काठमाडौं/ जिल्ला प्रशासन कार्यालय, सुनसरीले खसी–बोकाको मासु अधिकतम प्रतिकिलो ११ सय रुपैयाँमा बिक्री गर्न परिपत्र जारी गरेको छ। दसैँ नजिकिएसँगै इटहरी, धरान, दुहबीलगायतका बजारमा व्यापारीले मनपरी भाउ बढाउन थालेपछि नियन्त्रणका लागि जिल्लाभर एउटै दर लागू गर्न खोजिएको सहायक प्रमुख जिल्ला अधिकारी राजमणि निरौलाले जानकारी दिए।
‘दसैँ नजिकिनासाथ बजारमा खसीको मासुको भाउ मनपरी ढंगले बढेर प्रतिकिलो १३ सयसम्म पुगेको देखियो,’ उनले भने, ‘६ महिनाअघिसम्म प्रतिकिलो एक हजारदेखि ११ सयसम्म रहेको भाउ अहिले बढ्नुपर्ने कुनै कारण देखिएको छैन,’ उनले भने, ‘त्यसैले, उपभोक्ता हितलाई ध्यान दिएर सर्वपक्षीय छलफल गरी जिल्लाभर प्रतिकिलो ११ सय रुपैयाँभन्दा बढीमा खसी र बोकाको मासु बिक्री नगर्न परिपत्र जारी गरेका हौँ।’
प्रशासनले प्रतिकिलो ११ सय रुपैयाँभन्दा बढीमा खसी–बोको मासु बिक्री गरेको भेटिए कानुनबमोजिम कारबाही गर्नेसमेत चेतावनी दिएको छ। निरौलाले जिल्लाका मुख्य बजारका मासु पसलमा अनुगमन गरी तोकिएको मूल्य कार्यान्वयन भए-नभएकोसमेत पत्ता लगाउने बताए।
बिहीबार जारी सूचनामा भनिएको छ, ‘जिल्लामा खसी–बोकाको उपभोक्ता खुद्रा मूल्य अचानक बढेको भनी उपभोक्ताबाट उजुरी र गुनासो प्राप्त भएको, खसी–बोकाको मासुको मूल्यवृद्धि तत्काल गरिनुपर्ने मनासिव आधार नभएको, गत माघमा मात्र खसी–बोको प्रतिकेजी उपभोक्ता मूल्य ११ सय कायम भएको र केही मासु बिक्रेताले यस कार्यालयमा खसी–बोको मासु प्रतिकिलो ११ सय मा बिक्री गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेकाले अर्को व्यवस्था नभएसम्मका लागि खसी–बोको मासुको उपभोक्ता मूल्य प्रतिकिलो बढीमा ११ सयमा जिल्लाभर खरिद बिक्री गनुहुन अनुरोध छ।’
