बारामा भारतीय स्कारपियोको ठक्करबाट १७ वर्षीय मोटरसाइकलचालकको मृत्यु, दुई घाइते

आइतबार, १ कार्तिक, २०८३
डिजिटल संस्करण

बारा । बाराको महागढीमाई नगरपालिका– १ स्थित हुलाकी राजमार्गको प्लाई फ्याक्ट्री चोकमा भारतीय नम्बर प्लेटको स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

आइतबार बिहान करिब ११ः३० बजे बरियारपुरबाट कलैयातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट BR 19 G 9921 को स्कारपियोले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००५ प ८८५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकलचालक कलैया उपमहानगरपालिका– २१ निवासी अन्दाजी १७ वर्षीय धीरज यादव, भोडहानिवासी अन्दाजी १६ वर्षीय नगेश साह र अन्दाजी १८ वर्षीय अरुण यादव घाइते भएका थिए।

घाइते तीनैजनालाई उपचारका लागि एलएस न्युरो अस्पताल पठाइएकोमा चालक धीरज यादवको उपचारका क्रममा बिहान ११ः५५ बजे मृत्यु भएको हो। अन्य दुईजनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी बरियारपुरबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

दुर्घटनामा संलग्न स्कारपियो र त्यसका चालक रौतहटको परोहा नगरपालिका– ३ निवासी अन्दाजी ३८ वर्षीय अरुणकुमार दुबेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार