सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयका सचिव राजेन्द्रकुमार हमाल सरुवा भएको एक साताभन्दा बढी समयसम्म रमाना बुझेका छैनन् । संघीय मन्त्रिपरिषद् बैठकले गत ३१ भदौमा हमालको सरुवा राष्ट्रिय महिला आयोग काठमाडौंमा गरेको थियो । तर, उनी अहिले पनि मन्त्रालयमै कार्यरत छन् ।
मन्त्रिपरिषद्को निर्णयअनुसार भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएको पत्र यही २ असोजमा हमाललाई पठाएको छ । उक्त पत्रको बोधार्थमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला मन्त्रालयलगायत निकाय उल्लेख छ ।
सरकारले सरुवा गरिसके पनि सचिव हमाल भने रमाना बुझेर सरुवा भएको कार्यालयमा गएका छैनन् । मन्त्रालयका एक कर्मचारीका अनुसार उनी बुधबार पनि मन्त्रालयमै थिए । बजेट शून्यतामा रहेको सुदूरपश्चिममा प्रदेश सरकारले अहिले चालू वर्षको बजेट निर्माण गरिरहेको छ । सरुवा भएका सचिव हमाल मन्त्रालयमा बजेट निर्माणमा सक्रिय छन् ।
मुख्यमन्त्री कार्यालय एक अधिकारीका अनुसार सरुवा भएको २१ दिनभित्र सम्बन्धित कार्यालयबाट रमाना बुझिसक्नुपर्ने व्यवस्था भए पनि सामान्यतया सरुवा भएको केही दिनमै कर्मचारी सरुवा भएको कार्यालयमा हाजिर हुने गर्छन् । ‘सरुवा भएको सात–आठ दिनसम्म, त्यो पनि बजेट निर्माणका वेला सचिवज्यू रमाना बुझेर सरुवा भएको ठाउँमा नजानुले स्वार्थको प्रश्न उठेको छ,’ ती अधिकारीले भने, ‘हमाललाई सरुवा रोकेर आर्थिक मामिला मन्त्रालयमै राख्न चलखेल भइरहेको छ ।’
तत्कालीन सरकारले प्रस्तुत गरेको बजेट प्रदेश सभाबाट पारित हुन नसकेपछि १ साउनबाट सुदूरपश्चिम बजेट शून्यतामा छ । सरकार आफैँले बनाएको बजेट निर्माणको मापदण्ड उल्लंघन गरेर बजेट ल्याएको भन्दै त्यसवेला सत्तारूढ एमालेले विरोध जनाएको थियो । त्यसवेला सत्तारूढ कांग्रेस र एमालेबिच बजेटको विवाद चर्किएपछि तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकार ढलेको थियो ।
उक्त बजेट निर्माणका क्रममा प्रदेश सरकार आफैँले बनाएको योजना छनोट सम्बन्धित मापदण्ड र निर्देशिका पालना नभएको तथा नीति तथा कार्यक्रमविपरीत बजेट आएको आरोप लाग्दै आएको छ । योजना छनोटसम्बन्धी मापदण्ड उल्लंघनमा सचिव हमालको पनि सहमति रहेको आरोप लाग्ने गरेको छ । त्यस्तै, विषयगत मन्त्रालयको बजेट आर्थिक मामिला मन्त्रालयले छेडखानी गरेको आरोप लागेको थियो ।
‘सकेसम्म सरुवा रोक्ने र नभए नियमानुसार रमानापत्र बुझिसक्नुपर्ने अन्तिम मितिसम्म मन्त्रालयमा रहेर बजेट निर्माणमा संलग्न रहने मनसाय देखिन्छ,’ स्रोतले भन्यो, ‘अघिल्लो बजेट निर्माणमा हाबी भएको स्वार्थ समूह त्यो बजेटका विवादित विषय मिलाउन पनि सचिवलाई यहीँ रोक्ने प्रयत्नमा छ ।’ सरकारले १५ असोजभित्र बजेट ल्याउने गरी तयारी गरिरहेको छ ।
स्रोतका अनुसार सरकारको राजनीतिक र प्रशासनिक तहमा पनि हमाललाई यहीँ रोक्ने दबाब परेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता जगदीश जोशीले भने सचिव हमालको सरुवा भएको आधिकारिक जानकारी प्राप्त भइनसकेको बताएका छन् । सरुवा भएको एक सातासम्म पनि रमाना नबुझेकोबारे प्रतिक्रिया लिन सम्पर्क गर्दा सचिव हमालले फोन उठाएनन् ।