उदयपुर । गत १० भदौमा रसुवाको भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका उदयपुरको कटारी नगरपालिका– ५, सोक्लाका २० वर्षीय बुद्धिमान परियारको परिवारले कुशको प्रतीकात्मक शव बनाएर दाहसंस्कार गरेको छ।
बेपत्ता भएको दुई महिनापछि आइतबार, कात्तिक १० गते, परिवारले हिन्दु परम्पराअनुसार कुशकाे प्रतीकात्मक शव बनाएर अन्तिम संस्कार गरेको हो।
बाढीमा परी बेपत्ता भएपछि परिवारले उनको अवस्था थाहा पाउने र शव फेला पर्ने आशामा ६० दिनसम्म प्रतीक्षा गरेको थियो। तर, लामो समयसम्म पनि शव फेला नपरेपछि परिवारले कुशको प्रतीकात्मक शव बनाएर अन्तिम संस्कार गरेको जनाएको छ।
बुद्धिमानकी आमा मीना परियारले छोराको अनुहारसमेत हेर्न नपाई दाहसंस्कार गर्नुपरेको बताइन्। अब छोराको फर्किने आशा मार्दै अन्तिम संस्कार गरेको उनको भनाइ छ। उनले भनिन्, ‘कमाएर सुखसँग पाल्छु भन्दै कमाउन गएको छोरा, अहिले उसको मुखसमेत हेर्न नपाई दाहसंस्कार गर्नुपरेको छ।’
बुद्धिमानका बुवा खुसबहादुर परियारले अझै पनि छोरा फर्किने आशा मार्न नसकेको बताए। तर, धार्मिक परम्पराअनुसार काजकिरिया गर्न कुशको प्रतीकात्मक शव बनाएर अन्तिम संस्कार गर्नुपरेको उनको भनाइ छ। उनले भने, ‘छोरो फर्केर आउँछ भन्ने आशामा बसेको ६० दिन बितिसक्यो, अब कसरी मन बुझाउनु ? त्यसैले अन्तिम संस्कार गरेका हौँ।’
हिन्दु धार्मिक परम्पराअनुसार शव फेला नपरेको अवस्थामा कुशबाट प्रतीकात्मक शव बनाएर अन्तिम संस्कार गर्ने प्रचलन छ। सोही परम्पराअनुसार परिवारले बुद्धिमानको दाहसंस्कार गरेको हो। बुद्धिमान परियार रसुवाबजारस्थित एक ग्यारेजमा मजदुरका रूपमा कार्यरत थिए।
यसैगरी, रसुवाको भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका उदयपुरको त्रियुगा नगरपालिका– ४, बगाहाका देवेन्द्र घिमिरेको पनि यसअघि नै कुशको प्रतीकात्मक शव बनाएर अन्तिम संस्कार गरिएको थियो। देवेन्द्र त्रिशूली हाइड्रो प्रोजेक्टमा कार्यरत कर्मचारी थिए।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजन चापागाईंका अनुसार भोटेकोशी बाढीमा परी उदयपुरका १७ जना बेपत्ता भएका छन्। तीमध्ये कटारीका बुद्धिमान परियार र देवेन्द्र घिमिरेको कुशको प्रतीकात्मक शव बनाएर परिवारले अन्तिम संस्कार गरेको जानकारी प्राप्त भएको उनले बताए।
चापागाईंले भने, ‘हालसम्म बेपत्ता भएकामध्ये कोही पनि सम्पर्कमा आएका छैनन्।’