महेन्द्रनगर खुला मञ्चमा भएको रामलीला घाटामा

आइतबार, १३ मंसिर, २०८३
डिजिटल संस्करण

महेन्द्रनगर ।  ६ देखि १९ कात्तिकमा कञ्चनपुरको महेन्द्रनगरस्थित खुला मञ्चमा भएको रामलीला महोत्सव घाटामा गएको छ। निङलाशैनी जगन्नाथ रामलीला समितिले गरेको भगवान् रामचन्द्रको जीवनीमा आधारित महोत्सवको आयभन्दा व्यय बढी भएको हो।

६ लाख १४ हजार ७ सय रुपैयाँ आम्दानी गरेको महोत्सवको खर्च नाै लाख १६ हजार ८०२ रुपैयाँ छ। आइतबार समितिले आयव्यय सार्वजनिक गर्दै तीन लाख दुई हजार ७९५ रुपैयाँ घाटा भएको जानकारी दिए। समितिका अध्यक्ष निरञ्जनप्रसाद भट्टले भने, ‘घाटा भएको रकम अब हामीले समितिको आन्तरिक स्रोतदेखि व्यहोछौँ,’ उनले भने, ‘हामीले नाफा कमाउनका लागि मात्रै होइन, समाजसेवाका लागि महोत्सव गरेका हौँ।’

घाटाका बाबजुद रामलीला समितिले सामाजिक काम पनि गरेको जनाएको छ।  भट्टका अनुसार भोटेकोशी बाढीबाट पीडित भएका नागरिकको राहतका लागि ५१ हजार र निङलाशैनी विकास समाजलाई ११ हजार रुपैयाँ सहयोग गर्नुका साथै सबै कलाकारहरूलाई ८६ हजार रुपैयाँ पुरस्कार वितरण गरिएको छ।

रामलीला समितिका संरक्षक घनानन्द लेखकले समाजका लागि गरिएको कार्यक्रममा घाटा–नाफा नहेरी सबै मिलेर अघि बढ्नुपर्ने बताए। उनले प्रदेश सरकारले विनियोजन गरेको १५ लाख रुपैयाँबाट केही आवश्यक सामाग्री खरिद गरिने बताए। समितिका सचिव एवं प्रमुख व्याख्यानकर्ता पदमराज भट्टले समाजका लागि रामलिला गरिएको बताए। कार्यक्रममा कलाकारहरूलाई प्रसंसापत्रसहित सम्मान गरिएको थियो।
 

सुझावित समाचार