फेरिँदै मोरङ कारागार, गिरोह बनाएर काटमार गर्ने कैदीबन्दी विपश्यना ध्यानमा मग्न

आइतबार, १ कार्तिक, २०८३
डिजिटल संस्करण

विराटनगर । नयाँ मानिस भित्र आउँदा–जाँदा जम्लाहात जोडेर उभिएर आदरपूर्वक नमस्कार गर्छन्। बिहान सबैरै उठ्छन् र नित्यकर्मपछि सबैजना सामूहिक ध्यानमा मग्न हुन्छन्। बेलुका पनि रोलकलपछि सामूहिक रूपमा आनापान ध्यानमा सहभागी बन्छन्। त्यसबाहेक दिउँसो र रानि पनि समूह–समूहमा मिलेर ध्यानमा बस्ने गर्छन्।

यो दैनिकीको दृश्य हो विराटनगर– ८, हाटखोलास्थित जिल्ला कारागार मोरङका कैदीबन्दी र बाल सुधारगृहमा रहेका बिज्याइँकर्ताहरूको। पहिले संगठित गिरोह बनाएर जेलभित्रै काटमार र अपराधमा संलग्न मोरङ कारागार र बालसुधार केन्द्रका कैदीबन्दी र बिज्याइँकर्ताहरूको पर्खालभित्रको दिनचर्या आजभाेलि अपत्यारिलो गरी बदलिँदै गएको छ।

कुनै समय आपराधिक समूहको दबदबा, काटमारको त्रास, श्रमशोषण र आर्थिक असुलीको संगठित अपराधको समस्याले कुख्यात बनिरहेको मोरङ कारागारका कैदीबन्दी मात्र नभएर बाल सुधारगृहका बिज्याइँकर्ताहरू पनि आफ्नो दिनचार्य परिवर्तन गरेर सकारात्मक सोचका लागि आजभाेलि विपश्यना ध्यान बस्न थालेका छन्। हिजो डर र दबाबबिच नकारात्मक सोचले बित्ने गरेको कैदीजीवनमा अहिले आत्मचिन्तन, ध्यान र व्यवहार परिवर्तनको अभ्यासले ठाउँ लिन थालेको छ।

मोरङ कारागारमा अहिले ‘ए’ ब्लकमा ५६७, ‘बी’ ब्लकमा ५३१ र महिला ब्लकमा ११० कैदीबन्दी छन्। सोही ठाउँमा रहेको बाल सुधारगृहको ब्लकमा ६० जना र कञ्चनबारीस्थित बाल सुधारगृहमा दुई सयजना बिज्याइँकर्ता छन्। उनीहरू सबैजना विपश्यना ध्यानका साधकहरूसँगै दैनिक साँझ–बिहान विपश्यना ध्यान विधिको आनापान ध्यानमा सहभागी भइरहेका छन्। साधकहरू मात्र नभएर मोरङका सिडिओ युवराज कट्टेल आफैँ पनि दैनिक सबै ब्लकमा सहभागी भएर उनीहरूसँगै ध्यानमा सहभागी हुन्छन्। अनि ध्यान विधिसँगै नैतिक शिक्षा र सकारात्मक व्यवहार परिवर्तनबारे शिक्षा दिने गर्छन्।

मोरङ कारागारमा यो परिवर्तन एकाएक भएकोचाहिँ होइन। एक वर्षअघि मोरङ आएका सिडिओ युवराज कट्टेलको यातनागृहका रुपमा कुख्यात मोरङ कारागार र बाल सुधारगृहलाई सुधार गर्ने अठोटले गर्दा सम्भव भएको हो। उनले आफ्नो अधिकार प्रयोग गर्दै हस्तक्षेप गरेपछि जेलभित्रको संगठित अपराधको जालो पूरै तोडिएको छ। कैदीबन्दीको भत्ता र श्रमको पारिश्रमिकमा भइरहेको अनियमितता, जेलभित्रै चलाइँदै आएको मिटरब्याजको धन्दा अनि डरत्रास देखाएर गर्ने आर्थिक र शारीरिक शोषणको अन्त्य गराउन कट्टेल निरन्तर लागिपरेका थिए।

निरन्तरको प्रयासपछि मात्र उनी मोरङ कारागारभित्रको ‘समानान्तर सत्ता’ तोड्न सफल भए। अपराधको जालो तोड्न सफल भएपछि सिडिओ कट्टेलले एक महिनादेखि कारागारका पुरुष र महिलाका सबै ब्लकका साथै बाल सुधारगृहमा दैनिक साँझ–बिहान नियमित ध्यान सञ्चालन गराउन थालेका हुन्। ‘कारागारलाई केवल सजाय भोग्ने ठाउँका रूपमा नभई सुधार र पुनर्स्थापनाको स्थान बनाउने हाम्रो प्रयास हो,’ सिडिओ कट्टेल भन्छन्, ‘त्यसैले कैदीबन्दीलाई ध्यान, योग र सकारात्मक व्यवहार परिवर्तनका कार्यक्रमसँग जोडिरहेका छौँ।’

समाजमा पुनर्स्थापना गराउन विपश्यना ध्यान शिविरको तयारी 
आपराधिक गिरोहको जालोबाट मुक्त बनाउन सफल भएपछि गत असोजदेखि मोरङ कारागारका सबै ब्लकका १२ सय र सुधारगृहका दुई सय बालबिज्याइँकर्तालाई एक महिनादेखि नियमित ध्यान गराइरहेको मोरङ प्रशासनले अब चाडपर्व सकिनासाथ विपश्यना ध्यान शिविर सञ्चालन गराउने तयारी गरेको छ। त्यसका लागि मोरङ कारागारभित्र धमाधम शिविरका लागि २५ लाख खर्च गरेर अलग्गै संरचना तयार भइरहेको छ। शिविरको संरचना बनाउनका लागि विपश्यना ध्यान केन्द्रले आफ्नै साधकहरूबाट सहयोग संकलन गरेर व्यवस्थित संरचना निर्माण गराइरहेको छ।

चाडपर्व सकिनासाथ कात्तिक अन्तिमदेखि २४ जनाको समूहमा दसदिने विपश्यना ध्यान शिवर सञ्चालन गराउने तयारी रहेको कैदीबन्दीलाई ध्यान सिकाउन धर्मसेवक मदन कठायतसँगै कारागारभित्रै बसेर सहयोग गरिरहेका धर्मसेवक ई. समीर तिमल्सिनाले बताए। उनका अनुसार विपश्यना शिविरमा अलोपालो गरेर क्रमशः सबै कैदीबन्दी र १८ वर्षभन्दा माथिका बिज्याइँकर्ताहरूलाई सहभागी गराइनेछ। ध्यान शिवरमा बस्ने कैदीबन्दीहरूले दस दिनसम्म विपश्यना ध्यानको कठोर विधि पालना गर्नुपर्छ। साधक पशुपति पोखेरलका अनुसार कारागारभित्र शिविरको नयाँ संरचना बनाउन विपश्यना ध्यान शिविरमा सहभागी भइसकेका साधकहरूबाहेक अरूबाट सहयोग लिन पाइँदैन। यसैले सहयोग गर्न चाहने साधकहरूले प्रशासनसँग समन्वय गर्न सक्नेछन्।

१३ लाख ४० हजारको सूचनाबाट सुरु भयो कारागार सुधार अभियान
सिडिओ कट्टेलले गत असारदेखि कारागारभित्रको आर्थिक शोषण र आपराधिक सञ्जालबारे अनुसन्धान अघि बढाएका थिए। ‘बी’ ब्लकका ५३६ कैदीबन्दीलाई प्रतिव्यक्ति दुई हजार पाँच सय रुपैयाँका दरले वितरण गरेको १३ लाख ४० हजार रुपैयाँ संगठित गिरोहले गायब बनाएको सूचना पाएपछि उनले जेलभित्र हस्तक्षेप बढाएर अप्रेसन चलाएका थिए।

त्यसका लागि मोरङ प्रशासनले मोरङ कारागारका पूर्वचौकीदार तथा गुन्डा नाइकेको रूपमा चिनिएका विराटनगरका अभिषेक गिरीलाई १३ असार २०८३ मा घरबाट पक्राउ गरेर विभिन्न मुद्दा चलाएको थियो। मानव अपहरण कसुरमा आठ वर्षको सजाय भुक्तान गरी ०७८ सालमै छुटिसकेका गिरीले जेलबाहिर बसेर जेलभित्र रहेका आफ्नो संगठित गिरोहमार्फत कैदीबन्दीमाथि आर्थिक शोषण कायमै राखेका थिए। गिरी पक्राउ परेपछि प्रहरीले उनीसँग सम्बन्धित भनिएका चौकीदार सञ्जय मण्डल, कार्यालय सहयोगी शिवचरण यादव र आपूर्तिकर्ता विजय कामतलगायतलाई पनि पक्राउ गरेर अनुसन्धान अघि बढायो। उनीहरूलाई पक्राउ गरी आपराधिक लाभसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको थियो।

तर, त्यसपछि पनि जेल शान्त भएन। बरु झन् त्यहाँभित्र रहेको गिरोहले दिनदिनै नाराबाजी गर्ने प्रहरी प्रशासनलाई भित्र छिर्न नदिने, जेलभित्रै आगो लगाउने काम गर्न थालेका थिए। त्यसपछि प्रशासनले फेरि जेलभित्र हस्तक्षेप गरेर आपराधिक गिरोहका ३७ कैदीलाई पटपटक गरेर विभिन्न जेलमा स्थानान्तरण गराएर जेल शान्त बनाएको थियो। त्यसपछि प्रहरीले जेलभित्र खानतलासी गरेर गोप्य कोठामा लुकाएर राखिएका फलामका रड र स्थानान्तरण गरिएका कैदीको एक कोठाबाट १० लाख रुपैयाँ नगदसमेत बरामद गरेको थियो। त्यसपछि मात्र बल्ल मोरङ कारागारको वातावरण शान्त बनेको हो। कारागार शान्त भएपछि सकारात्मक सोच राख्ने सिडिओ कट्टेलले विपश्यना ध्यान केन्द्रसँग सम्पर्क गरेर कारागारभित्रै चारजना साधकहरू बसाएर एक महिनादेखि दैनिक विपश्यना ध्यानको आनापान र सकारात्मक व्यवहार परिवर्तनको शिक्षा सञ्चालन गराइरहेका छन्।

सुझावित समाचार