नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपाली सेयर बजारमा अन्तरदिवसीय कारोबार (इन्ट्रा–डे) सुरु गर्ने तयारी गरेको छ । बोर्डले यसको सम्भाव्यता, जोखिम र आवश्यक पूर्वाधारबारे सरोकारवालाको सुझाव लिन ‘नेपालमा धितोपत्रको अन्तरदिवसीय कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र, २०८३’ सार्वजनिक गरेको हो ।
अवधारणापत्रले इन्ट्रा–डे कारोबारलाई तत्काल पूर्ण रूपमा खुला गर्नुभन्दा पहिले आवश्यक कानुनी, नियामकीय, प्राविधिक तथा जोखिम व्यवस्थापनका पूर्वाधार तयार गरी चरणबद्ध रूपमा कार्यान्वयन गर्ने प्रस्ताव गरेको छ । अन्तरदिवसीय कारोबारसम्बन्धी विषयमा बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सिडिएस एन्ड क्लियरिङ र स्टक ब्रोकर एसोसिएसन अफ नेपालका प्रतिनिधि सम्मिलित धितोपत्रको दोस्रो बजार सुधार योजना कार्यान्वयनका लागि समन्वय तथा सहजीकरण गर्न गठित समितिले अवधारणापत्र तयार गरेको हो ।
इन्ट्रा–डे कारोबार भन्नाले एउटै कारोबार दिनभित्र धितोपत्र (सेयर) खरिद तथा बिक्री गरी सोही दिन कारोबार स्थिति बन्द गर्ने प्रणाली हो । प्रस्तावित प्रारम्भिक मोडेलमा पहिले खरिद गरेर पछि बिक्री गर्ने व्यवस्था लागू गर्ने प्रस्ताव छ । पहिले बिक्री गरेर पछि खरिद गर्ने व्यवस्था भने धितोपत्र सापटी तथा उधारो र सर्टसेलिङका लागि आवश्यक संस्थागत पूर्वाधार तयार भएपछि मात्रै विचार गरिने उल्लेख छ ।
सबै सेयरमा इन्ट्रा–डे नहुने
बोर्डले प्रारम्भिक चरणमा सबै सूचीकृत कम्पनीका सेयरलाई इन्ट्रा–डे कारोबारका लागि योग्य नबनाउने प्रस्ताव गरेको छ । पर्याप्त तरलता, नियमित कारोबार, प्रभावकारी मूल्य अन्वेषण, मूल्य हेरफेरको कम जोखिम, बजार र लगानीकर्ता संरक्षणलाई आधार बनाएर योग्य धितोपत्रको छुट्टै सूची बनाउने अवधारणापत्रमा उल्लेख छ । त्यस्तो सूची बजारको अवस्था र जोखिमअनुसार समय–समयमा पुनरवलोकन तथा अद्यावधिक गर्ने प्रस्ताव छ । कम तरलता भएका धितोपत्रमा इन्ट्रा–डे कारोबारले मूल्य अस्थिरता र बजार दुरुपयोगको जोखिम बढाउन सक्ने भएकाले सुरुवातमै सबै धितोपत्रलाई समान रूपमा योग्य बनाउन नहुने बोर्डको निष्कर्ष छ ।
‘रिस्क फर्स्ट, ट्रेडिङ सेकेन्ड’
अवधारणापत्रले इन्ट्रा–डे कारोबारको कार्यान्वयनमा ‘रिस्क फर्स्ट, ट्रेडिङ सेकेन्ड’को दृष्टिकोण प्रस्ताव गरेको छ । अर्थात्, कारोबार विस्तार गर्नुभन्दा पहिले जोखिम पहिचान, नियन्त्रण, बजार निगरानी, प्रविधिगत तयारी र लगानीकर्ता संरक्षणको संयन्त्र बलियो बनाउनुपर्नेछ । बोर्डले नेपालको वर्तमान अवस्थालाई ‘ससर्त रूपमा तयार’ भनेको छ । विद्युतीय कारोबार, अभौतिक धितोपत्र, अनलाइन कारोबार तथा केन्द्रीय निक्षेप तथा फर्स्योट प्रणालीजस्ता आधारभूत पूर्वाधार तयार भए पनि वास्तविक समयको जोखिम व्यवस्थापन, मार्जिन व्यवस्थापन, बजार निगरानी, ब्रोकरको ओएमएस तथा आरएमएस, साइबर सुरक्षा र सञ्चालनगत कार्यविधिमा थप सुधार आवश्यक रहेको अवधारणापत्रमा उल्लेख छ ।
रियल टाइम जोखिम निगरानीदेखि अटो स्क्वायर अफसम्म
प्रस्तावित नेपाल इन्ट्रा–डे ट्रेडिङ मोडेलमा पूर्ण विद्युतीय कारोबार, अनिवार्य स्क्वायर अफ, कारोबारपूर्व जोखिम परीक्षण, वास्तविक समयको मार्जिन निगरानी, स्वचालित जोखिम नियन्त्रण र वास्तविक समय बजार निगरानी रहनेछ ।
लगानीकर्ताले आदेश दिएपछि ब्रोकरले प्रि–ट्रेड रिस्क चेक गर्ने, नेप्सेले अर्डर प्रमाणीकरण र म्याचिङ गर्ने तथा कारोबारपछि खुला स्थिति र मार्जिनको वास्तविक समय अनुगमन गरिने प्रस्ताव छ । जोखिम तोकिएको सीमाभन्दा बढेमा चेतावनी, मार्जिन कल, कारोबार प्रतिबन्ध वा आवश्यक अवस्थामा अटो स्क्वायर अफ गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ ।
योग्य लगानीकर्ताका लागि जोखिम परीक्षण
इन्ट्रा–डे कारोबारमा सामान्य डेलिभरीमा आधारित लगानीभन्दा जोखिम फरक हुने भएकाले बोर्डले रिस्क बेस्ड इन्भेस्टर एलिजिबिलिटी फ्रेमवर्क प्रस्ताव गरेको छ । यसमा केवाइसी, जोखिम, ट्रेडिङ एग्रिमेन्ट, जोखिम स्वीकारोक्ति, लगानीकर्ता शिक्षा तथा नियामकीय अनुपालनलाई आधार बनाइनेछ । लगानीकर्तालाई मार्जिनको प्रयोग, घाटा व्यवस्थापन, अटो स्क्वायर अफ र कारोबार अनुशासनबारे पर्याप्त जानकारी दिनुपर्ने प्रस्ताव छ । साथै, जोखिम प्रकटीकरण, ब्रोकर हेल्पडेस्क, गुनासो समाधान, कारोबार पुष्टि सूचना, खाता गतिविधिको जानकारी, ठगी रोकथाम र डेटा गोपनीयता संरक्षणका संयन्त्रसमेत राखिने अवधारणापत्रमा उल्लेख छ ।
ब्रोकरदेखि नेप्से र सिडिएससीसम्म प्रणाली जोड्नुपर्ने
इन्ट्रा–डे कारोबार सञ्चालनका लागि नेप्सेको ट्रेडिङ इन्जिन, अर्डर म्यानेजमेन्ट सिस्टम, ब्रोकर, स्वचालित मार्जिन प्रणाली, रियल टाइम सर्भिलेन्स, सिडिएससी इन्टरफेस तथा भुक्तानी प्रणालीबिच सुरक्षित र वास्तविक समयको सूचना आदानप्रदान आवश्यक पर्ने बोर्डको निष्कर्ष छ ।
साथै, साइबर सुरक्षा, व्यवसाय निरन्तरता, डिजास्टर रिकभरी, अडिट ट्रायल र डेटा इन्टिग्रिटीलाई प्रणालीगत पूर्वसर्तका रूपमा विकास गर्नुपर्ने प्रस्ताव गरिएको छ । बोर्डले इन्ट्रा–डे कारोबारलाई एकैपटक बजारमा लागू नगरी पहिले कानुनी तथा नियामकीय व्यवस्था, योग्य धितोपत्र र लगानीकर्ताको मापदण्ड, ब्रोकर, जोखिम प्रकटीकरण तथा लगानीकर्ता शिक्षा प्रणाली तयार गर्ने प्रस्ताव गरेको छ । त्यसपछि नेप्से ट्रेडिङ सिस्टम, ब्रोकर, रियल टाइम मार्जिन इन्जिन, बजार निगरानी, सिडिएससी इन्टरफेस तथा भुक्तानी प्रणालीको परीक्षण गरिनेछ ।
यसको पाइलटिङबाट प्राप्त अनुभव, जोखिम सूचक, प्रणालीको स्थायित्व, बजार व्यवहार र लगानीकर्ता संरक्षणको अवस्थाको मूल्यांकनपछि मात्रै योग्य धितोपत्र, सहभागी र कारोबारको दायरा विस्तार गर्ने प्रस्ताव छ ।