माघ पहिलो साता हिमालयन ग्रिन इनर्जी एक्स्पो गर्दै इप्पान

बिहिबार, १ असोज, २०८३
डिजिटल संस्करण

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपला (इप्पान)ले  आगामी माघ ३, ४ र ५ गते काठमाडौंमा हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७ गर्ने भएको छ। इप्पान र इभेन्ट्स सोलुसनको संयुक्त आयोजनामा गर्न लागिएको एक्स्पोमा नेपालको ऊर्जा क्षेत्रको विकास, विस्तार, लगानी, प्रविधि र नवप्रवर्तनलाई एउटै मञ्चमा राखिनेछ।

‘उत्थानशील ऊर्जा, समृद्ध नेपाल’ भन्ने नारासहित आयोजना गर्न लागिएका यो एक्स्पो पाचौं संस्करण हो। यसअघि २०१७, २०१८, २०२२ र २०२४ मा पनि यो मेला भएको थियो। नेपालको ऊर्जा क्षेत्र उत्पादन क्षमता विस्तार, विद्युत् खपत वृद्धि, अन्तरदेशीय विद्युत् व्यापार र हरित प्रविधिको विकाससँगै नयाँ चरणमा प्रवेश गरिरहेको अवस्थामा कार्यक्रम गर्न लागिएको इप्पानको भनाइ छ। 

१० वर्षभित्र ३० मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य हासिल गर्नका लागि पनि एक्स्पो फलदायी हुने इप्पानका अध्यक्ष मोहनकुमार डाँगीको भनाइ छ। ‘सरकारले आगामी १० वर्षमा विद्युत् जडित क्षमता ३० मेगावाट पुर्याउने लक्ष्य अघि सारेको छ। यो लक्ष्य हासिल गर्न उत्पादन क्षमता विस्तारसँगै प्रसारण तथा वितरण पूर्वाधार, घरेलु विद्युत् खपत, औद्योगिक विद्युतीकरण, विद्युतीय सवारी, ऊर्जा भण्डारण तथा भारत र बंगलादेशसँगको अन्तरदेशीय विद्युत् व्यापार विस्तार आवश्यक छ,’ उनले भने।

एक्स्पोले जलविद्युतमा मात्र सीमित नभई सौर्य, वायु, बायोग्यास तथा बायोमास, फोहोरबाट ऊर्जा, ऊर्जा भण्डारण, ग्रिन हाइड्रोजन, विद्युतीय सवारी, स्मार्ट ग्रिड, डिजिटल ऊर्जा, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), इन्टरनेट अफ थिङ्स (आइओटी) तथा जलवायु प्रविधिसम्मको एकीकृत स्वच्छ ऊर्जा बजार निर्माण गर्ने अवसर प्रदान बताइएको छ।

एक्स्पोमा ऊर्जा उत्पादक, आयोजना विकासकर्ता, लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, प्रविधि प्रदायक, उपकरण निर्माता, इन्जिनियरिङ तथा निर्माण कम्पनी, नीति निर्माता, नियामक, विश्वविद्यालय, अनुसन्धान संस्था, स्टार्टअप तथा विकास साझेदारबिच व्यावसायिक सम्पर्क, लगानी साझेदारी, प्रविधि हस्तान्तरण र ज्ञान आदानप्रदानका अवसर सिर्जना हुनेछन्।

अन्तर्राष्ट्रिय कम्पनी तथा प्रतिनिधिमण्डलको सहभागिताले नेपाली ऊर्जा बजारमा नयाँ प्रविधि र लगानी भित्र्याउने, नेपाली कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने तथा नेपालको स्वच्छ ऊर्जा क्षेत्रलाई क्षेत्रीय संवाद, लगानी र नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्ने अवसरसमेत प्रदान गर्नेछ। यसपटक एकीकृत हरित ऊर्जा बजारको अवधारणालाई अघि बढाउन लागिएको छ । यसको केन्द्रमा ऊर्जा उत्पादन विस्तारसँगै उत्थानशीलता, लगानी र नवप्रवर्तन रहनेछन्।

बिटुबी बैठकदेखि ग्रिन इनर्जी कन्फरेन्ससम्म
एक्स्पोका प्रमुख आकर्षणमा बिटुबी बिजनेस मिटिङ, हिमालयन ग्रिन इनर्जी कन्फरेन्स, अन्तर्राष्ट्रिय कन्ट्री प्याभिलियन, ग्रिन इनर्जी नलेज हब, आयोजना स्थल भ्रमण, प्रत्यक्ष प्रविधि प्रदर्शन, स्टार्टअप हब, ऊर्जा उत्पादन तथा सेवासम्बन्धी प्रतिस्पर्धा, हाइड्रो–कन सो, इभी र्याली तथा गाला नेटवर्किङ डिनर आयोजना गरिनेछ।

एक्स्पोमा टर्बाइन, जेनेरेटर, सोलार पिभी, इन्भर्टर, ब्याट्री तथा ऊर्जा भण्डारण प्रणाली, ट्रान्सफर्मर, स्विचगियर, प्रसारण तथा वितरण प्रविधि, ग्रिड प्रविधि, स्वचालन तथा स्मार्ट ऊर्जा समाधानलगायतका उत्पादन तथा प्रविधि प्रदर्शन गरिनेछ। विद्यार्थी तथा नवप्रवर्तकहरूले विकास गरेका ऊर्जा क्षेत्रसम्बन्धी नयाँ अवधारणा, वस्तु तथा सेवाको प्रतिस्पर्धालाई समेत एक्स्पोको आकर्षणका रूपमा समावेश गरिनेछ।

भारत, चीन, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्विडेन, बेलायत, ब्राजिललगायत विभिन्न मुलुकका कम्पनी तथा सरोकारवालाको सहभागिता एक्स्पोमा गराउन लागिएको छ। सरकारी तथा नियामक निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, आयोजना विकासकर्ता, प्रविधि तथा उपकरण उत्पादक, आयातकर्ता, वितरक, परामर्शदाता, निर्माण व्यवसायी, विश्वविद्यालय, अनुसन्धान संस्था, कूटनीतिक नियोग, सञ्चारमाध्यम तथा ऊर्जा क्षेत्रका विज्ञ–विशेषज्ञलाई एक्स्पोमा सहभागी हुनेछन्।

एक्स्पोमा १०० भन्दा बढी प्रदर्शनी स्टल रहने र तीन दिनमा ३० हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको छ । प्रदर्शनीका साथै ज्ञान, प्रविधि, लगानी र व्यावसायिक सम्पर्कलाई जोड्ने विभिन्न कार्यक्रम सञ्चालन हुनेछन्। एक्स्पोमा सहभागिता तथा स्टल बुकिङ खुला गरिएको छ।

सुझावित समाचार