धनकुटा। धनकुटाको साँगुरीगढी गाउँपालिका– ६, मुक्तेनमा आगोले जलेर ९२ वर्षीया वृद्धाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार स्थानीय रामबहादुर मगरकी श्रीमती पविमाया मगरको सोमबार बिहान आगोले जलेर मृत्यु भएको हो।
सोमबार बिहान करिब ७:२० बजे आफ्नै घरको आँगनमा रहेको चुलाेमा खोले पकाउँदै आगो ताप्ने क्रममा उनले ओढेको बर्कोमा अचानक आगो सल्किएको थियो। बर्कोमा आगो सल्किएपछि जलेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे कात्तिक १० गते बिहान ८ बजे इलाका प्रहरी कार्यालय भेडेटारमा जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थल सुरक्षित राखी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।
घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीको कमान्डमा अनुसन्धान टोली खटिएको प्रहरीले जनाएको छ।