलनमा ल्याउन धेरै कठिनाइ छ,’ उनले भने । एउटै व्यक्ति वा समूहको स्वामित्वमा रहेको उद्योगहरू एकआपसमा मर्ज गर्ने आयल निगमको प्रस्ताव भने सकारात्मक रहेको उनले बताए । ‘एउटै समूहको स्वामित्वमा रहेको उद्योगहरू जतिसक्दो छिटो मर्ज हुनेछन्,’ उनले भने ।

उद्योगीको राष्ट्रिय भेलाले गरेको निर्णयबारे निगमलाई बिहीबारसम्म जानकारी दिने चन्दले बताए । त्यसपछि, लगत्तै रातो र निलो रङको सिलिन्डर प्रचलनमा ल्याउने उनीहरूको तयारी छ । व्यावसायिक प्रयोजनको सिलिन्डर अलग्गै बनाउँदा सर्वसाधारणलाई ग्यास वितरण गर्न सहज हुने सरकारको बुझाइ छ ।
 

सुझावित समाचार