भोटेकोशी बाढी क्षतिको एकीकृत प्रारम्भिक प्रतिवेदन मुख्यमन्त्रीलाई हस्तान्तरण : २३ सय परिवार विस्थापित, ८५ पुल ध्वस्त

तीन सय उद्योगमा दुई अर्ब ७१ करोडको क्षति, १७ सय श्रमिकको रोजगारी गुम्यो

बिहिबार, २२ असोज, २०८३
डिजिटल संस्करण

मकवानपुर । गत १० भदौमा भोटेकोशी नदीमा आएको बाढीपहिरोले दुई हजार तीन सय परिवार विस्थापित हुनुका साथै ३४ मोटरेबल र ५१ झोलुंगे पुल ध्वस्त भएको बागमती प्रदेश सरकारको एकीकृत प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ। बाढीले बस्ती र सार्वजनिक पूर्वाधारसँगै उद्योग, व्यापार तथा कृषि क्षेत्रमा व्यापक क्षति पुर्याएको छ।

प्रदेशको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका सचिव महेश भट्टराईले १५ विषयगत क्षेत्रको विवरण समेटिएको प्रतिवेदन मुख्यमन्त्री किरण थापामगरलाई हस्तान्तरण गरेका हुन्। प्रतिवेदनमा रसुवा, नुवाकोट र धादिङमा व्यापक क्षति पुगेको तथा चितवनका तटीय क्षेत्रसमेत प्रभावित भएको उल्लेख छ।

बाढीबाट तीन सय घरेलु तथा साना उद्योग पूर्ण क्षतिग्रस्त हुँदा दुई अर्ब ७१ करोड ५१ लाख रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान छ। उद्योग–व्यवसायमा क्षति पुग्दा एक हजार सात सय श्रमिकले रोजगारी गुमाएका छन्। विस्थापित परिवारको सुरक्षित बसोबास र परिवारगत आवश्यकताको पहिचान प्रमुख चुनौती बनेको सचिव भट्टराईले बताए।

प्रतिवेदनअनुसार दुई हजार तीन सय निजी आवास पूर्ण रूपमा क्षतिग्रस्त वा बगेका छन्। थप २६९ घरमा आंशिक क्षति पुगेको छ। बाढीबाट प्रत्यक्ष विस्थापित परिवारको संख्या दुई हजार तीन सय छ भने हाल विभिन्न अस्थायी शिविरमा एक हजार ८५ जना आश्रय लिएर बसिरहेका छन्।

विपतले महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई गम्भीर असर पारेको भट्टराईले बताए। प्रतिवेदनमा १०२ बालबालिकाले बाबुआमा दुवै गुमाएको उल्लेख छ। होल्डिङ सेन्टरहरूमा २४६ बालबालिका र १६९ ज्येष्ठ नागरिक आश्रित छन्। ३८ होल्डिङ सेन्टरमा तत्काल मनोसामाजिक परामर्श आवश्यक रहेको प्रतिवेदनले औँल्याएको छ।

मन्त्रालयको विवरणमा एक हजार ४५५ मृतक, ५,२८५ बेपत्ता
मन्त्रालयको तथ्यांकअनुसार बाढीमा एक हजार ४५५ जनाको मृत्यु भएको र पाँच हजार २८५ जना बेपत्ता रहेको प्रतिवेदनमा उल्लेख छ । विभिन्न अस्पतालबाट ३४४ जनाले उपचार प्राप्त गरेका छन्। तीमध्ये १९ अस्पतालबाट २९७ जना डिस्चार्ज भइसकेको सचिव भट्टराईले जानकारी दिए।

उनका अनुसार १३ हजार ७९५ जनाको सकुशल उद्धार गरिएको छ । खोज तथा उद्धारका लागि सुरक्षाकर्मी र स्वयंसेवक गरी २० हजार ४७७ जना परिचालन गरिएको थियो। प्रतिवेदनअनुसार बाढीबाट ३४ मोटरेबल पुल पूर्ण रूपमा बगेका वा भत्किएका छन् भने एउटा पुलमा आंशिक क्षति पुगेको छ। थप ५१ झोलुंगे पुल र साढे तीन किलोमिटर कालोपत्रे सडक बगेको प्रतिवेदनमा उल्लेख छ । शिक्षा र स्वास्थ्यबाहेक अन्य १४ सरकारी कार्यालय भवन पनि क्षतिग्रस्त भएका छन् ।

सडक तथा पुलमा क्षति हुँदा यातायात सञ्चालनसँगै उद्धार र राहत ढुवानीमा अवरोध पुगेको भट्टराईले बताए। तत्कालका लागि वैकल्पिक पहुँच बनाउन नुवाकोटमा पाँच तुइन र दुई जिपलाइन तथा रसुवामा तुइन सञ्चालन गरिएको छ। बाढीले १२ विद्यालय पूर्ण र १८ विद्यालय आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। विद्यालयका ३५ भवन र ३१७ कक्षाकोठा पूर्ण रूपमा नष्ट हुँदा नौ हजार २४८ विद्यार्थीको पठनपाठन ठप्प भएको प्रतिवेदनमा उल्लेख छ।

स्वास्थ्य सेवाका संरचनामा पनि क्षति पुगेको छ। ६ सरकारी स्वास्थ्य केन्द्र, सात निजी स्वास्थ्य संस्था तथा औषधि पसल र दुई स्वास्थ्य शाखा तथा स्टोर पूर्ण क्षतिग्रस्त भएका छन्। थप चार स्वास्थ्य संस्थामा आंशिक क्षति पुगेको भट्टराईले बताए।

खानेपानी र सिँचाइमा ५२ करोड ६९ लाखको क्षति
बाढीबाट ५५ खानेपानी आयोजना तथा इनटेकमा क्षति पुग्दा ९६५ घरधुरी खानेपानी सेवाबाट वञ्चित भएका छन् । खानेपानी क्षेत्रमा ३० करोड ४० लाख रुपैयाँको क्षति अनुमान गरिएको छ । त्यस्तै, ४४ सिँचाइ कुलो क्षतिग्रस्त हुँदा ५९० हेक्टर खेतीयोग्य जमिन प्रभावित भएको छ । सिँचाइ क्षेत्रमा २२ करोड २९ लाख रुपैयाँको क्षति भएको प्रतिवेदनमा उल्लेख छ। यी दुई क्षेत्रमा मात्रै कुल ५२ करोड ६९ लाख रुपैयाँको क्षति अनुमान गरिएको हो ।

सञ्चारतर्फ क्षति पुगेका १९८ मोबाइल टावरमध्ये १९३ पुनः सञ्चालनमा ल्याइएको छ । यस क्षेत्रमा ४० देखि ४२ करोड रुपैयाँ क्षति भएको प्रारम्भिक अनुमान छ । बाढीपहिरोबाट ९७३ हेक्टर कृषि भूमि प्रभावित भएको छ । त्यसमध्ये ४७१ हेक्टरमा लगाइएको बाली पूर्ण रूपमा नष्ट भएको प्रतिवेदनमा उल्लेख छ । गाईभैँसीलगायत ७०२ ठुला पशु, दुई हजार १२३ भेडाबाख्रा र एक लाख ३४ हजार कुखुरा तथा पन्छी मरेका छन् । १६२ गोठ, खोर तथा व्यावसायिक फार्ममा क्षति पुगेको छ ।

प्रतिवेदनअनुसार घरेलु तथा साना उद्योगबाहेक ६७ व्यापारिक पसल तथा प्रतिष्ठान नष्ट हुँदा २५ करोड ६० लाख रुपैयाँको क्षति भएको छ । ३० गोदाम बगेका छन् । थप १९९ होटेल तथा रेस्टुरेन्ट र ६ गुम्बा तथा मन्दिरमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ । बाढीले ४० बस, २७ ट्रक र १०३ कन्टेनर बगाएर बेपत्ता पारेको छ । बाढीले १७ बैंक शाखा र नौ एटिएम क्षतिग्रस्त बनाएको छ । बैंकहरूको प्रत्यक्ष क्षति ७२ करोड ४० लाख रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

यससँगै दुई हजार १२५ ऋणीको दुई अर्ब ४२ करोड ८० लाख रुपैयाँभन्दा बढी कर्जा जोखिममा परेको छ । जोखिममा परेको कर्जा प्रत्यक्ष भौतिक क्षतिको रकमभन्दा अलग रहेको प्रतिवेदनमा उल्लेख छ ।
 

सुझावित समाचार