हालैको प्राकृतिक विपतपछि नेपालको पर्यटन सुरक्षाबारे अन्तर्राष्ट्रिय बजारमा देखिएको केही नकारात्मक धारणाबिच विदेशी कर्पोरेट टोलीको नेपाल भ्रमण बढ्न थालेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सञ्चालन गरेको ‘नेपाल कलिङ’ अभियानले नेपाल सुरक्षित र पर्यटकका लागि खुला रहेको सन्देश प्रवाह गरिरहेका वेला बंगलादेशबाट १८५ सदस्यीय कर्पोरेट टोली नेपाल आएको हो ।
नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक तथा बोर्डका प्रवक्ता सुनील शर्मा र वरिष्ठ अधिकृत प्रेमप्रसाद भट्टराईले बंगलादेशबाट आएको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा र ढाकाटोपीसहित स्वागत गरेका छन् । चीनको तिब्बतस्थित गिरोङ काउन्टी हुँदै १० भदौ ०८३ मा भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीपछि नेपालको पर्यटन सुरक्षाबारे विभिन्न चर्चा भएका थिए । त्यसपछि पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड तथा पर्यटनसम्बद्ध संस्थाहरूले नेपालका रसुवा, गोरखा र नुवाकोटका केही क्षेत्रबाहेक अन्य प्रमुख पर्यटकीय गन्तव्यहरू सुरक्षित रहेको सन्देश विभिन्न माध्यमबाट प्रवाह गर्दै आएका छन् ।
यसै क्रममा ‘नेपाल कलिङ’ अभियानपछि बंगलादेशको प्रतिष्ठित कर्पोरेट कम्पनी वाल्टन प्लाजाका १८५ जना प्रतिनिधि नेपाल भ्रमणमा आएका हुन् । थप ३० जना प्रतिनिधि १८ सेप्टेम्बरमा काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ । नेपालमा आएको प्राकृतिक विपतका कारण अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको पर्यटन सुरक्षाबारे केही नकारात्मक धारणा देखिएको अवस्थामा ठुलो कर्पोरेट टोलीको आगमनले सकारात्मक सन्देश दिएको नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक शर्माले बताएका छन् ।
बंगलादेशी पाहुनाहरूले नेपाल पर्यटन बोर्डको स्वागतप्रति खुसी व्यक्त गर्दै नेपाल सुरक्षित, पर्यटकका लागि खुला र आतिथ्यका लागि तयार रहेको प्रतिक्रिया दिएका छन् । उनीहरूले अन्य पर्यटकलाई समेत नेपाल भ्रमणका लागि आह्वान गरेका छन् । वाल्टन प्लाजाको भ्रमणले नेपाल र बंगलादेशबिचको पर्यटन तथा कर्पोरेट सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ । प्राकृतिक विपतपछि पनि विदेशी पर्यटक तथा कर्पोरेट समूहले नेपाललाई भ्रमण गन्तव्यका रूपमा रोज्नुले नेपाल सुरक्षित गन्तव्यका रूपमा रहेको अन्तर्राष्ट्रिय विश्वास कायमै रहेको संकेत गरेको बोर्डको भनाइ छ ।
यसैगरी, श्रीलंकाको आइटा एजेन्ट्स एसोसिएसन अफ श्रीलंका र ट्राभल एजेन्ट्स एसोसिएसन अफ श्रीलंकाबाट गरी १३३ सदस्यीय टोली बिहीबार दिउँसो नेपाल आइपुग्ने भएको छ । दुवै संस्थाले आफ्नो वार्षिक साधारणसभाका लागि नेपाललाई गन्तव्यका रूपमा रोजेका हुन् । उनीहरूले १७ देखि २० सेप्टेम्बरसम्म काठमाडौंसहित नेपालका विभिन्न पर्यटकीय गन्तव्यको भ्रमण गर्नेछन् ।
त्यसैगरी, भारतसहित सार्क मुलुकका विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले पनि नेपालका विभिन्न पर्यटकीय गन्तव्यको भ्रमण गर्दै नेपाल सुरक्षित रहेको सन्देशसहितका तस्बिर सार्वजनिक गरिरहेका छन् । विदेशी कर्पोरेट टोली तथा संस्थागत प्रतिनिधिहरूको निरन्तर आगमनले विपतपछि नेपालको पर्यटन क्षेत्रलाई पुनः लयमा फर्काउन र अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटनबारे सकारात्मक सन्देश प्रवाह गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।