काठमाडौं उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

शनिबार, ७ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लंघन गर्ने ३३६ सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने १०२ चालक कारबाहीमा परेका छन्। त्यस्तै, सिसिक्यामेराको माध्यमबाट ३९ र रातो बत्ती उल्लंघन गर्ने २० चालकलाई कारबाही गरिएको छ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार तीव्र गतिमा सवारीसाधन चलाउने ५७, हर्न बजाएर सवारी चलाउने आठ तथा लेन अनुशासन पालना नगर्ने तीन सवारीसाधनलाई पनि कारबाही गरिएको छ।

यसैगरी, सवारीसाधनको अवस्था ठिक नभएका दुई र अन्य कसुरमा १०५ सवारीसाधन कारबाहीमा परेको कार्यालयले जनाएको छ।

ट्राफिक प्रहरीले चाडपर्वका वेला सवारी नियम उल्लंघन गरी सवारी चलाउने चालकलाई लक्षित गर्दै निगरानी र कारबाहीलाई तीव्र बनाएको छ। प्रहरीले सडक सुरक्षा कायम गर्न तथा दुर्घटनाको जोखिम न्यूनीकरण गर्न चालकलाई ट्राफिक नियमको पालना गर्न आग्रह गरेको छ।

सुझावित समाचार