श्रम संस्कृतिद्वारा तीन क्यान्सरपीडितको उपचारमा सहयोग

शुक्रबार, ३० असोज, २०८३
डिजिटल संस्करण

धनकुटा । श्रम संस्कृति पार्टीले धनकुटाका तीनजना क्यान्सरपीडित बिरामलाई उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ। लामो समयदेखि क्यान्सरबाट पीडित भई उपचार गराइरहेका बिरामीलाई राहत पुगोस् भन्ने उद्देश्यले श्रम संस्कृतिले जनही १० हजार रुपैयाँका दरले सहयोग गरेको हो।

सो पार्टीले साँगुरीगढी गाउँपालिका– ८ की रेजिना राई, सहिदभूमि गाउँपालिका– ५ की इन्द्रकुमारी राई र धनकुटा नगरपालिका– ६ की गंगाकुमारी राईलाई उक्त सहयोग रकम हस्तान्तरण गरेको जनाएको छ।

क्यान्सरजस्तो जटिल रोगको उपचार खर्चिलो हुने भएकाले बिरामी तथा उनीहरूका परिवारलाई थोरै भए पनि आर्थिक राहत मिलोस् भन्ने उद्देश्यले सहयोग गरिएको श्रम संस्कृति पार्टी धनकुटाले जनाएको छ। उपचारका क्रममा आर्थिक अभावका कारण बिरामीले भोग्नुपर्ने कठिनाइलाई मध्यनजर गर्दै पार्टीले आफ्ना श्रमदाताहरूबाट रकम संकलन गरी सहयोग गरेको हो।

जिल्ला कोषाध्यक्ष सरकुमार राईका अनुसार बिरामीहरूको उपचारमा सहयोग पुर्याउने उद्देश्यले पार्टीका श्रमदाताहरूबाट रकम संकलन गरिएको हो। सानो भए पनि मानवीय सहयोगले बिरामी र उनीहरूका परिवारलाई राहत मिल्ने विश्वास पार्टीले लिएको छ।

सुझावित समाचार