कञ्चनपुरमा पटाका तस्करी

बिहिबार, १२ कार्तिक, २०८३
डिजिटल संस्करण

कञ्चनपुर । कञ्चनपुरमा प्रतिबन्धित पटाका तस्करी भइरहेको छ। दसैैँ अघिदेखि सुरु भएको पटाका तस्करी दीपावलीअघि पनि निरन्तर भइरहेको हो। भारतीय बजारबाट लाखौँका पटाका नेपाल भित्रिन लागेका छन्। वैध गड्डाचौकीसहितका अवैध थुप्रै नाकाहरूबाट धमाधाम लाखौँका पटाका भित्रिन लागेका हुन्। 

नेपाल प्रहरी र सशस्त्र प्रहरीले बिचगाउँबस्तीबाट लाखौँका अवैध पटाका बरामद गरेको छ। तर, पटाका ल्याउने कुनै पनि व्यक्ति तस्कर समूह पक्राउ परेका छैनन्। गत २० असोजमा प्रहरीले बेदकोट नगरपालिका– ७, गाउँजीबाट १७ लाख ८७ हजारबराबरका अवैध पटाका बरामद गर्यो, तर महिना दिन पुग्नै लाग्दासमेत ठुलो परिमाणमा पटाका नेपाल  भित्र्याउने तस्कर नियन्त्रणमा लिएको छैन। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता टेकबहादुर रावतले उक्त पटाका नेपाल भित्र्याउने व्यक्तिहरूको खोजबिन भइरहेको बताए । 

२७ असोज ०८२ को दसैँअघि नेपाल प्रहरीले भीनपा– ३, भाँसीबाट पटाका भित्र्याउने व्यक्तिसहित २९ लाखका अवैध पटाका बरामद गरेको थियो। ११ कात्तिकमा सशस्त्र प्रहरीले सीमावर्ती दोधराचाँदनी नगरपालिका– १, चाँदनी महाकाली चार लेन पुलको बाँध क्षेत्रबाट तीन लाख ७० हजारबराबरका अवैध पटाका बरामद गर्यो, तर बाँध क्षेत्रबाट बरामद गरिएका अवैध पटाका ल्याउने तस्कर समूह पक्राउ परेका छैनन् । सशस्त्र प्रहरीले भारतबाट नेपालमा पटाका भित्र्याउने व्यक्ति समूहको खोजी भइरहेको जनाएको छ । 

सुझावित समाचार