यू– १९ महिला विश्वकपको तयारीमा नेपालले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

शुक्रबार, ६ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । आइसिसी यू– १९ महिला टी– २० विश्वकपको तयारीलाई थप मजबुत बनाउने उद्देश्यले नेपाली यू– १९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नेपाली टोलीले चीन र भारतमा आयोजना हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ।

नेपालले आगामी नोभेम्बर ३ देखि ८ तारिखसम्म चीनमा आयोजना हुने ‘बेल्ट एन्ड रोड यू– १९ गर्ल्स टी– २०आई’ प्रतियोगिता खेल्नेछ। प्रतियोगितामा आयोजक चीनसहित नेपाल, थाइल्यान्ड र हङकङका टोली सहभागी हुनेछन्।

त्यसैगरी, नेपाली टोलीले नोभेम्बर १० देखि २२ तारिखसम्म भारतको बेंगलुरुमा आयोजना हुने त्रिदेशीय शृंखलामा पनि प्रतिस्पर्धा गर्नेछ। उक्त शृंखलामा नेपालसँगै भारत यू– १९ महिला ‘ए’ र भारत यू– १९ महिला ‘बी’ टोली सहभागी हुने क्यानले जनाएको छ।

क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा यी प्रतियोगितालाई विश्वकपको तयारीका रूपमा लिइएको उल्लेख छ। दुई प्रतियोगितामा सहभागिताले नेपाली टोलीलाई अन्तर्राष्ट्रिय अनुभव हासिल गर्न र विश्वकपका लागि आफ्नो तयारीलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सुझावित समाचार