मकवानपुर। मकवानपुरको हेटौँडामा गुडिरहेको मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।
बिहीबार दिउँसो हेटौँडा उपमहानगरपालिका– १० स्थित जिल्ला प्रहरी कार्यालय मकवानपुरअगाडि मोटरसाइकलबाट खसेर सर्लाहीका २७ वर्षीय विदुर विश्वकर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मकवानपुर प्रहरी प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेका अनुसार बसपार्कबाट थानाभर्याङतर्फ जाँदै गरेको ना.५४प ८३२७ नम्बरको मोटरसाइकलको पछाडि सवार विश्वकर्मा अचानक खसेर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि हेटौँडा अस्पताल पुर्याइएको थियो । अस्पतालमा इसिजी परीक्षणपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
मृतक विश्वकर्मा सर्लाहीको बरहथवा नगरपालिका– १५ पिपराभित्ता बेलटोल निवासी रहेको र उनी मोटरसाइकलचालक आकृत विश्वकर्माका काका नाता पर्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरीले मोटरसाइकल र चालक १६ वर्षीय आकृत विश्वकर्मालाई नियन्त्रणमा लिएको छ । आकृत हाल हेटौँडा उपमहानगरपालिका– ११, थानाभर्याङमा बस्दै आएका छन् ।
मृतकको शव हेटौँडा अस्पतालमै राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता काफ्लेले जानकारी दिए ।