अछाममा बादी समुदायका विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला

आइतबार, १३ मंसिर, २०८३
डिजिटल संस्करण

अछाममा आर्थिक अवस्था कमजोर भएका बादी समुदायका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने उद्देश्यले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको छ। सामाजिक विकास कार्यालय अछामले बादी समुदायका योग्यता पुगेका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन आवेदन खुला गरेको हो।

कार्यालयले चालू आर्थिक वर्ष ०८३/८४ मा उक्त कार्यक्रमका लागि पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। लक्षित विद्यार्थीको संख्या र आवश्यकताका आधारमा उक्त बजेट अपुग भए थप रकमको व्यवस्था गर्न सकिने कार्यालय प्रमुख डम्बरबहादुर रावलले बताए।

रावलका अनुसार गत आर्थिक वर्ष ०८२/८३ मा यसै शीर्षकमा तीन लाख ४४ हजार रुपैयाँ खर्च गरिएको थियो। उक्त रकमबाट उच्च शिक्षा अध्ययनरत तीन विद्यार्थी र विद्यालय तहका १२ विद्यार्थी लाभान्वित भएका थिए। सो वर्ष उच्च शिक्षा अध्ययनरत कल्पना बादीलाई ९६ हजार, चेतन गन्धर्वलाई ५६ हजार र प्रेशिकला सुब्बालाई ४८ हजार रुपैयाँ छात्रवृत्ति उपलब्ध गराइएको थियो। यस्तै, विद्यालय तहमा अध्ययनरत बादी समुदायका १२ जना छात्रछात्रालाई मासिक एक हजार रुपैयाँका दरले १२ महिनाको एक लाख ४४ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको थियो।

छात्रवृत्तिबापत प्राप्त रकम विद्यार्थीले विद्यालय पोसाक, पाठ्यपुस्तक तथा शैक्षिक सामग्री खरिदलगायतमा खर्च गर्दै आएका छन्। कार्यालय प्रमुख रावलका अनुसार आर्थिक अभावका कारण पढाइबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न र विद्यार्थीलाई अध्ययनमा निरन्तरता दिन प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।

सामाजिक विकास मन्त्रालयले बादी समुदायका कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई विशेष छात्रवृत्ति तथा छोरी छात्रवृत्तिअन्तर्गत मासिक एक हजार रुपैयाँका दरले १२ महिनासम्म रकम उपलब्ध गराउँदै आएको छ। यस्तै, स्नातक तहमा अध्ययनरत छनोट भएका विद्यार्थीलाई मासिक आठ हजार रुपैयाँसम्म छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था रहेको छ।

बादी समुदाय सामाजिक तथा आर्थिक रूपमा पछाडि परेको समुदाय भएकाले लक्षित कार्यक्रममार्फत उनीहरूको शैक्षिक पहुँच र निरन्तरतामा सहयोग पुर्याउने अपेक्षा गरिएको छ। सामाजिक विकास कार्यालय अछामले आइतबार मंगलसेनमा आयोजना गरेको शैक्षिक विषयमा स्थानीय तहका शिक्षा तथा सामाजिक विकास शाखा र सरोकारवालासँगको समन्वय बैठकमा छात्रवृत्तिसहित कार्यालयका कार्यक्रम र बजेटबारे जानकारी गराउने क्रममा यो तथ्यांक प्रस्तुत गरेको हो।

जसमा आर्थिक वर्ष ०८२/८३ मा सञ्चालित कार्यक्रम तथा योजनाको कार्यान्वयन अवस्था र चालू आर्थिक वर्ष ०८३/८४ मा सञ्चालन गरिने कार्यक्रम तथा योजनाबारे समीक्षा गरिएको छ। कार्यालयका अनुसार चालू आर्थिक वर्षमा १२ करोड रुपैयाँभन्दा बढी बजेट रहेको छ। तर, उक्त बजेटको ठुलो हिस्सा भौतिक संरचना निर्माण तथा पूर्वाधार विकासमा केन्द्रित देखिएको छ। सामाजिक विकास, शिक्षा तथा सामाजिक रूपान्तरणका क्षेत्रमा विनियोजित बजेट भने तुलनात्मक रूपमा निकै न्यून रहेको भन्दै बैठकमा सहभागी सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।

भौतिक संरचना निर्माणसँगै सामाजिक चेतना, शैक्षिक सुधार, सीमान्तकृत समुदायको उत्थान र सामाजिक रूपान्तरणका कार्यक्रमलाई पनि प्राथमिकता दिनुपर्ने उनीहरूको जोड थियो। सामाजिक क्षेत्रका कार्यक्रम पर्याप्त बजेट र प्रभावकारी कार्यान्वयनबिना अपेक्षित उपलब्धि हासिल गर्न कठिन हुने सरोकारवालाको भनाइ छ।

छलफलमा सहभागी जिल्लाका १० वटै स्थानीय तहका शिक्षा, युवा तथा खोलकूद र महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुखहरूसहित जिल्ला समन्वय समिति प्रमुख ललितबहादुर कुँवर, प्रहरी निरीक्षक दिनेशप्रसाद रिमाल र पत्रकारहरूको सुझाब दिएका थिए।
 

सुझावित समाचार