२३ वर्षपछि हेटौँडामा मासु जाँच ऐन कार्यान्वयन हुँदै

आगामी १ माघदेखि तोकिएको वधशालामै पशु वध गर्नुपर्ने

आइतबार, ११ असोज, २०८३
डिजिटल संस्करण

हेटौँडामा आगामी १ माघदेखि ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ कार्यान्वयनमा ल्याइने भएको छ । उपभोक्तालाई स्वच्छ तथा गुणस्तरीय मासु उपलब्ध गराउने, अव्यवस्थित पशुवध नियन्त्रण गर्ने र वधशालालाई व्यवस्थित बनाउने उद्देश्यले ऐन कार्यान्वयनको तयारी गरिएको हो । 

पशु सेवा कार्यालय मकवानपुरले आगामी १ माघदेखि ऐन कार्यान्वयनमा ल्याउने तयारीबारे जानकारी गराएको हो । संघीय सरकारले ऐनलाई चरणबद्ध रूपमा कार्यान्वयन गर्ने निर्णय गरेसँगै हेटौँडामा पनि लामो समयदेखि रोकिएको व्यवस्था लागू गर्न लागिएको कार्यालयले जनाएको छ । कार्यालय मकवानपुरका प्रमुख डा. रामप्रकाश प्रधानका अनुसार ऐन कार्यान्वयनमा आएपछि तोकिएको वधशालामा मात्रै पशु वध गर्न पाइनेछ । पशु वध गर्नुअघि स्वास्थ्य परीक्षण गर्नुपर्ने र वधपछि बिक्रीका लागि तयार मासुको अनिवार्य जाँच गर्नुपर्ने व्यवस्था लागू हुनेछ ।

‘आउँदो माघ १ देखि हेटौँडामा पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनमा ल्याउने तयारी गरेका छौँ । ऐन लागू भएपछि तोकिएको वधशालामा मात्रै पशु वध गर्न पाइनेछ,’ उनले भने । कानुनले पशु वध गर्नुअघि पशुको परीक्षण गर्नुपर्ने व्यवस्था गरेको छ । पशु वधशाला स्थापना भएको क्षेत्रमा वधशालामै र वधशाला नभएको क्षेत्रमा मासु सुपरीवेक्षकले तोकेको स्थानमा पशुको जाँच गर्नुपर्ने कानुनी व्यवस्था रहेको प्रमुख प्रधानले बताए ।

हेटौँडामा यो व्यवस्था नयाँ भने होइन । १ वैशाख ०६० देखि नै हेटौँडामा मासु जाँच ऐन लागू गर्ने सूचना राजपत्रमा प्रकाशित भएको थियो । तर, व्यवसायी र वधशालासँग सम्बन्धित पक्षबिचको असहमति तथा विरोधका कारण व्यवहारमा कार्यान्वयन हुन सकेको थिएन । तत्कालीन सरकारले हेटौँडाको पूर्वमा चौघडा, पश्चिममा नवलपुर, दक्षिणमा पशुपतिनगरको पल्लो छेउ र उत्तरमा चौकीटोलसम्मको चारकिल्ला तोकेर ऐन लागू भएको सूचना प्रकाशित गरेको थियो । 

See More On

सुझावित समाचार