चौदण्डीगढीले दियो मुसहर–सदा समुदायलाई दसैँ खर्च

सोमबार, २६ असोज, २०८३
डिजिटल संस्करण

उदयपुर । चौदण्डीगढी नगरपालिकाले अति विपन्न मुसहर र सदा समुदायका २२८ परिवारलाई दसैँ खर्च उपलब्ध गराएको छ। नगरपालिकाले दसैँ खर्चबापत प्रतिपरिवार तीन हजार रुपैयाँका दरले वितरण गरेको हो।

दसैँजस्तो चाडपर्वमा आर्थिक अभावका कारण आवश्यक सामग्रीसमेत जुटाउन कठिन हुने विपन्न परिवारलाई लक्षित गरी नगरपालिकाले उक्त कार्यक्रम सञ्चालन गरेको जनाएको छ। नगरपालिकाका सामाजिक शाखा प्रमुख नवराज बरालका अनुसार चारवटा वडामा रहेका मुसहर तथा सदा समुदायका परिवारलाई दसैँ खर्च उपलब्ध गराइएको छ।

वडा नम्बर २ का ६१, वडा नम्बर ५ का सय, वडा नम्बर ९ का ४४ र वडा नम्बर १० का २३ परिवारले उक्त रकम पाएका छन्। नगरपालिकाले मुसहर (सदा) समुदायलाई दसैँ खर्च उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८३ अनुसार रकम वितरण गरेको हो।

नगरपालिकाका अनुसार २२८ परिवारलाई प्रतिपरिवार तीन हजार रुपैयाँका दरले रकम उपलब्ध गराउन कुल ६ लाख ८४ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ। सोमबार चौदण्डीगढी नगरपालिका– ५ को वडा कार्यालयमा नगरप्रमुख कालुमान लामाले दसैँ खर्च वितरण कार्यक्रमको उद्घाटन गरेका थिए।

नगरप्रमुख लामाले स्थानीय सरकारको सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत दसैँ खर्च उपलब्ध गराइएको उल्लेख गर्दै अति विपन्न परिवारको स्वास्थ्य र शिक्षालाई समेत निःशुल्क बनाउने पक्षमा रहेको बताए। मुसहर तथा सदा समुदायको जीवनस्तर उकास्न स्थानीय तहको प्रयास मात्र पर्याप्त नहुने भन्दै प्रदेश र संघीय सरकारले पनि लक्षित कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए।

सुझावित समाचार