भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढेपछि कर्णाली राजमार्ग र कर्णाली करिडोरमा यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ।
बिहीबार रातिदेखि लगातार वर्षा भइरहेको र सडक तथा राजमार्गमा बाढी–पहिरोको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय जुम्ला र कालीकोटले शुक्रबारदेखि अर्को सूचना जारी नभएसम्म अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य सबै प्रकारका सवारीसाधनको आवागमन बन्द गरेका हुन्।
जिल्ला प्रशासन कार्यालय कालीकोटका अनुसार कर्णाली करिडोर तथा कालीकोट–जुम्ला सडकखण्डमा वर्षाका कारण सम्भावित विपतबाट मानवीय तथा भौतिक क्षति हुन नदिन सवारी सञ्चालनमा रोक लगाइएको हो।
कालीकोटका प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले वर्षाका कारण सडकमा जोखिम बढेकाले अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालन नगर्न आग्रह गरेका छन्।
यसैबिच, मौसम पूर्वानुमान महाशाखाले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय जुम्लाले नदी तटीय तथा बाढी–पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रशासनले अत्यावश्यक नपरी यात्रा तथा हिँडडुल नगर्न, नदीमा काठ छोप्ने, माछा मार्ने तथा ढुंगा–बालुवा निकाल्नजस्ता गतिविधि नगर्नसमेत आग्रह गरेको छ।