एआइजी दाहाललाई सेवाबाट हटाउने निर्णय
आचरणको गम्भीर उल्लंघन गरेको अभियोगमा गृह मन्त्रालयले सशस्त्र प्रहरीका एआइजी वंशीराज दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको छ। गृहमन्त्री सुधन गुरुङले जाँचबुझ प्रतिवेदनका आधारमा शुक्रबार सो निर्णय गरेका हुन्।
दाहालले सुरक्षासम्बन्धी संवेदनशील सूचना पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरानिकट बिचौलिया इनम सापकोटालाई दिएको खुलेपछि गृहले निलम्बन गरी जाँचबुझ थालेको थियो। एआइजी अञ्जनीकुमार पोखरेलले दिएको प्रतिवेदनका आधारमा गृहमन्त्रीले उनलाई सेवाबाट हटाउने निर्णय गरेका हुन्।
प्रहरीमा यसरी एआइजी तहको कर्मचारीलाई विभागीय कारबाही गरेर सेवाबाट हटाइएको पहिलो घटना हो।
पर्यटकको आवरणमा धर्म प्रचार गरेको आरोपमा २४ कोरियाली पक्राउ
भिजिट भिसामा नेपाल आएर कानुनविपरीत धर्म प्रचारमा संलग्न भएको आरोपमा मोरङ प्रहरीले २४ दक्षिणी कोरियाली नागरिकलाई नियन्त्रणमा लिएको छ।
मोरङको सुन्दरहरैँचा नगरपालिका– ७, मालती मार्गस्थित क्रिश्चियन शैक्षिक संस्था ‘नेपाल न्यु कोभेनन्ट कलेज’को धार्मिक प्रशिक्षण कार्यक्रममा सहभागी भएपछि उनीहरूलाई शुक्रबार नियन्त्रणमा लिएर मोरङ प्रहरीले अध्यागमनमा बुझाउन काठमाडौं पठाएको हो।
मोरङका एसपी कवित कटुवालका अनुसार टुरिस्ट भिसामा १२ दिन बस्ने गरी मोरङको सुन्दरहरैंचा आइपुगेका उनीहरू क्रिश्चियन लगानी भएको उक्त कलेजको धार्मिक कार्यक्रममा सहभागी भएको पाइएको छ। उनले भने, ‘उनीहरू आगामी अक्टोबर १२ सम्म मोरङमै बस्ने कार्यतालिका थियो, तर हामीले कानुनविपरीत गतिविधि भइरहेको सूचना पाएपछि नियन्त्रणमा लिएर शुक्रबार साँझै अध्यागमनमा बुझाउन काठमाडाैं पठाएका हौँ।’
कांग्रेस महाधिवेशन : सभापतिको मतगणना आजै
नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा सभापतितर्फको मतगणना आजै हुने भएको छ।
सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने निर्वाचन समितिका सदस्यसचिव राजु कटुवाललाई उदृत गर्दै कांग्रेसले जनाएको छ।
पोखरा बस दुर्घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन
शुक्रबार पोखरामा पाँचजनाको ज्यान जाने गरी भएको दुर्घटना सम्बन्धमा छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। दुर्घटनाको कारण पहिचान गर्न तथा आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुधारका उपाय र सुझावसहित प्रतिवेदन पेस गर्ने गरी पोखरा महानगरपालिकाले छानबिन समिति गठन गरेको हो।
महानगर प्रमुख एवं नगर शिक्षा समितिका अध्यक्ष धनराज आचार्यले महानगरपालिकाअन्तर्गतको शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा समिति गठन गरेका हुन्। समितिका सदस्यहरूमा सरोज चालिसे (मेकानिकल इन्जिनियर), डोलराज पाण्डे (महानगर शिक्षा समिति सदस्य), पुरुषोत्तम थापा (नगर प्रहरी निरीक्षक) र अमृत भट्टराई (ट्राफिक सहायक निरीक्षक) रहेका छन्।
२२ किलो सुनका मुख्य मालिक चीनमा, काठमाडौंको अवैध बजार खोज्दै प्रहरी
बिहीबार काठमाडौंको बुढानीलकण्ठ– २, भंगालबाट बरामद गरेको सुनका मुख्य मालिक चीनमा रहेको प्रहरीले जनाएको छ । मुख्य व्यक्ति सु कान भएको र उनले चीनबाटै काठमाडौंमा सुनको तस्करी गरी बिक्री गर्दै आएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए।
भाडामा लिएको एक घरबाट प्रहरीले २१ किलो ७५० ग्राम ६८० मिलिग्राम तौलबराबरको सुन बरामद भएको हो । सो घरबाट प्रहरीले चिनियाँ नागरिकहरू २७ वर्षीय हान फी, ४७ वर्षीय झाउ लोङक्विन र ३७ वर्षीय वाङ जिआनझेनलाई पक्राउ गरी शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । सो घरबाट सुन प्रशोधन गर्ने सामग्रीसमेत बरामद भएको छ ।
राष्ट्रपतिद्वारा विपतसम्बन्धी अध्यादेश जारी
राष्ट्रपति रामचन्द्र पौडेलले विपतसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन्।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले शुक्रबार उक्त अध्यादेश जारी गरेकाे राष्ट्रपतिको कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीले जानकारी दिए।
बुधबारको मन्त्रिपरिषद् बैठकले भूमि, वन र विपतसम्बन्धी ऐन संशोधन गर्ने तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।
दसैँअघि नै उखु किसानलाई भुक्तानी दिन मन्त्री चौधरीको निर्देशन
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दसैँअघि नै उखु किसानलाई अनुदान रकम भुक्तानी गर्न निर्देशन दिएकी छिन्।
शुक्रबार मन्त्रालयअन्तर्गत बसेको वरिष्ठ व्यवस्थापन टोलीको बैठकमा मन्त्री चौधरीले उखु उत्पादन अनुदानसम्बन्धी भुक्तानी कार्यविधि स्वीकृत भइसकेको उल्लेख गर्दै दसैँअघि नै अनिवार्य रूपमा किसानको हातमा रकम पुग्ने व्यवस्था मिलाउन निर्देशन दिएकी हुन्।
उखु उत्पादक किसानलाई प्रोत्साहनस्वरूप उपलब्ध गराइने अनुदान रकम वितरणका लागि सम्बन्धित कार्यविधि २०८३, स्वीकृत भइसकेको छ। आर्थिक वर्ष ०८३/८४ मा भएको एक अर्ब ५० करोड ५० हजार रुपैयाँ अनुदान निकासा भएको बताइएको छ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक भएको छ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बैठकका निर्णयबारे जानकारी दिएका हुन्।
बैठकले विश्व बैंकसँगको सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिने, एसियाली खेलकुदका पदक विजेता खेलाडी, प्रशिक्षकलगायतलाई पुरस्कार दिनेलगायतका निर्णय गरेको छ।
लामो समयदेखि अलपत्र लालबकैया पुल निर्माण अन्तिम चरणमा
रौतहटको निजगढस्थित लालबकैया नदीमाथि निर्माणाधीन पुलको काम अन्तिम चरणमा पुगेको छ। पुलका सबै ६ वटा स्पान निर्माण सम्पन्न हुनुका साथै फुटपाथ, रेलिङ र एक्सपान्सन जोइन्टको कामसमेत सकिएको पूर्वाधार विकासमन्त्री सुनील लम्सालले जानकारी दिएका छन्।
मन्त्री लम्सालका अनुसार तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित ०७१ सालमा ठेक्का सम्झौता गरिएको उक्त पुल पटक–पटक म्याद थप्दा पनि पूरा हुन सकेको थिएन। निर्माणमा ढिलाइ भएपछि सम्बन्धित निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको थियो। त्यसपछि बाँकी काम सम्पन्न गर्न०७९ सालमा पुनः ठेक्का आह्वान गरिएको थियो।
दोलखामा वर्षौँदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
दोलखामा वर्षौँदेखि अलपत्र परेका विकास निर्माणका आयोजना अघि नबढाउने २२ निर्माण व्यवसायीका ठेक्का सम्झौता तोडिएको छ।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक डिभिजन कार्यालय चरिकोटले विभिन्न आयोजना निर्माणको जिम्मा लिएर सम्झौताअनुसार काम नगर्ने निर्माण व्यवसायीका ठेक्का सम्झौता तोडेको हो।
आर्थिक वर्ष ०७९/८० देखि ठेक्का सम्झौता गरी दोलखा जिल्लाका विभिन्न स्थानमा निर्माण कार्य अलपत्र पार्ने निर्माण व्यवसायीमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ।