उदयपुर / मदन भण्डारी लोकमार्गको उदयपुरको चौदण्डीगढी नगरपालिका–१०, खैराझोरा खण्डमा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ।
आज शुक्रबार दिउँसो दुर्घटनामा धनकुटा नगरपालिका–५ निवासी २२ वर्षीय रोजन परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।
उदयपुर प्रहरी प्रमुख (एसपी) राजन चापागाईंका अनुसार गाईघाटबाट बेल्टारतर्फ जाँदै गरेको प्रदेश १–०२–०६० प ८७११ नम्बरको मोटरसाइकल र बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको ना ७ त ५३२५ नम्बरको ट्याक्टर दिउँसो खैराझोरामा एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनामा मोटरसाइकलचालक परियारको शरीरका विभिन्न भागमा चोट लागेको थियो । उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल उदयपुर ल्याइएकामा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनापछि ट्याक्टरचालक चौदण्डीगढी नगरपालिका–१० निवासी २६ वर्षीय सोभितमान बस्नेत र दुवै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे इलाका प्रहरी कार्यालय बेल्टारले थप अनुसन्धान गरिरहेको जनाएको छ।