काठमाडौं । नेपाल प्रहरीले शुक्रबार साँझ विभिन्न सञ्चारगृहका कार्यालय तथा समाचारकक्षमा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएको तथा गिरफ्तार गर्ने प्रयास गरेको घटनाप्रति फोटो पत्रकार क्लब (पिजे क्लब)ले गम्भीर आपत्ति जनाउँदै भर्त्सना गरेको छ।
क्लबले सादा पोसाकका प्रहरी सञ्चारगृहमा प्रवेश गरी पत्रकार पक्राउ गर्ने, पक्राउ गर्न खोज्ने तथा सञ्चारमाध्यमलाई त्रसित बनाउने कार्य प्रेस स्वतन्त्रता, स्वतन्त्र पत्रकारिता र संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको हकविपरीत रहेको जनाएको छ।
शुक्रबार जारी विज्ञप्तिमार्फत क्लबले पत्रकारलाई गिरफ्तार गर्ने कार्य तत्काल बन्द गर्न र प्रेस स्वतन्त्रताको सम्मान गर्न नेपाल सरकार, प्रहरी प्रशासन तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
त्यसैगरी, सञ्चारमाध्यममा प्रकाशित समाचार सामग्रीप्रति असहमति वा पत्रकार आचारसंहितासम्बन्धी उजुरी भएमा त्यसको छानबिन, अनुगमन तथा निरूपण गर्ने कानुनी जिम्मेवारी प्रेस काउन्सिल नेपालको भएको क्लबले स्पष्ट पारेको छ।
समाचार सामग्रीप्रति कुनै असहमति वा गुनासो भए कानुनी प्रक्रियाअनुसार प्रेस काउन्सिलमार्फत समाधान खोजिनुपर्ने क्लबको भनाइ छ।
विज्ञप्तिमा फोटो पत्रकार क्लब (पिजे क्लब) का महासचिव अमुल थापाले हस्ताक्षर गरेका छन्।