मकवानपुर/ संघीय संसद्का सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा जनताको आवश्यकता, देशको भौगोलिक अवस्था र सरोकारवालाको सुझावलाई प्राथमिकता दिने बताएका छन्। पुराना कानुन संशोधन तथा नयाँ कानुन निर्माण गर्दा सम्बन्धित पक्षसँग पर्याप्त संवाद र छलफल गरेर मात्रै प्रक्रिया अघि बढाउने उनले बताए।
वीरगन्जमा छठ पर्वमा सहभागी हुन जाने क्रममा मकवानपुरबाट निर्वाचित प्रतिनिधिसभा सदस्यद्वय प्रकाश गौतम र प्रशान्त उप्रेतीसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्तासँगको भेटमा सभामुख अर्यालले आफूहरू जनताको सेवकका रूपमा काम गर्न आएको उल्लेख गर्दै देशलाई समृद्ध र सुशासनयुक्त बनाउने प्रयासमा रहेको बताए।
‘हामी कारिन्दाका रूपमा काम गर्न आएका हौँ। के गर्दा यो देश समृद्ध बन्न सक्छ, सुशासन कायम हुन सक्छ र भ्रष्टाचारमुक्त देशका रूपमा चिनाउन सकिन्छ, हामी त्यही गर्छौँ,’ उनले भने, ‘त्यसका लागि तपाईंहरूको सुझाव निरन्तर चाहिन्छ।’
सभामुख अर्यालले कानुन निर्माणलाई संसद्को औपचारिक प्रक्रियामा मात्र सीमित नराखी जनताको आवश्यकता र व्यावहारिक अवस्थासँग जोड्नुपर्ने बताए।
पुराना कानुन संशोधन तथा नयाँ कानुन निर्माण गर्दा जनताको चेतना, आवश्यकता, नेपालको भौगोलिक अवस्था र नयाँ पुस्ताको भविष्यलाई ध्यानमा राख्नुपर्ने उनको भनाइ थियो।
‘कानुन निर्माण गर्ने कुरामा एक इन्च पनि कमजोरी हुन नदिने मेरो प्रतिबद्धता छ। जनताको चेतना, जनताको आवश्यकता, नेपालको भूगोल र आजको आवश्यकतालाई ध्यान दिनुपर्छ,’ उनले भने।
कानुन कार्यान्वयन गर्ने पक्षसँग पर्याप्त छलफल गरेर मात्रै कानुन निर्माण गर्ने आफ्नो प्रतिबद्धता रहेको उनले बताए। कानुनको प्रयोग गर्ने सरोकारवालासँग संवाद र छलफललाई प्राथमिकता दिइने उनको भनाइ थियो।
‘विशेषगरी त्यो कानुन कसले प्रयोग गर्ने हो, उहाँहरूसँग संवाद गरेर, छलफल गरेर बढीभन्दा बढी सहभागितामूलक ढंगले कानुन निर्माण गर्ने कुरामा मेरो प्रतिबद्धता छ,’ अर्यालले भने।
जनप्रतिनिधिका काम जनताबाटै सुन्न मकवानपुर आएको हुँ
सभामुख अर्यालले जनप्रतिनिधिले पछिल्लो समय गरेका काम, उनीहरूका कमजोरी र जनताको अपेक्षाबारे प्रत्यक्ष जानकारी लिन आफू मकवानपुर आएको बताएका छन्।
वीरगन्जमा छठ पर्व मनाउन जाने क्रममा सिधै गन्तव्यमा पुग्न सकिने भए पनि मकवानपुरका नागरिक र जनप्रतिनिधिसँग भेटघाट गर्ने उद्देश्यले जिल्लामा आएको उनको भनाइ थियो।
‘नयाँ जनप्रतिनिधि पाइसकेपछि हाम्रा त्रुटिहरूलाई जनताले कसरी मूल्यांकन गरिरहनुभएको छ र हामी सुध्रिनुपर्ने ठाउँ कहाँ छन् भन्ने कुरा सुन्न चाहन्छु,’ उनले भने, ‘यही छ महिनामा पनि हामीले थुप्रै गल्ती–कमजोरी गरेका हाैँला। जनताको अपेक्षाअनुसार काम गर्न नसकेका हाैँला। त्यसलाई जनताकै मुखबाट सुन्ने मौका मिलोस् भनेर मकवानपुर आएको हुँ।’
उनले जनप्रतिनिधिको कार्यसम्पादनको मूल्यांकन पार्टीगत वा विषयगत पूर्वाग्रह नराखी जनताको दृष्टिकोणबाट गर्नुपर्ने बताए। जनताको सुझाव र आलोचनालाई आगामी काम सुधार गर्ने अवसरका रूपमा लिनुपर्ने उनको भनाइ थियो।
सभामुख अर्यालले देशमा नागरिकले सुरक्षित भएर बस्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए। अहिले सुरक्षित जीवनका लागि विदेश जानुपर्ने अवस्था सिर्जना भएको महसुस हुने गरेको उल्लेख गर्दै उनले आफ्नै देशमा सुरक्षित हुन नसके संसारको जुनसुकै ठाउँमा गए पनि सुरक्षित हुन नसकिने धारणा राखे।
‘कहिलेकाहीँ सुरक्षित हुनका लागि विदेश जानुपर्ने अवस्था आयो कि भन्ने लाग्छ। हामी आफ्नै देशमा सुरक्षित छैनौँ भने संसारमा कहीँ गएर पनि सुरक्षित हुन सक्दैनौँ,’ उनले भने, ‘त्यसकारण सुरक्षित देश बनाउन अहिले हाम्रो प्रयास भइरहेको छ।’
सभामुख अर्याल आज हेटौँडामै बस्ने र भोलि आइतबार छठ पूजामा सहभागी हुन वीरगन्ज जाने उनको सचिवालयले जनाएको छ।