अस्पतालमा एन्टिमाइक्रोबियल औषधिको प्रयोग अध्ययन गर्न सर्वेक्षण प्रोटोकल सार्वजनिक

शुक्रबार, ४ मंसिर, २०८३
डिजिटल संस्करण

काठमाडौं । नेपालका अस्पतालमा एन्टिमाइक्रोबियल औषधिको प्रयोग र चिकित्सकले गर्ने सिफारिसको अवस्था मूल्यांकन गर्न तयार पारिएको सर्वेक्षण प्रोटोकल सार्वजनिक गरिएको छ।

विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताहका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उक्त प्रोटोकल सार्वजनिक गरिएको हो। यसबाट संकलन हुने तथ्यांकले अस्पतालमा एन्टिमाइक्रोबियल औषधिको उचित प्रयोग प्रवर्द्धन गर्नुका साथै प्रमाणमा आधारित नीति निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले एन्टिमाइक्रोबियल प्रतिरोध (एएमआर) नियन्त्रणका लागि स्वास्थ्य, कृषि, पशुपन्छी तथा वातावरण क्षेत्रबिच प्रभावकारी सहकार्य आवश्यक रहेको बताइन्।

उनले एएमआरको समस्या मानव स्वास्थ्यमा मात्र सीमित नरहेको उल्लेख गर्दै पशुपन्छी, वनस्पति, खाद्य प्रणाली र वातावरणसँग समेत जोडिएको बताइन्।

मन्त्री मेहताका अनुसार एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोगले संक्रमणको उपचार जटिल बनाउनुका साथै उपचार खर्च बढाउने र स्वास्थ्य प्रणालीमाथि थप दबाब सिर्जना गर्ने गर्छ।

उनले औषधिको प्रयोग तथा वितरणमा नियामकीय निगरानी प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै खोप सेवा, संक्रमण रोकथाम तथा नियन्त्रण, सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छतालाई प्राथमिकता दिनुपर्ने बताइन्।

नेपालले सन् २०२४ मा संयुक्त राष्ट्रसंघको महासभाबाट पारित एएमआरसम्बन्धी घोषणापत्रप्रति प्रतिबद्धता जनाएको र सन् २०२४–२०२८ को राष्ट्रिय कार्ययोजना कार्यान्वयन गरिरहेको पनि उनले जानकारी दिइन्। उक्त कार्ययोजनालाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबिच समन्वय र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

मन्त्री मेहताले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई बिरामीको अवस्थाअनुसार आवश्यक परेमा मात्र एन्टिमाइक्रोबियल औषधि सिफारिस गर्न आग्रह गरिन्। साथै, सर्वसाधारणलाई स्वास्थ्यकर्मीको सल्लाहविना यस्ता औषधि प्रयोग नगर्न सुझाव दिइन्।

उनले कृषि तथा पशु स्वास्थ्य क्षेत्रमा पनि एन्टिमाइक्रोबियल औषधिको जिम्मेवार प्रयोग सुनिश्चित गर्न र जैविक सुरक्षाका उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिइन्।

सुझावित समाचार