सुनसरीको देवागन्जमा छिमेकी दुई समूहबिच झडप हुँदा एकजना गोली लागेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
शनिबार साँझ देवानगन्ज गाउँपालिका- १, मध्यहर्साहीमा दुई समूहबिच झडप हुँदा एकजना गोली लागेर गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ।
स्थानीयले भने झडपमा गोली चलेर एकजनाको मृत्यु भएको बताएका छन्। तर, प्रहरीले भने एकजनालाई तिघ्रामा चोट लागेर गम्भीर घाइते भएकाले उपचारका लागि विराटनगर लगिएको बताएको छ।
घटना किन र कसरी भयो भन्नेबारे प्रहरी घटनास्थल पुगेर बुझ्ने र स्थिति नियन्त्रणमा लिने काम भैरहेको र दुईजनालाई नियन्त्रणमा लिएको सुनसरी प्रहरी प्रवक्त्ता डिएसपी चन्द्रबहादुर खड्काले बताएका छन्।
प्रहरीका अनुसार सीमाक्षेत्र भएकाले आपसी लेनदेन विवादमा दुई समूहबिच विवाद हुँदा झडप भएर गोली प्रहार भएको अनुमान छ।
गत १० साउनमा सुनसरीको देवानगन्ज गाउँपालिका- ३, कप्तानगन्जमा दुई समूहबिच भएको झडप नियन्त्रणमा लिँदा प्रहरीले चलाएको गोली लागेर ३ जनाको मृत्यु भएको थियो भने दशजना घाइते भएका थिए।