कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो : गगन थापा

शुक्रबार, ३० असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेस कुनै नेताको निजी सम्पत्ति नभई आमनागरिकको साझा सम्पत्ति भएको बताएका छन्। पार्टीलाई बदलिँदो समयका सामाजिक, राजनीतिक तथा आर्थिक समस्या समाधान गर्न सक्ने शक्तिका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिएका छन्।

बौद्धिक पेसाकर्मी अभियान परिषद्ले आयोजना गरेको सम्मान तथा बधाई कार्यक्रम एवं बडादसैँ, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभापति थापाले कांग्रेसले बदलिँदो समाजको आवश्यकता र नागरिकका आकाक्षालाई सम्बोधन गर्न सक्नुपर्ने बताए।

‘नेपाली कांग्रेस पार्टीको प्रारम्भ यहीँबाट हुन्छ। कांग्रेस पार्टी कुनै नेताको होइन, कसैको प्राइभेट कम्पनी होइन। हजारौँ–लाखौँ मानिस पार्टीमा आबद्ध छन्। शुभेच्छुक र समर्थक पनि छन्। यो सबैको साझा सम्पत्ति हो, सार्वजनिक सम्पत्ति हो,’ उनले भने।

राजनीतिक दलको वैधता सदस्यताको संख्याबाट मात्रै स्थापित नहुने उल्लेख गर्दै थापाले समर्थक, शुभेच्छुक र आमनागरिकको विश्वास तथा स्वीकार्यता पनि उत्तिकै महत्त्वपूर्ण हुने बताए। पार्टीको आगामी यात्रालाई विचार, संगठन र नेतृत्वका आधारमा अघि बढाउनुपर्ने उनको भनाइ थियो।

गत भदौ २३ र २४ गतेका घटनापछिको परिस्थितिमा कांग्रेस जनतामाझ पुगेर आफ्ना विचार राख्न र नागरिकका कुरा सुन्न आवश्यक ठानेर विशेष महाधिवेशन आयोजना गरिएको उनले स्पष्ट पारे। पार्टीभित्र नेतृत्वको अधिकार र सदस्य तथा समर्थकको भूमिकाबारे फरक बुझाइ भए पनि राजनीतिक दललाई व्यापक सार्वजनिक संस्थाका रूपमा बुझ्नुपर्ने उनले बताए।

‘राजनीतिक दल भनेको सदस्यता लिएका व्यक्तिहरूको मात्रै संस्था होइन। यो समर्थक, शुभेच्छुक र आमनागरिकको पनि साझा संस्था हो,’ थापाले भने।

सुझावित समाचार