जाजरकोटमा अव्यवस्थित पार्किङ, सडक यात्रु र सवारीचालकलाई सास्ती

शनिबार, १४ कार्तिक, २०८३
डिजिटल संस्करण

जाजरकोट जिल्लाको सदरमुकाम खलंगामा अव्यवस्थित पार्किङको समस्या बढ्दै गएको छ। बजार क्षेत्रका सडक, चोक तथा सार्वजनिक आवागमन हुने स्थानमा जथाभावी सवारीसाधन पार्किङ गर्दा पैदलयात्रु, सर्वसाधारण र अन्य सवारीचालकले सास्ती खेप्नुपरेको हो ।

सदरमुकामको मुख्य बजार क्षेत्रमा पार्किङ व्यवस्थापन प्रभावकारी नहुँदा सडक साँघुरो बन्ने, सवारी आवागमनमा अवरोध हुने र दुर्घटनाको जोखिमसमेत बढ्ने अवस्था देखिएको छ।

बजारमा किनमेल गर्न आउने नागरिकदेखि सरकारी कार्यालयमा सेवा लिन पुग्ने सेवाग्राहीसम्मले अव्यवस्थित पार्किङको समस्या भोग्नुपरेको छ। सडकको छेउमा जथाभावी मोटरसाइकल, जिप तथा अन्य सवारीसाधन राखिँदा सडकको उपयोगी क्षेत्र साँघुरिने गरेको छ। कतिपय स्थानमा सवारीसाधन व्यवस्थित रूपमा नराख्दा अर्को सवारीलाई आवतजावत गर्न कठिन हुने गरेको छ।

सदरमुकाम खलंगा जिल्लाको प्रमुख व्यापारिक तथा प्रशासनिक केन्द्र हो। दैनिक रूपमा विभिन्न गाउँ तथा स्थानीय तहबाट नागरिकहरू किनमेल, उपचार, सरकारी कामकाज र अन्य प्रयोजनका लागि यहाँ आउने गर्छन्। तर, बढ्दो सवारी चापअनुसार पार्किङ व्यवस्थापन नहुँदा बजार क्षेत्रको आवागमन सहज बन्न सकेको छैन।

सवारीसाधन जहाँ पायो त्यहीँ रोक्ने र पार्किङ गर्ने प्रवृत्तिले पैदलयात्रुलाई समेत जोखिममा पारेको छ। सडकको छेउमा सवारीसाधन राख्दा पैदलयात्रु सडकको बिच भागबाट हिँड्नुपर्ने अवस्था सिर्जना हुने गरेको स्थानीयको गुनासो रहेको छ। बालबालिका, ज्येष्ठ नागरिक तथा दैनिक आवतजावत गर्ने सर्वसाधारणलाई थप जोखिममा पार्दै आएका छन्।

सदरमुकाममा व्यवस्थित पार्किङस्थलको पहिचान, पार्किङ निषेधित क्षेत्र निर्धारण गरिएको छैन। बजार क्षेत्रमा नियमित अनुगमन, ट्राफिक व्यवस्थापन र सम्बन्धित निकायबिच समन्वय हुन सकेमा पार्किङको समस्या न्यूनीकरण गर्न सकिने भए पनि सरोकारवाला निकायले ध्यान नदिएको यहाँका व्यवसायीको गुनासो गरेका छन्।

त्यसैले, खलंगाको बजार व्यवस्थापनलाई व्यवस्थित बनाउन स्थानीय सरकार, ट्राफिक प्रहरी, जिल्ला प्रशासन र सरोकारवाला निकायले संयुक्त रूपमा पहल गर्न आवश्यक छ। भूगोलको कारण व्यवस्थापनमा चुनौती रहेको भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले बताए। जग्गा नभएका कारण सदरमुकाममा बसपार्क व्यवस्थित बनाउन नसकिएको उनको भनाइ छ ।

सुझावित समाचार