जापानबाट अध्यागमनमा सेटिङ, छानबिनमा तानिए अध्यागमन अधिकृत

मंगलबार, ६ असोज, २०८३
डिजिटल संस्करण

जापानमा बस्ने एक व्यक्तिमार्फत भिजिट भिसामा सेटिङ भेटिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत चेतबहादुर सिजुवाल सेजुवालले सोमबार एक सेटिङमा कुवेत पठाएका हुन्। 

श्रम स्वीकृतिविना नै प्रस्थान अनुमति दिएको खुलेपछि ती अधिकृतलाई जिम्मेवारीबाट हटाएर छानबिन थालिएको विभागका निर्देशक टीकाराम ढकालले बताए।  

सेजुवालले ती यात्रुलाई करिब २० मिनेट रोक्दछन्। जापानमा भएका एक व्यक्तिसँग फोनमा कुरा गरेपछि प्रस्थान अनुमति दिन्छन्। उनीहरूबिच आर्थिक लेनदेनसमेत भएको विभागको प्रारम्भिक छानबिनले देखाएको छ। 

‘अनुसन्धानका क्रममा विभागको नेपाली पोर्ट प्रणाली तथा सिसिटिभी फुटेजबाट निज यात्रु बिहान करिब ६ः३० बजे अध्यागमन क्षेत्रमा प्रवेश गरेको र श्रम स्वीकृति नभएको अवस्थामा समेत अध्यागमन डेस्कमा करिब ३० मिनेटसम्म कुराकानी गरेको तथा तेस्रो व्यक्तिसँग सम्पर्क भएको देखिएको छ। तत्पश्चात् बिहान करिब ७ः१० बजे निजलाई प्रस्थान अनुमति दिइएको खुलेको छ,’ विभागले यस विषयमा जानकारी दिँदै सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यसैबिच, वैदेशिक रोजगार विभागको श्रम स्वीकृतिसम्बन्धी प्रणालीबाट प्राप्त विवरणअनुसार निज यात्रु उडिसकेपछि मात्र श्रम स्वीकृतिको प्रक्रिया अगाडि बढाएको देखिएको छ। यसबाट यात्रुलाई प्रस्थान अनुमति दिइएको समयमा निजको श्रम स्वीकृति प्रक्रिया पूरा नभएको प्रारम्भिक रूपमा देखिएको छ।’ उनको मोबाइल जफत गरेर छानबिन गरी एक आफन्तको खातामा पैसा हाल्न लगाएको प्रारम्भिक छानबिनमा खुलेको छ। 

उक्त कार्यमा अन्य व्यक्तिहरूको समेत संलग्नता हुन सक्ने देखिएकाले सो सम्बन्धमा विस्तृत अनुसन्धान गरी आवश्यक कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा सिफारिस गरिएको प्रवक्ता ढकालले बताए।

पछिल्लो समय भिजिट भिसामा सेटिङ गर्ने गिरोह सक्रिय भएको र तिनीहरूसँग केही कर्मचारीसमेत मिलेपछि विभागले आफ्नौ कर्मचारीमाथि पनि छानबिन थालेको छ। गत साता मात्र पाँचजना कर्मचारीलाई जिम्मेवारीबाट हटाएको थियो। 
 

सुझावित समाचार