काठमाडौं । दसैँ बिदाका कारण यस वर्षको पहिलो चरणको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रमको मिति परिवर्तन गरिएको छ।
स्वास्थ्य सेवा विभागका अनुसार अब उक्त कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन हुनेछ। यसअघि कार्यक्रम कात्तिक २ र ३ गते गर्ने तय गरिएको थियो।
कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ।
विभागले निर्धारित मितिमा नजिकैको स्वास्थ्य केन्द्रमा आफ्ना बालबालिकालाई लगेर भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउन अभिभावकलाई आग्रह गरेको छ। बालबालिकाको स्वास्थ्य र पोषण सुधार गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको यो अभियानमा लक्षित उमेर समूहका सबै बालबालिकाको सहभागिता सुनिश्चित गर्न विभागले अनुरोध गरेको हो।