राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका दुवै वाइडबडी जहाज एकैसाथ ग्राउन्डेड भएपछि निगमको अन्तर्राष्ट्रिय उडानतालिका अस्तव्यस्त बनेको छ । नियमित मर्मत र प्राविधिक रेखदेखमा व्यवस्थापन पक्षको गम्भीर लापरबाही तथा पूर्वतयारीको अभावका कारण अर्बौँ लगानी गरिएका ठुला जहाज थन्किँदा निगमले दैनिक करोडौँ घाटा व्यहोर्नुपरेको छ । निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले दुवै जहाज प्राविधिक समस्या र सी–चेकका कारण रोकिएको बताए ।
निगमले इटालीमा ‘सी–चेक’का लागि पठाएको वाइडबडी १४ भदौ (अगस्ट ३१) भित्रै मर्मत सकेर काठमाडौं ल्याउने कार्यतालिका थियो । तर, समयमै प्राविधिक जटिलता र ‘फर्दर फाइन्डिङ’ (थप समस्या)को आकलन गर्न नसक्दा उक्त जहाज अझै इटालीमै रोकिएको छ । अर्कोतर्फ, सञ्चालनमा रहेको एक मात्र वाइडबडीलाई पूर्वजाँचमा गम्भीरता नदेखाई जापान (नारिता) उडाइँदा त्यहाँ पुगेपछि मात्रै इन्जिनको ‘फ्यान ब्लेड’मा ‘फरेन अब्जेक्ट ड्यामेज’ फेला परेको छ । यसरी नियमित ‘सी–चेक’का क्रममा थप ‘फर्दर फाइन्डिङ’ आएपछि जहाजको मर्मत लम्बिएको निगमले जनाएको छ ।
जापान पुगेपछि इन्जिनमा समस्या
निगमको अर्को वाइडबडी जहाज जापान पुगेपछि थप प्राविधिक समस्या देखिएको छ । अघिल्लो आइतबार नेपालबाट जापान गएको जहाजलाई नेपालमै नियमित निरीक्षण गरेर पठाइएको थियो । तर, जापान पुगेपछि त्यहाँका इन्जिनियरले गरेको निरीक्षणका क्रममा इन्जिनको ‘फ्यान ब्लेड’मा ‘फरेन अब्जेक्ट ड्यामेज’ (एफओडी) देखिएको निगमले जनाएको छ ।
एफओडी भनेको बाह्य वस्तुका कारण विमानको इन्जिन वा अन्य संवेदनशील भागमा हुने क्षति हो । निगमका अनुसार जापान पुगेपछि इन्जिनको फ्यान ब्लेडमा त्यस्तो क्षति देखिएपछि सम्बन्धित पार्ट परिवर्तन गरिएको थियो । तर, इन्जिनसम्बन्धी थप प्राविधिक निर्णयका लागि इन्जिन निर्माता कम्पनीसँग परामर्श गर्नुपरेको निगमले जनाएको छ ।
उनले भने, ‘इन्जिनको फ्यान ब्लेडमा फरेन अब्जेक्ट ड्यामेज भएको रहेछ । त्यसलाई हामीले चेन्ज ग¥यौँ । त्यसपछि इन्जिनमा कस्तो असर परेको छ भन्ने विषयमा सम्बन्धित उत्पादकलाई सोध्नुपर्ने भयो ।’ कम्पनीले इन्जिनको सम्बन्धित पार्ट रिपेयर गर्ने वा रिप्लेस गर्ने भन्ने निर्णय दिन बाँकी रहेको निगमको भनाइ छ ।
निर्णय आएपछि तत्काल काम अघि बढाइने
निगमका अनुसार रोल्स–रोयसको कार्यालय आइतबार खुलेपछि इन्जिनसम्बन्धी थप निर्णय आउने अपेक्षा गरिएको छ । रिपेयर गर्नुपर्ने भए त्यहीअनुसार प्रक्रिया अघि बढाइने र पार्ट नै परिवर्तन गर्नुपर्ने भए आवश्यक सामान तत्काल लैजाने तयारी निगमले गरेको छ ।
कालाखेतीका अनुसार आवश्यक पार्टको स्रोतसमेत पहिचान भइसकेको छ । वाइडबडी जहाज ग्राउन्डेड हुँदा सबैभन्दा बढी असर जापानतर्फको उडानमा परेको निगमले जनाएको छ । निगमका अनुसार जापान सेक्टरमा वाइडबडीबाहेकको जहाज प्रयोग गर्ने सम्भावना सीमित छ । अन्य सेक्टरमा भने उपलब्ध जहाजअनुसार केही घण्टा उडान ढिला गरेर भए पनि व्यवस्थापन भइरहेको निगमले जनाएको छ । तर, जापान उडानका लागि दुईवटा वाइडबडीमध्ये एउटा उपलब्ध नहुँदा सञ्चालन व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ । ‘जापान सेक्टरमा वाइडबडीबाहेक अरूको सम्भावना छैन । अरू सेक्टरमा त केही घण्टा डिले गरेर तानतुन गरेर गरिराखेका छौँ । जापानमा चाहिँ दुईवटा वाइडबडीमध्ये एउटा बसिदिँदा पनि समस्या हुन्छ,’ कालाखेतीले भने ।
निगमले वाइडबडीको प्राविधिक समस्या समाधान गरी नियमित उडानमा फर्काउने प्रयास भइरहेको जनाएको छ । जापानमा रहेको जहाजको हकमा निर्माता कम्पनीबाट आउने प्राविधिक सुझावपछि मात्रै थप प्रक्रिया स्पष्ट हुने निगमको भनाइ छ । विदेशको अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेपछि जहाज ग्राउन्डेड हुनुले निगमको इन्जिनियरिङ विभाग र गुणस्तर नियन्त्रण प्रणालीमाथि प्रश्न उठ्ने गरेको छ ।
निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेती भन्छन्– एउटा जहाज नियमित सी–चेकमा गएको हो । त्यसमा फर्दर फाइन्डिङ आएपछि काम लम्बिएको हो । सम्भवतः मंगलबारसम्म फाइन्डिङ क्लोज हुन्छ । इटालीमा रहेको अर्को वाइडबडीको हकमा भने निर्धारित मर्मतको काम सम्पन्न भइसके पनि थप फाइन्डिङका कारण केही समय लाग्नेछ ।