धनकुटा । धनकुटा नगरपालिका– ६ स्थित पाङसिङमा श्रीमान्ले खुकुरी प्रहार गर्दा श्रीमती गम्भीर घाइते भएकी छिन्। प्रहरीका अनुसार पाङसिङ टोलका डम्बर कार्कीले मंगलबार दिउँसो करिब १२ बजे श्रीमती तारा कार्कीमाथि खुकुरी प्रहार गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय धनकुटाका इन्स्पेक्टर पाण्डवकुमार राजवंशीका अनुसार घटनालगत्तै घाइते तारालाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको छ।
ताराको टाउको र ढाडमा गम्भीर चोट लागेको छ भने देब्रे हातको कान्छी औँला छिनिएको छ। धनकुटा– ६ का वडाध्यक्ष मिलन खड्गीका अनुसार डम्बर १३ वर्षदेखि बेपत्ता थिए। केही दिनअघि मात्रै परिवारका सदस्यले खोजेर उनलाई घर ल्याएका थिए।
घर फर्किएदेखि नै उनले श्रीमतीमाथि हिंसा गर्ने र मार्ने धम्की दिने गरेका बताइएको छ। यसअघि पनि अत्यधिक मादक पदार्थ सेवन गरी श्रीमतीलाई धम्क्याउने गरेका थिए।
श्रीमतीमाथि खुकुरी प्रहार गरेपछि फरार रहेका डम्बरको खोजीका लागि प्रहरी परिचालन गरिएको इन्स्पेक्टर राजवंशीले बताए।