तीन दिन हिमाली क्षेत्रमा पदयात्रा नगर्न अध्यागमन विभागको आग्रह

मंगलबार, १० कार्तिक, २०८३
डिजिटल संस्करण


काठमाडौं/ उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम बढेपछि अध्यागमन विभागले तीन दिनसम्म पदयात्रा नगर्न आग्रह गरेको छ।

विभागका निर्देशक सूर्यप्रसाद चापागाईंले आज सूचना जारी गर्दै कात्तिक १२, १३ र १४ गते हिमाली तथा उच्च पहाडी क्षेत्रमा मौसमजन्य विपद्को उच्च जोखिम रहेको जानकारी दिएका हुन्। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत उक्त अवधिमा सतर्कता अपनाउन चेतावनी दिएको विभागले जनाएको छ।

विभागका अनुसार जोखिमलाई मध्यनजर गर्दै उक्त तीन दिन निषेधित उच्च पहाडी तथा हिमाली क्षेत्रमा पदयात्राका लागि अनुमतिपत्र जारी गरिनेछैन।

यसअघि नै पदयात्राका क्रममा सम्बन्धित क्षेत्रमा प्रवेश गरिसकेका पर्यटकलाई जथाभावी आवतजावत नगर्न र सुरक्षित स्थान वा आश्रयस्थलमा बस्न विभागले आग्रह गरेको छ।

प्रतिकूल मौसमका कारण हुन सक्ने मानवीय क्षति न्यूनीकरण गर्न यस्तो सतर्कता अपनाइएको विभागले स्पष्ट पारेको छ। साथै, ट्रेकिङ एजेन्सी, पदयात्री, पथप्रदर्शक तथा अन्य सम्बन्धित सरोकारवालालाई सूचनाको पूर्ण पालना गर्न र गराउन निर्देशन दिइएको छ।

विभागले विपतको जोखिम टरेको आधिकारिक सूचना जारी नभएसम्म हिमाली तथा उच्च पहाडी क्षेत्रमा हुने पदयात्रा स्थगित गर्न सबैलाई सचेत गराएको छ।

सुझावित समाचार