कास्की/ ‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रूपमा स्थापित गरौँ’ भन्ने मूल नाराका साथ पोखरामा आयोजना हुँदै आएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित आहा ! रारा-पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण आगामी ५ माघदेखि हुने भएको छ।
सहारा क्लब पोखराको आयोजना एवं हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा सञ्चालन हुने प्रतियोगिता ५ देखि १६ माघसम्म सञ्चालन हुने आयोजक क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए।
प्रतियोगिताको मिति तय भए पनि सहभागी हुने टिमहरु, खेल तालिका, पुरस्कार राशि, प्रायोजकलगायतका अन्य विषय पछि सार्वजनिक गरिने थापाले बताए। मिति तय भएसँगै आयोजक क्लबले प्रतियोगितालाई सफल, व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न आवश्यक तयारीसमेत अघि बढाएको उनले बताए। पोखराको फुटबल विकास, खेलकुदको प्रवर्द्धन तथा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा नेपाली फुटबलको पहिचान अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुँदै आएको प्रतियोगिताले नेपाली फुटबलको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको उनको भनाइ छ।
प्रतियोगिताले प्रतिभाशाली खेलाडीहरूलाई आफ्नो खेलकौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै पोखरालाई खेलकुद पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्नसमेत सहयोग पुर्याउँदै आएको अध्यक्ष थापाको दाबी छ।
प्रतियोगिताको २६औँ संस्करणसम्म आइपुग्दा नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लब सबैभन्दा धेरै उपाधि जित्ने सूचीमा छन्। २५औँ संस्करण सकिँदा दुवै टोलीले समान ६–६ पटक उपाधि हात पारेका छन्। यसैगरी, थ्री स्टार क्लबले पाँच, आयोजक सहारा क्लब र संकटा क्लबले समान दुई–दुई, नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब, सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्सले समान एक–एकपटक उपाधिमा आफ्नो नाम लेखाएका छन्।
विगत २५ वर्षदेखि पोखरामा फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको क्लबले ०५८ सालदेखि फुटबल एकेडेमीसमेत सञ्चालन गरिरहेको छ। कठिन परिस्थिति र विपन्न वर्गका बालकहरू आश्रित पोखरा–१७, दोबिल्लास्थित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा हाल चौथो ब्याचका ३० प्रशिक्षार्थी छन्। उनीहरूको आवास, पालनपोषणसँगै शिक्षादीक्षा र फुटबल प्रशिक्षणको काम क्लबले गर्दै आएको अध्यक्ष थापाले जानकारी दिए। प्रत्येक वर्ष प्रतियोगिता सञ्चालनपछि प्राप्त हुने आम्दानी क्लबले एकेडेमी सञ्चालनका लागि खर्च गर्दै आएको छ।