काभ्रे/ रोशी गाउँपालिकाका नागरिकले अब व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर (प्यान) लिन आन्तरिक राजस्व कार्यालय धुलिखेल धाउनुपर्ने बाध्यता हट्ने भएको छ। रोशी गाउँपालिका र आन्तरिक राजस्व कार्यालय धुलिखेलबिच गाउँपालिकाबाटै व्यक्तिगत तथा व्यावसायिक प्यान जारी गर्ने गरी द्विपक्षीय समझदारी भएको छ।
साबिकमा करदाता सेवा कार्यालयहरूबाट प्रदान भैरहेका सेवाहरू पालिकाबाट दिने नेपाल सरकारको २०८२ कार्तिक १७ को निर्णयबमोजिम बिहीबार आन्तरिक राजस्व कार्यालय, धुलिखेल र रोशी गाउँपालिकाबिच समझदारी भएको हो। सम्झौतामा आफ्नो क्षेत्रभित्र बसोबास गर्ने व्यक्ति तथा व्यवसायीहरूलाई व्यक्तिगत तथा व्यवसायी स्थायी लेखा नम्बर जारी गर्ने, आफ्नो क्षेत्रभित्र ठेगाना भएका व्यक्तिगत व्यवसाय तथा निकायहरूले मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ताका लागि निवेदन दिएमा आवश्यक कागजात भिडान गरी आन्तरिक राजस्व कार्यालय, धुलिखेलमा सिफारिस गर्ने र दर्ता प्रमाणपत्र उपलब्ध गराउनेलगायतका विषय उल्लेख छन्।
उक्त सम्झौताअनुसार सेवा सञ्चालनका लागि आन्तरिक राजस्व विभागले सञ्चालन गरेको इन्टिग्रेटेड ट्याक्स सिस्टम प्रयोग गरिनेछ। यसका लागि आन्तरिक राजस्व कार्यालयले गाउँपालिकाका कर्मचारीलाई आवश्यक तालिम, प्रणाली सञ्चालनका लागि युजर आइडी तथा पासवर्ड र प्राविधिक सहजीकरण उपलब्ध गराउनेछ। त्यस्तै, गाउँपालिकाले आवश्यक जनशक्ति तथा भौतिक स्रोतसाधनको व्यवस्थापन गर्ने, सेवाग्राहीलाई करसम्बन्धी शिक्षा प्रदान गर्ने र सेवा प्रवाहका लागि एकजना कर्मचारीलाई सम्पर्क व्यक्ति (फोकल पर्सन) तोक्ने सम्झौतामा उल्लेख छ।
सम्झौताअनुसार स्थानीय तहबाट प्रदान गरिने सेवाबापत सेवाग्राहीले संघीय राजस्वमा दाखिला गर्नुपर्ने कर तथा शुल्कबाहेक अन्य कुनै सेवा शुल्क वा दस्तुर तिर्नुपर्ने छैन।
व्यक्तिगत तथा व्यावसायिक प्यान लिन चाहने नागरिक, व्यवसायी तथा उद्यमीले अब रोशी गाउँपालिकाबाटै सेवा प्राप्त गर्न सक्ने रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बताए। यो व्यवस्थाले प्यान बनाउन तथा करसम्बन्धी सामान्य सेवा लिन धुलिखेलसम्म पुग्नुपर्ने समय, खर्च र झन्झटबाट मुक्त गराउनका लागि प्यान जारी गर्न समझदारी गरेको लामाले बताए। यसले गाउँपालिकाभित्रका साना व्यवसायी, उद्यमी तथा सर्वसाधारण नागरिकलाई सहजता पुग्ने लामाले विश्वास व्यक्त गरे।
सम्झौतामा आन्तरिक राजस्व कार्यालय धुलिखेलका प्रमुख कर अधिकृत अनमोलकुमार दाहाल र रोशी गाउँपालिकाका तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत ठाकुरप्रसाद दाहालले हस्ताक्षर गरेका छन्।