कालीकोट । जिल्लाको रास्कोट नगरपालिकामा मालपोत तथा नापी सेवा सुरु भएको छ। नगरप्रमुख धर्मराज शाहीले उक्त सेवाको उद्घाटन गरेसँगै स्थानीय नागरिकले जग्गा प्रशासनसम्बन्धी सेवा आफ्नै क्षेत्रबाट प्राप्त गर्ने बाटो खुलेको छ।
भौगोलिक विकटता र यातायातको कठिनाइका कारण जग्गासम्बन्धी कामका लागि टाढाका कार्यालय धाउनुपर्ने बाध्यता झेल्दै आएका रास्कोटसहित आसपास क्षेत्रका नागरिकलाई सेवा सञ्चालनले राहत पुग्ने अपेक्षा गरिएको छ।
नगरपालिकाले नागरिकलाई सहज रूपमा सरकारी सेवा उपलब्ध गराउने उद्देश्यसहित विभिन्न सेवा स्थानीयस्तरमै विस्तार गर्दै आएको छ। नगरपालिकामा यसअघि करदाता सेवा र इलाका प्रशासन कार्यालयसमेत सञ्चालनमा ल्याइसकिएको छ।
दुर्गम बस्तीमा सरकारी सेवा पुर्याउनु चुनौतीपूर्ण रहँदै आएको अवस्थामा रास्कोटमा भूमि प्रशासन सेवा विस्तार हुनु स्थानीय सेवा प्रवाहका दृष्टिले महत्त्वपूर्ण कदम मानिएको छ। सेवा नियमित, व्यवस्थित र आवश्यक जनशक्ति तथा प्रविधिसहित सञ्चालन हुन सके नागरिकको समय, श्रम र खर्च बचत हुनुका साथै सरकारी सेवा प्राप्त गर्न सहज हुने विश्वास गरिएको छ।