आइसिसी पुरुष एकदिवसीय विश्वकप २०२७ को ग्लोबल छनोट प्रतियोगिता दक्षिण अफ्रिका र नामिबियाले आयोजना गर्ने भएका छन् । ग्लोबल छनोटमा १० टोलीबिच प्रतिस्पर्धा हुनेछ । दक्षिण अफ्रिका र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने छनोट प्रतियोगिता आगामी २६ फेब्रुअरीदेखि २१ मार्चसम्म हुनेछ । एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिका र जिम्बाबेसहित शीर्ष आठ टोली स्वतः छनोट भइसकेका छन् । भारत, न्युजिल्यान्ड, पाकिस्तान, अस्ट्रेलिया, इंग्ल्यान्ड, श्रीलंका, अफगानिस्तान र बंगलादेशले विश्वकपमा स्थान बनाइसकेका छन् । आइसिसीले आगामी ५० ओभरको एकदिवसीय विश्वकप १२ राष्ट्रबिच हुने निर्णय गरेको छ । अब बाँकी चार स्थानका लागि १० टोलीले क्वालिफायर खेल्न लागेका हुन् ।
ग्लोबल छनोटमा वेस्ट इन्डिज र आयरल्यान्डसहित विश्व क्रिकेट लिग–२ का शीर्ष चार टोलीसँगै प्लेअफबाट आउने चार टोली सहभागी हुनेछन् । आयरल्यान्ड ३० सेप्टेम्बरमा जारी आइसिसी एकदिवसीय वरीयताका आधारमा छनोटमा धकेलिएको हो । आइसिसी विश्वकप लिग–२ मा स्कटल्यान्ड, अमेरिका, नेदरल्यान्ड्स र ओमान लगभग ग्लोबल छनोटमा पुगेका छन् । विश्वकप लिग–२ को अन्तिम चार स्थानमा नामिबिया, क्यानडा, नेपाल र युएई छन् । विश्वकप छनोट प्ले अफ आगामी १ देखि २२ डिसेम्बरसम्म हुनेछ ।
क्वालिफायरको विजेता सिधै विश्वकपको मुख्य समूह चरणमा पुग्नेछ । बाँकी तीन टोलीले नामिबियामा तीन खेलको सुपर सिरिज खेल्नेछन् । त्यसको विजेता पनि विश्वकपको मुख्य समूह चरणमा पुग्ने आइसिसीले जनाएको छ ।
विश्वकप छनोट प्ले अफमा विश्वकप लिग–२ का पुछारका चार टोली र च्यालेन्ज लिगका शीर्ष चार टोली सहभागी हुनेछन् । यसरी प्ले अफमा कुल आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्ले अफबाट चार टोलीले फेब्रुअरीमा हुने १० टोलीको ग्लोबल छनोटमा स्थान बनाउनेछन् ।
नेपालको विश्वकपमा पुग्ने आशा जीवितै
नेपालको एकदिवसीय विश्वकप खेल्ने सपना अझै जीवितै छ । विश्वकप लिग–२ को अन्तिम चरणमा शीर्ष चारमा स्थान बनाउन सके नेपाल सिधै ग्लोबल छनोटमा पुग्नेछ । आइसिसीका अनुसार विश्वकप लिग–२ का शीर्ष चार टोलीले विश्वकप छनोटमा स्थान बनाउनेछन् । शीर्ष चारमा पुग्न नसके नेपालले प्ले अफको बाटो रोज्नुपर्नेछ । नेपालका लागि अहिले विश्वकप छनोट हुने दुई अवस्था सिर्जना भएको छ । पहिलो, विश्वकप लिग–२ बाट सिधै ग्लोबल छनोटमा हुनेछ । दोस्रो, प्ले अफको माध्यमबाट ग्लोबल छनोटमा पुग्ने हो ।
१० टोलीबिच हुने ग्लोबल छनोटबाट चार टोलीले २०२७ मा विश्वकपको मुख्य प्रतियोगितामा स्थान बनाउनेछन् । छनोट प्रतियोगिताको विजेता टोली सिधै विश्वकपको समूह चरणमा पुग्नेछ । बाँकी तीन टोलीले विश्वकपको सुरुवातमा नामिबियामा तीन खेलको सुपर सिरिज खेल्नेछन् । उक्त सिरिजको विजेता पनि विश्वकपको मुख्य समूह चरणमा प्रवेश गर्नेछ । विश्वकप लिग–२ मा नेपाल सातौँ स्थानमा छ । यहाँबाट शीर्ष चारभित्र रहेर सिधै विश्वकप छनोट खेल्न नेपाललाई सहज छैन । त्यसैले टोलीले विश्वकप छनोटका लागि प्ले अफको सहारा लिनुपर्ने देखिन्छ ।
नेपाली टोली घोषणा
नेपाल क्रिकेट संघ (क्यान)ले २३ असोजदेखि ओमानमा हुने आइसिसी विश्वकप लिग–२ अन्तर्गतको एकदिवसीय सिरिजका लागि नेपालको राष्ट्रिय टोली घोषणा गरेको छ । नेपाली टोलीमा एसिसी प्रिमियर कप जितेका खेलाडीले निरन्तरता पाएका छन् । ओपनर कुशल भुर्तेलसहित सोमपाल कामीले स्थान बनाउन सकेनन् । सिरिजमा नेपाल र ओमानसहित क्यानडाले प्रतिस्पर्धा गर्नेछन् । नेपालले आफ्ना आठ सिरिजका ३२ खेल खेलिसकेको छ ।
खेलाडी
सन्दीप लामिछाने (कप्तान), आसिफ सेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, ईशान पाण्डे, रोहित पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुल्सन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललित राजवंशी, साहब आलम, शेर मल्ल ।