दाङ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर, दाङले एक वर्षमा साढे चार लाख रुपैयाँभन्दा बढी मूल्यका अखाद्य सामग्री जफत गरी नष्ट गरेको छ । कार्यालयका सूचना अधिकारी सुदर्शन गोसाईंका अनुसार गत आर्थिक वर्ष ०८२/८३ मा अनुगमनका क्रममा म्याद गुज्रिएका, फोहोर तथा अखाद्य अवस्थामा भेटिएका कुल चार लाख ५६ हजार तीन सय ६८ रुपैयाँबराबरका खाद्य सामग्री जफत गरी नष्ट गरिएको हो ।
जसमध्ये खाद्यान्न तथा दलहनजन्य सामग्री तीन लाख ३८ हजार तीन सय ७८ रुपैयाँ, दुग्धजन्य पदार्थ ३७ हजार रुपैयाँ, फलफूल तथा सागपात ३२ हजार चार सय १० रुपैयाँ र तेल तथा घिउजन्य वस्तु ११ हजार ६५० रुपैयाँबराबरका नष्ट गरिएको हो । त्यस्तै, कन्फेक्सनरी, मसला, प्रशोधित पानीलगायत अन्य खाद्य सामग्रीसमेत नष्ट गर्दा उक्त रकमबराबरको क्षति भएको सूचना अधिकारी गोसाईंले बताए ।
त्यस्तै, खाद्य ऐन तथा नियमको प्रभावकारी कार्यान्वयनका लागि बजारबाट नमुना संकलन गरी प्रयोगशालामा समेत पठाइएको थियो । उनका अनुसार अनुगमनका क्रममा विभिन्न १३९ वटा खाद्य पदार्थका नमुनासमेत संकलन गरिएको थियो । ती नमुनाको प्रयोगशालामा परीक्षण गर्दा १० वटा नमुना तोकिएको मापदण्डविपरीत रहेको पाइएको थियो ।
त्यसैगरी, खाद्य उद्योग तथा बजारमा खाद्य स्वच्छताको अवस्था अध्ययन गर्न संकलन गरिएका ८१ वटा सर्भिलेन्स नमुनाको परीक्षण गर्दा सबै मापदण्डअनुसार नै रहेको पाइएको थियो ।
खाद्यका १६ वटा मुद्दा अदालतमा
प्रतिकूल नतिजा आएका नमुना, मुचुल्का तथा अन्य कार्यालयबाट थप अनुसन्धानका लागि प्राप्त नमुनासमेतका आधारमा कुल १६ वटा मुद्दा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम अदालतमा दायर गरिएको छ । अदालतमा मुद्दा दायर गरिएकामा खाद्यान्न तथा दलहनजन्य पदार्थ, प्रशोधित पिउने पानी, मसला, गुलियो पदार्थ, गुलियो परिकार, चुक तथा अनुसन्धानका लागि प्राप्त मह र बिस्कुट रहेका छन् ।
१६१ खाद्य व्यवसायको निरीक्षण
सूचना अधिकारी गोसाईंका अनुसार कुल १६१ पटक विभिन्न खाद्य व्यवसायको निरीक्षण तथा अनुगमन गरिएको थियो । जसमध्ये कार्यालयका खाद्य निरीक्षक मात्र संलग्न रहेका ८८ वटा एकल अनुगमन र विभिन्न नियमनकारी निकायका प्रतिनिधिसहित ७३ वटा संयुक्त अनुगमन गरिएको थियो ।
यस क्रममा ९५ पटक खाद्य बजार तथा पसल, १७६ वटा खाद्य उद्योग, ७१ पटक होटेल, रेस्टुरेन्ट तथा खाजाघर र ४० पटक दुध, तेल तथा प्रशोधित पिउने पानीजस्ता संवेदनशील उद्योगको अनुगमन गरिएको थियो ।
त्यस्तै, नौपटक हाटबजार तथा मेला–महोत्सव, नौपटक क्यान्टिन, तीनपटक पोषण पूरक बिक्री पसल र उजुरी तथा गुनासो आएपछि १२ पटक आकस्मिक अनुगमन गरिएको थियो ।
नियमनका साथै खाद्य व्यवसायीको क्षमता अभिवृद्धि र उपभोक्ताको स्वास्थ्य सुरक्षाका लागि कार्यालयले विभिन्न सचेतनामूलक तालिम तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको थियो । खाद्य स्वच्छताको आधारमा होटेल तथा रेस्टुरेन्टहरूको स्तरीकरण गर्ने निर्देशिका, २०७४ बमोजिम लमही, राप्ती, तुलसीपुर र घोराही क्षेत्रका कुल ५१ वटा होटेल तथा रेस्टुरेन्टको स्तरीकरण गरी लोगो वितरण गरिएको छ ।
त्यसैगरी, लमहीमा ५१ जना र घोराहीमा ६५ जना होटेल तथा रेस्टुरेन्ट व्यवसायीलाई स्वच्छता तालिम प्रदान गरिएको थियो । सर्वसाधारणले बढी उपभोग गर्ने स्ट्रिट फुडलाई स्वच्छ बनाउन हापुरे बजारमा ४६ जना, गढवा बजारमा ५१ जना, रोल्पाको होलेरी बजारमा ४१ जना र तुलसीपुर बजारमा ५६ जना गरी दुई सयभन्दा बढी स्ट्रिट फुड तथा फास्टफुड व्यवसायीलाई स्थानीय तहको समन्वयमा खाद्य स्वच्छता, सरसफाइ र कानुनी प्रावधानबारे प्रशिक्षण दिइएको थियो ।
कार्यालयले विद्यालय तथा समुदायस्तरमा पुगेर खाद्य स्वच्छता र पोषणसम्बन्धी सचेतना फैलाउने कार्यलाई पनि प्राथमिकता दिएको छ । कार्यालयको कार्यक्षेत्र दाङसहित प्युठान, रोल्पा र रुकुम पूर्व रहेको छ । कार्यालयले नयाँ कार्यान्वयनमा आएको खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम आफ्नो नियमनकारी भूमिकालाई प्रभावकारी रूपमा अगाडि बढाएको जनाएको छ ।