धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– १ का ३८८ परिवारले नापजाँच सम्पन्न भएको करिब नौ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। साबिक रमदैया भवाडी गाविस वडा नं. २, ३, ४, ६, ७ र ८ अन्तर्गतका परिवारलाई लामो समयपछि लालपुर्जा वितरण गरिएको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको सचिवालयले जानकारी दिएकाे छ । जग्गाको नापजाँच सम्पन्न भए पनि विभिन्न प्रक्रियागत कारणले लालपुर्जा वितरणमा ढिलाइ हुँदै आएको थियो।
लालपुर्जा प्राप्त भएपछि स्थानीयवासीले आफ्नो जग्गाको स्वामित्वसम्बन्धी कानुनी प्रमाण पाएका छन्। यसबाट जग्गासम्बन्धी कारोबार तथा अन्य प्रशासनिक काममा सहजता हुने अपेक्षा गरिएको छ। यसअघि धनुषाका विभिन्न क्षेत्रका तीन हजार ९६६ परिवारलाई लालपुर्जा वितरण गरिएको थियो। पछिल्लो चरणमा क्षिरेश्वरनाथ नगरपालिका– १ का थप ३८८ परिवारलाई लालपुर्जा वितरण गरिएको हो।