टान गण्डकीको अध्यक्षमा तीर्थराज सुवेदी निर्वाचित

शुक्रबार, ३० असोज, २०८३
डिजिटल संस्करण

कास्की। ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान), गण्डकी प्रदेशको अध्यक्षमा तीर्थराज सुवेदी निर्वाचित भएका छन्। पोखरामा सम्पन्न संस्थाको ३३औँ वार्षिक साधारणसभा तथा १९औँ अधिवेशनले सुवेदीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो। सुवेदी यसअघि संस्थाको प्रथम उपाध्यक्ष थिए।

अधिवेशनबाट प्रथम उपाध्यक्षमा मोहनप्रसाद सुवेदी, द्वितीय उपाध्यक्षमा गोपालकृष्ण संग्रौला, सचिवमा भूपेन्द्रकुमार लामा, सहसचिवमा प्रकाश पौडेल र कोषाध्यक्षमा चन्द्रबहादुर भुजेल निर्वाचित भएका छन्। त्यसैगरी, कार्यसमिति सदस्यमा बलराम दाहाल, भूपेन्द्र गौतम, अजयराज अधिकारी, शिव क्षेत्री र श्रीराम पोखरेल चयन भएका छन्। विधानअनुसार नवनिर्वाचित कार्यसमितिले थप दुई सदस्य मनोनयन गर्न सक्नेछ।

नवनिर्वाचित अध्यक्ष सुवेदीले सञ्चालनमा रहेका पदमार्गको संरक्षण र विकाससँगै नयाँ तथा वैकल्पिक पदमार्गको पहिचान र विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताए। पदमार्गमा पर्यटकको आवागमन बढाउन सके रोजगारी सिर्जना हुनुका साथै स्थानीय आर्थिक गतिविधि पनि चलायमान हुने उनको भनाइ थियो। यसका लागि पदमार्गको संरक्षण र विकासमा सबै पक्षको सहकार्य आवश्यक रहेको उनले जोड दिए।

यसअघि अधिवेशनको उद्घाटन गर्दै नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले ट्रेकर्स इन्फर्मेसन म्यानेजमेन्ट सिस्टम (टिम्स) कार्यान्वयनका लागि कानुन संशोधन गरी अघि बढ्ने तयारी भइरहेको बताए। उनले टिम्ससम्बन्धी व्यवस्था छिट्टै कार्यान्वयनमा आउने विश्वास व्यक्त गरे।

निरौलाले गण्डकी प्रदेश पर्यटन तथा ट्रेकिङ व्यवस्थापनका दृष्टिले देशकै उत्कृष्ट प्रदेश रहेको उल्लेख गर्दै त्यसपछि कोशी र बागमती प्रदेश रहेको बताए।

टानका केन्द्रीय अध्यक्ष सागर पाण्डेले नेपाल पर्यटन बोर्डले पर्यटन प्रवर्द्धनमा केन्द्रित हुनुपर्नेमा पूर्वाधार निर्माणमा जोड दिएको भन्दै असन्तुष्टि व्यक्त गरे। पूर्वाधार निर्माणका लागि अन्य निकाय सक्रिय रहेकाले बोर्डले पर्यटन प्रवर्द्धनमा आफ्नो भूमिका प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो। उनले टिम्सलाई जसरी पनि कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिए।

नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि बोर्डले काम गरिरहेको बताए।

पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेल तथा टान गण्डकीका निवर्तमान अध्यक्ष कृष्णप्रसाद आचार्यलगायतले पदमार्गको संरक्षण र विकासमा जोड दिए। उनीहरूले सञ्चालनमा रहेका पदमार्गको संरक्षणसँगै नयाँ तथा वैकल्पिक पदमार्गको पहिचान र विकास गर्न सके पर्यटन प्रवर्द्धन हुनुका साथै रोजगारीका अवसरसमेत सिर्जना हुने बताए।

कार्यक्रमका वक्ताहरूले योजनाविना निर्माण भइरहेका ग्रामीण सडकका कारण पुराना पदमार्ग क्रमशः लोप हुँदै गएकोप्रति चिन्ता व्यक्त गरे। पदमार्ग मासिँदा पर्यटकको बसाइ अवधि घट्ने र त्यसले पर्यटन व्यवसायमा नकारात्मक असर पार्ने उनीहरूको भनाइ थियो। साथै, लामो समयदेखि विवादमा रहेको टिम्स कार्डसम्बन्धी विषय टुंग्याएर यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा पनि उनीहरूले जोड दिए।

सुझावित समाचार