गोलबजार गोलीकाण्ड : मृतकका परिवारलाई आर्थिक सहयोग

शुक्रबार, ३० असोज, २०८३
डिजिटल संस्करण

सिराहा । सिराहाको गोलबजार– ४, क्याम्पस चोकमा १४ साउनमा प्रहरीको गोली लागेर मारिएका औरही गाउँपालिका– २, तुलसीपुर गाउँका करिब १७ वर्षीय गणेश यादवको परिवारलाई औरही गाउँपालिकाले १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ।

औरही गाउँपालिका अध्यक्ष शिवजी यादव, उपाध्यक्ष रेणुकुमारी यादव, प्रमुख प्रशासकीय अधिकृत देवशरण यादव, वडाध्यक्षहरू सुरेन्द्रप्रसाद यादव तथा रामअयोधी यादवसहितको टोलीले गणेशका परिवारलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो।

‘परिवारको भविष्यको रूपमा रहेका छोरा प्रहरीको गोली लागेर मृत्यु भइसकेकाले उनलाई फिर्ता ल्याउन सकिँदैन,’ औरही– ४ का वडाध्यक्ष सुरेन्द्रप्रसाद यादवले भने, ‘मजदुरी गरेर जीविका चलाउँदै आएका परिवारको आर्थिक उपार्जनका लागि आर्थिक सहयोग गरेका हौँ।’

०८१ सालमा सहोदर दाजु कमलेशसँगै गाउँको जनता चेथरू जितन माविबाट एसइई उत्तीर्ण गरी गोलबजारमा १२ कक्षामा पढेका गणेश स्नातक तहको अध्ययन गर्दै थिए। दाजुसँगै घर आएर १३ साउनको साँझ मात्र गोलबजार फर्किएका उनी १४ साउनको दिउँसो क्याम्पस चोकमा प्रहरीको गोली लागेर मारिएका थिए। 

गणेशको मृत्युपछि भड्किएको आक्रोशमा आगजनी र तोडफोड भएको औरही– २, बनिनियास्थित मस्जिदको मर्मतसंभारका लागि पनि पालिकाले मौलवी (मस्जिदका पण्डित)सहित स्थानीय अगुवाहरूको उपस्थितिमा पाँच लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको उनले बताए।

सुझावित समाचार